काठमाडौं, १९ पुस । मंगलबार सेयर बजार पुरै राताम्मे भएको छ । बजारमा नेप्से परिसूचक २६ दशमलब ०३ अंकले घटेर १४५६ दशमलब ८२ अंकमा झरेको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा जम्मा ३९ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३० कम्पनीको ६ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।
बजारमा कारोबार भएका सबै समूहका परिसूचकहरु राताम्मे भएका छन् । बीमा समूहको परिसूचक २१६ दशमलब ९६ अंकले ओरालो लागेको छ । त्यस्तै, बैंकिङ्, होटल र विकास बैंक समूहको परिसूचक क्रमशः २६, २५ र २४ अंकले घटेका छन् ।
दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । अरुण फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.८९ र ९.६५ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी साझा विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत गुमाएका छन् ।