काठमाडौं, १९ पुस । बैंक अफ काठमाण्डू लुम्बिनीले नयाँ सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । बैंकले करिब ६० लाख कित्ता प्रमोटर सेयर निष्काशन गर्न लागेको हो ।
यस बैंकमा हाल प्रमोटर सेयर करिव ४६ प्रतिशत छ । राष्ट्र बैंकको नियम अनुसार प्रमोटर सेयर कम्तिमा ५१ प्रतिशत हुनुपर्छ । सोही अनुपात मिलाउन बैंकले नयाँ सेयर निष्काशन गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले बताए ।
बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज हुँदा राष्ट्र बैंकले प्रवद्र्धक सेयर र साधारण सेयर अनुपात ५१ र ४९ प्रतिशत कायम गर्न दिएको निर्देशन अनुसार नयाँ सेयर निष्काशन गर्ने तयारी भएको उनले बताए ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार नयाँ सेयर निष्काशन गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाने तयारी भएको छ । साधारणसभाको स्वीकृति, राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायत नियामकको स्वीकृति लिएर आगामी असार मसान्तअघि नै नयाँ सेयर जारी गरिसक्ने बैंकको योजना रहेको छ ।
नयाँ सेयरको प्रिमियम मूल्य नियामक निकायसँगको समन्वय र सहमतिमा तय गरिने उनले बताए ।
हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ छ । बैंकले प्रस्ताव गरेको २३ प्रतिशत बोनस सेयर वितरणपछि पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ हुनेछ । नयाँ सेयर निष्काशन पछि थपिने सेयर पुँजी, त्यसबाट आउने प्रिमियम र चालु आर्थिक वर्षको नाफाबाट बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने योजना रहेको उनले बताए । असोज मसान्तसम्ममा बैंकको संचित कोषमा ४ अर्ब २० करोड रुपैयाँ छ ।