काठमाडौं १८, पुस । नयाँ वर्ष, लामो विदानको दिन र कुनै विशेष मेला महोत्सव हुँदा नेपाली आन्तरिक गन्तव्यमा पुग्ने संस्कृति बढेको छ । अहिले सन् २०१७ को सुरुवाटमा नयाँ वर्ष मनाउँने बहानामा पोखरा, चितवन, लुम्बिनी, रारा, मुस्ताङसहितका अन्तरिक पर्यटकीय गन्तव्य नेपालीले नै खचाखच भएका छन् ।
विदेशीकै तुलनामा नेपालीले गर्ने खर्च बढेकै कारण सन् २०१७ को नयाँ वर्षमा पोखराका सबै होटल नेपालीकै कारण खचाखच भएको छ । पोखराको अतिथि रिसोर्ट एण्ड स्पाका निर्देशक सुरज खनालका अनुसार विदेशीकै तुलनामा नेपालीले होटलकोे कोठा बुकिङ गरेका छन् । कम्तिमा ६ हजार माथिको कोठा मात्रै होटलमा उपलब्ध भएपनि नयाँ वर्षमा ६० प्रतिशत पाहुना नेपाली नै भएको पनि उनको भनाइ छ ।
विदेशी पर्यटकको तुलनामा आन्तरिक पर्यटकीय गन्तव्यमा पुग्ने र खर्च गर्ने नेपालीको संस्कृति बढेको छ । नेपालीले विदेशी पर्यटकको तुलनामा तीन गुणासम्म खर्च गर्न थालेका छन् । विदेशीको तुलनासँग खानपानमा नेपालीलाई कसैले पनि नभेट्याउने भैसकेको छ । आन्तरिक पर्यटक बनेर नेपालीले गर्ने खर्च सोही गन्तव्यमा पुग्ने विदेशीको तुलनामा निकै धेरै हुन थालेको छ । 
नेपालमा आन्तरिक पर्यटकको गतिविधि बढ्नु पर्यटकीय उत्साह मात्रै नभएर खर्च गर्ने माध्यम पनि बन्न थालेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए । उनका अनुसार आन्तरिक गन्तव्य घुमघाममा सबैभन्दा धेरे खर्च नेपालीको खानपानमै हुने गरेको छ ।
‘पहिले पैसा जोगाएर राख्नुपर्छ भन्ने संस्कृति थियो भने अहिले पैसा खेलाउने बस्तु हो, यसलको भरपूर प्रयोग गर्नुपर्छ । घुमघाम र रमाइलो पनि गर्नुपर्छ भन्ने धारणा नेपाली पर्यटकप्रति पनि बढ्न थालेको देखिएको छ’, जोशीले भने । उनका अनुसार विदेशी पर्यटक प्याकेजमा घुम्छन तर नेपाली लहडमा घुम्ने गरेका छन् । विदेशीले लामो समयको लागि आउने र नेपाली पर्यटक छोटो समयमा मात्रै घुम्ने भएकोले पनि नेपालीको खर्च बढी देखिएको हो ।
आन्तरिक पर्यटकीय गन्तव्यमा पनि पहिले विदेशी तथा गोरा छाला मात्रै पर्यटक हुन भन्ने संस्कृति परिवर्तन भएको छ । जसको कारण खर्च गर्न सक्ने क्षमता विदेशीको मात्रै हैन नेपालीको पनि हुने गरेछ भन्ने धारणा विकास हुन थालेको छ ।
पर्यटकीय गन्तव्यको प्रवद्र्धनले पर्यटक बढ्दै
आन्तरिक पर्यटकले जति पैसा खर्च गछ्र्रन्, त्यति पैसा विदेशीले नगर्नुको कारण हो नेपाली कहिलेकाँही घुम्ने र क्षणिक रमाइलो धेरै खर्च गर्न क्षमताको विकास भएको पर्यटन व्यवसायी कर्ण शाक्यको भनाइ छ । उनका अनुसार होटल तथा रेस्टुराँमा हेर्दा पनि विदेशी पर्यटकले कालो चिया र पाउरोटी खाएर दिन विताएको देखिन्छ तर आन्तरिक पर्यटले भने खानपानमा निकै खर्च गर्ने गरेका छन् ।
आन्तरिक पर्यटक एकठाउँमा घुम्न गएपछि ह्वीस्की, मःम, चिकेन करीसहितको स्न्याक्स सबै एकैपटक खाइसक्नुपर्छ भन्ने मान्यतामा हुन्छन् । विदेशी भने सधै व्यालेन्स मिलाएर मात्रै खान्छन, शाक्यले भने । विदेशीको अध्ययन, भ्रमण र किताल लेख्ने गरी घुमफिरको मज्जा लिएर ज्ञान संकलन गर्छन भने आन्तरिक पर्यटक हाहु मै पैसा सक्छन र खानपिनमा नै खर्च रहेर रमाइरहेका हुन्छन । शाक्यका अनुसार जे होस् आन्तरिक पर्यटक स्रोत र साधान परिचालन गर्ने माध्यम पनि हो । आन्तरिक पर्यटकबाट खर्च गरेको एक रुपैयाँ गाउँमा पुगेपछि तीन रुपैयाँ हुने गरेको छ, त्यो नै अहिलेको पर्यटनको उपलब्धि हो ।
नेपालीकै क्षमता पर्यटकीय स्तरदेखि पाँचतारे डिलक्ससम्म
आन्तरिक पर्यटकको माहोल जति बढी हुँदै गयो पर्यटकको पहिचान त्यसैगरी बढ्दै जाँदा पर्यटकीय स्तरदेखि पाँचतारे डिलक्ससम्म नेपालीको खर्च गर्ने क्षमता विकास भएको छ । पाँचतारे होटल सोल्टीका पूर्व अध्यक्ष प्रभाकरसम्शेर राणाका अनुसार पछिल्लो समय विदेशीकै भरमा होटल चलाउनु परेको छैन । होटलको पार्टी हल नेपालीले नै भरिने गरेको छ, रेस्टुरेन्टका सीट नेपालीले नै भर्ने गरेका भने होटलको ६० प्रतिशत अकुपेन्सी पनि नेपालीकै हुने गरेको राणाको बुझाई छ ।
उनका अनुसार पहिले एक सय २० डलर पर्ने कोठा अहिले ८० देखि ९० डलरमा नै आउनु होटल खाली नहुनु र नियमिति पाहुना आउनुकै कारणले भएको हो । विगत पाँच सात वर्षदेखि नेपालका तारेदेखि पाँच तारेसम्मका होटल विदेशीकै भरमा बाँच्नुपर्र्ने अवस्था नरहेको होटल सांग्रिलाका कार्यकारी प्रमुख प्रवीन पाण्डेको भनाइ छ ।
विदेशी पर्यटकले मात्रै होटल धानेको हुन्थ्यो भने भूकम्पपछि सबै होटल तथा पर्यटन बन्द भैसक्थे । तर, त्यसो नहनुको कारण नै नेपाली, आन्तरिक पर्यटक, विभिन्न कर्पोरेट हाउसका कर्मचारी तथा नेपाली जोडीको खर्चले होटल थानिएको पनि पाण्डेको बुझाई छ ।
सामाजिक संञ्जालकै कारण घुम्ने संस्कृति बढ्यो
पछिल्लो समय नेपालमा सामाजिक संञ्जालकै कारण घुम्ने र खर्च गर्ने संस्कृति बढेको छ । नेपालको एक ठाउँबाट अर्को ठाउँमा घुम्म जानु भनेको रमाइलो गर्नु, केही नयाँ कुरा सिक्नु र मनलाई आनन्द दिनु हो । तर, पछिल्लो समय सामाजिक संञ्जाल फेसबुक, ट्वीटरका कारण फोटो खिच्ने र सामाजिक संजालमा पोस्ट गर्ने संस्कृति पनि बढेको छ । आफू सरहका साथीभाई घुमेर फोटो हाल्ने गरेकोले पनि घुम्न जान मन लाग्ने र देखासेकीले गर्दा पनि कहिले होमस्टे, कहिले पदयात्रा, कहिले टुरतर्फ नेपालीको पनि आकर्षण बढ्न थालेको पर्यटन बोर्डको बुझाई छ । बोर्डका अनुसार घुम्ने संस्कृतिको विकास हुनु र पर्यटनप्रतिको जागरण बढ्नुलाई सकारात्मक रुपमा लिइएको छ ।
विदाको समयमा घुम्ने बढी
विदेशी मात्रै पर्यटक होइनन् भन्ने धारणालाई हरेक विदाको समय तथा दसैं तिहारको समयमा हुने लामो विदाले नै देखाउने गरेको मुस्ताङका पर्यटन व्यवसायी ट्रिपल गुरुङले बताए ।
उनका अनुसार पहिले विदेशी पर्यटक मात्रै कुरेर बस्नुपर्ने थियो भने अहिले नेपाली पर्यटकको कारण विदेशी कुर्नुपर्ने बाध्यता छैन । व्यवासायीको सेवा गर्ने संस्कृति पनि पहिले विदेशीलाई मात्रै हुन्थ्यो भने अहिले नेपालीको लागि पनि हुन थालेको छ ।
विदेशी मुस्कीलले एक दुई जना पुग्ने मुगुको रारामा पछिल्लो समय नेपालीकै भिड लाग्न थालेको राराका होटल व्यवसायी गोपाल वमले बताए । उनका दसैं तिहारको विदाको समयमा रारामा आन्तरिक पर्यटक थेग्नै गाह्रो हुन थालेको छ । अन्य समयमा पनि विदाको दिन आन्तरिक पर्यटक भरिभराउ हुने गरेको पनि बमको भनाइ छ । उनका अनुसार विदेशी प्याकेजमा आउने सीमित खर्चले पु¥याउने गरेपनि नेपालीले भने आफूसँग भएको सकेर पनि साथीसँग भएको पनि सकिने गरी खर्च गर्ने गरेका छन् । नेपालीको घुमघामलाई पनि व्यवस्थित बनाउन सकिएको अवस्थामा पर्यटनको स्थापित अंश नै आन्तरिक पर्यटक हुन सक्ने उनको बुझाई छ ।
आफैं कमाएर खर्च गर्नेको तुलनामा बाआमाले दिएको पैसामा खर्च गर्ने युवा वर्गको जमात अझै पनि ठूलो संख्यामा रहेको बोर्डका सीईओ जोशीको बुझाई छ । उनका अनुसार आफैं कमाएर खर्च गर्नेले पु¥याएर खर्च गर्छन भने विदेशमा रहेका आफन्तले दिएको पैसा, रेमिट्यान्स तथा अभिभावकसँग मागेर गरिने घुमघामको खर्च तुलनात्मक रूपमा अरू भन्दा बढी नै हुने गरेको पनि उनको बुझाई छ । उनका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकको प्रतिको जागरण, घुमफिर वर्ष तथा विदा पर्यटनको प्याकेजले पनि घुम्ने कल्चर बढेको हो ।