प्राथमिकतामा रेलवे निर्माण

<p>काठमाडौं, १७ पुस । जनकपुर–जयनगर रेल वे र अमलेखगञ्ज–रक्सौल रेल वेको कथा इतिहासका पानामा सीमित भैसकेका बेला नेपालले फेरी रेल सञ्जाल विस्तारको अभियान थालेको छ । नेपालले काठमाडौंमा मेट्रो रेल, काठमाडौं–पोखारा–लुम्बिनी विद्युतिय रेल, मेची–महाकाली विद्युतिय रेल, काठमाडौं–बिरगञ्ज विद्युतिय रेल, तराईमा क्रस बोर्डर रेल लाइन, जनकपुर–जयनगर रेल र काठमाडौं–रसुवागढी रेल वे नेटवर्क विस्तारको दीर्घकालिन योजनामा धमाधम [&hellip;]</p>

काठमाडौं, १७ पुस । जनकपुर–जयनगर रेल वे र अमलेखगञ्ज–रक्सौल रेल वेको कथा इतिहासका पानामा सीमित भैसकेका बेला नेपालले फेरी रेल सञ्जाल विस्तारको अभियान थालेको छ । नेपालले काठमाडौंमा मेट्रो रेल, काठमाडौं–पोखारा–लुम्बिनी विद्युतिय रेल, मेची–महाकाली विद्युतिय रेल, काठमाडौं–बिरगञ्ज विद्युतिय रेल, तराईमा क्रस बोर्डर रेल लाइन, जनकपुर–जयनगर रेल र काठमाडौं–रसुवागढी रेल वे नेटवर्क विस्तारको दीर्घकालिन योजनामा धमाधम काम गरिरहेको छ ।

rail_waysकाठमाडौं–रसुवागढी रेल वे निर्माणका लागि चीन सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशन ग्रुपले प्रस्ताव गरेको छ । उसले १०५ किलोमिटरको रेल वे लाईन मार्फत काठमाडौं–रसुवागढीलाई एक घण्टामै जोडिदिने प्रतिवद्धता समेत व्यक्त गरेको छ । त्यस बाहेक काठमाडौं–बिरगञ्ज रेल वेको सम्भाव्यता अध्ययनका लागि ग्लोबल टेण्डर आव्हान गरिएको छ ।

रेल विभागका महानिर्देशक अनन्त आचार्य भन्छन–‘हामीले नेपालको रेल वे नेटर्वको दीर्घकालिन रोडम्याप अनुसार काम गरिरहेका छौं, कुनै ठाउँमा निर्माण आरम्भ भैसकेको छ भने कहिँ डिपिआर हुँदैछ, कतै सम्भाव्यता अध्ययनको चरणमा छौं ।’

उनका अनुसार मेची–महाकाली ९४५ किलोमिटर लामो विद्युतिय रेल मार्गको बर्दिबास–लालबन्दी–खण्डमा धमाधम निर्माण अघि बढेको छ । त्यस्तै, काठमाडौं मेट्रोरेल, काठमाडौं–पोखरा–लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन सम्बन्धि पुरानो रिपोर्टलाई पुनः मुल्यांकन गरिँदैछ । त्यस बाहेक जनकपुर–जयनगर रेल वे सहित अन्य आधा दर्जन नाकाबाट नेपाल–भारत क्रस बोर्डर रेल वे लाइन निर्माणबारे पनि अध्ययन भैरहेको महानिर्देशक आचार्यले बताए ।

काठमाडौं–रसुवागढी यात्रा १ घण्टामा, २८० अर्बको योजना

चिनिया सरकारको पूर्ण स्वामित्वमा रहेको चाइना रेल वे इन्टरनेशनल ग्रुपले एक घण्टा भन्दा कम समयमै काठमाडौंबाट रसुवागढी पुग्न सकिने रेल मार्ग निर्माण गरिदिने प्रस्ताव अघि सारेको छ । कम्पनीले रेल विभागमा बुझाएको प्रस्तावमा काठमाडौं–रसुवागढी विद्युतिय रेल वेको लम्बाई जम्मा १०५ किलोमिटरको मात्रै छ ।

प्रतिघण्टा १२० किलोमिटरको स्पिडमा दौडने रेलले काठमाडौं–रसुवागढी यात्रालाई एक घण्टा भन्दा कम समयमा सीमित गर्न सकिने प्रस्तावमा उल्लेख छ । यो रेल वे रसुवागढीबाट काठमाडौं आइपुग्दा ९० दशमलब २ किलोमिटर सुरुङ भित्र रहनेछ भने ६ दशमलब ५४ किलोमिटर पुलमाथी गुड्नेछ । बाँकी ८ दशमलब २६ किलोमिटर दुरी मात्रै जमिनमा रहनेछ ।

यसरी निर्माण हुने रेलको बिभिन्न स्थानमा ६ वटा स्टेशन रहेछन् । जसमा पहिलो स्टेशन रसुवागढीमा रहेछ भने दोश्रो स्टेशन स्याफ्रुबेसीमा र तेश्रो स्टेशन ग्राङमा निर्माण हुनेछ । चौथो स्टेशन नुवाकोटको विदुरमा र पाँचौं स्टेशन ककनीमा निर्माण गरेर छैठौं स्टेशनका रुपमा काठमाडौं प्रवेश गर्नेछ ।

रेलले दैनिक चार पटक रसुवागढी–काठमाडौं यात्रा गर्न सक्नेछ । यो रेलले बार्षिक १ करोड ५० लाख टन समान बोक्न सक्छ ।

चाइना रेल वे इन्टरनेशनल ग्रुपले चिनियाँ सरकारको दिर्घकालिन सहुलियत ऋणमा यस्तो रेल मार्ग निर्माण गर्न सकिने जनाएको छ । कम्पनीले १८ अर्ब चिनियाँ यूवान (करिव २ खर्ब ८० अर्ब रुपैयाँ) खर्च गरेर त्यस्तो रेल बनाउन सकिने प्रस्ताव अघि बढाएको हो । ‘चिनियाँ कम्पनीले चीन सरकारको दीर्घकालिन सहुलियत ऋणमा रेल बनाउन सकिने प्रस्ताव गरेको छ, उसले तत्कालै दुई सरकारबिच सम्झौता गरेर अध्ययन थाल्न सकिने पनि बताएको छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले भने ।

यी हुन सम्भाव्यता अध्ययन सम्पन्न भएका रेल वे


मेची–महाकाली ९४५ किलोमिटर
काठमाडौं–पोखारा १६० किलोमिटर
मेची–महाकाली(आँबु खैरेनी लिंक) ७२ किलोमिटर
मेची–महाकाली(उत्तर दक्षिण लिंक) ११३ किलोमिटर
निजगढ–हेटौँडा–भरतपुर १३५ किलोमिटर

चाइना रेल वे इन्टरनेशनल ग्रुपले अघि सारेको सो रेल मार्ग निर्माण सम्बन्धी प्रस्ताव विभागमा पुस ११ गते २३६ नम्बरमा दर्ता भएको छ । कम्पनीले केहि समय अघि विभागमा पेश गरेको प्रस्तावलाई थप परिमार्जन गरेर पुनः पेश गरेको हो । कम्पनीले चीन सरकारको सहुलियत ऋण र नेपालका सरकारले थोरै लगानी गरेर त्यस्तो रेल बनाउन सकिने उल्लेख गरेको छ ।

यो रेल वे लाइन चीन–युरोप रेल वे लाइन हुँदै साइबेरियन रेल वे नेटवर्कसम्म जोडिन्छ । जसले नेपाललाई चीन, मंगोलिया, रसिया हुँदै युरोपसम्म पुर्याउँछ । यो रेल वे नेटकर्वकलाई आइरन शिल्क रोड अर्थात फलामको शिल्क रोडका रुपमा पनि हेर्ने गरिएको छ ।

बिरगञ्ज–काठमाडौं–रसुवागढी रेल वे लाइनलाई भारत र रसिया जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा हेरिएको छ । पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले नेपालमा विस्तार गर्न लागिएको रेल वे सञ्जालले रणनीतिक महत्व राख्ने बताए । ‘रसुवागढीको रेल चिन, मंगोलिया हुँदै रसियासम्म जान्छ । केरुङबाट चीन युरोप रेल वे सर्भिस हाम्रा लागि उपयुक्त हो’ डा. आचार्यले भने ।

युरोप जोड्ने मेची–महाकाली रेल, बर्दिबास–लालबन्दिमा धमाधम काम

मेची महाकाली रेल मार्गको बर्दिबास लालबन्दी खण्डमा धमाधम निर्माण भैरहेको रेल मार्ग फोटोः रेल विभागका महानिर्देशक अनन्त आचार्यको फेसबुकबाट

मेची महाकाली रेल मार्गको बर्दिबास लालबन्दी खण्डमा धमाधम निर्माण भैरहेको रेल मार्ग

मेची–महाकाली रेल वे नेटवर्क अनुमानित ९४५ किलोमिटरको हुनेछ । जसको बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिरटमा अहिले धमाधम निर्माण कार्य भैरहेको छ । त्यस बाहेक भारतसँग जोडिने पाँच वटा क्रस बोर्डर रेल वेको काम पनि अघि बढेको छ । जस अनुसार मध्यपश्चिमको नेपालगञ्जदेखि भारतको नेपालगञ्ज रोडसम्मको १५ किलोमिटर रेल मार्ग, भैरहवादेखि नौतन्वासम्मको १२ किलोमिटर, जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर, जोगबनीदेखि बिराटनगरसम्मको १३ किलोमिटर र न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्मको रेल वे नेटवर्क रहेको छ ।

काकडभिट्टाबाट सुरु भएर गड्डा चौकी पुग्ने रेल ९४५ किलोमिटर रेल वेले नेपाललाई ट्रान्स एसिया रेल वे नेटवर्कका २६ मुलुकसँग जोड्ने छ । यो रेल वे लाइन सिंगापुर, मलेसिया, थाइल्याण्ड, बर्मा, बंगलादेश, भारत हुँदै काकडभिट्टाबाट नेपाल प्रवेश गर्नेछ भने गड्डा चौकीबाट पुनः भारत प्रवेश गरेर पाकिस्तान, आफगानिस्तान, इरान हुँदै टर्किबाट युरोप प्रवेश गर्नेछ । यो नेटवर्कमा यी मुलुक बाहेक रसिया, अर्मेनिया, अजरवैजान, कोलम्बिया, चीन, इण्डोनेसिया, काजकिस्तान, लाओस, दक्षिण कोरिया, ताजिकिस्तान, भियतनाम र उज्वेकिस्तान लगायतका मुलुक पनि समेटिन्छन् । ट्रान्स एसियन रेल वे लाइन ९ हजार २ सय ८९ किलोमिटर लामोे हुनेछ । नेपाललाई ट्रान्स एसियन रेल वे लाइनको मिसिङ लाइनका रुपमा राखिएको छ ।

मेची–महाकाली रेल वे प्रतिघण्टा २०० किलोमिटर स्पिडमा दौडने स्ट्डाण्डर्ड गेजको हुनेछ जुन भारतको रेल लाइन भन्दा द्रुतगतिको हो । ‘हामीले बनाउने रेल स्ट्याण्र्ड गेजको हुनेछ, जुन भारतको भन्दा आधुनिक हो’, महानिर्देशक आचार्यले भने ।

 

डिपिआर तयार भएको रेल वे


बर्दिबास–सिमरा–बिरगञ्ज १३६ किलोमिटर
सिमरा–तम्सरिया १२७ किलोमिटर
तम्सरिया–बुटवल–लुम्बिनी लिंक १०९ किलोमिटर

५४७ अर्ब खर्चेर उपत्यकामा मेट्रो रेल

सन २०१२/१३ मा चुङसुङ इञ्जिनियरिङ नामक कोरियाली कम्पनीले तयार पारेर बुझाएको काठमाडौंको आकाश र जमिनमुनी मेट्रो रेल सम्बन्धि सम्भाव्यता अध्ययनको फाइल खोल्ने तयारी भैरहेको छ ।

निर्माण आरम्भ भएको १० बर्षभित्र निर्माण सम्पन्न गर्न सकिने मेट्रो रेलको लम्बाई ७७ दशमलब २८ किलोमिटर हुनेछ । यसको निर्माण, मर्मत तथा डब्बा खरिद लागत जम्मा ५४७ अर्ब अनुमान गरिएको छ । त्यसरी निर्माण हुने रेलको २५ दशमलब ५० किलोमिटर खण्ड जमिन मुनी अर्थात राजधानीका सडक मुनी अण्डर ग्राउण्डमा निर्माण हुनेछ । बाँकी ५१ दशमलब ७८ किलोमिटर रेल राजधानीको आकाशमा अर्थात सडक माथी फ्लाईओभर(फलामे पुलमा) निर्माण हुनेछ ।

कहाँ कहाँ गुड्छ आकाशमा रेल ?

सो अध्ययनले तीनवटा मेट्रो रेलको लाइन राजधानीका सडक माथि फलामका पुल बिछ्याएर निर्माण गर्ने उल्लेख गरेको छ । जस अनुसार पहिलो रेल वे लाइन १२ दशमलब १० किलोमिटरको हुनेछ । यो लाइन सातदोबाटोबाट, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज हुँदै नारायणगोपाल चौकसम्म पुग्नेछ ।

mono_metro-railदोश्रो मेट्रो रेल लाइन कलंकीबाट सुरु भएर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, तिनकुने हुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुग्नेछ र यसको लम्बाई ११ दशमलब १५ किलोमिटरको हुनेछ ।

तेश्रो रेलवे लाइनले भने चक्रपथ परिक्रम गर्नेछ । जुन २८ दशमलब ५३ किलोमिटरको हुनेछ । यसरी निर्माण हुने तीन वट रेलवे लाइनको कुल लम्बाई ५१ दशमलब ७८ किलोमिटरको हुनेछ ।

जमिन मुनी अण्डरग्राउण्ड रेल

राजधानीका सडक मुनी निर्माण हुने अण्डरग्राउण्ड रेलवे लाइन भने कुल २५ दशमलब ५० किलोमिटरको हुनेछन् । यो रेल लाइन स्वयम्भु, छाउनी, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला, चावहिल, हुँदै बौद्धसम्म पुग्नेछ । चौथो रेल लाइनका रुपमा अघि सारिएको यो खण्डको लम्बाई ११ दशमलब ७० किलोमिटरको हुनेछ ।
त्यस्तै पाँचौै तथा अन्तिम लाइन भने धोबीघाटबाट सुरु भएर पुल्चोक, पाटन दरबार, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, डिल्लीबजार, टंगाल, नारायणहिटी दरबार, नयाँ बजार, हुँदै गोंगम्बु पुगेर टुंगिनेछ । यसको लम्बाई भने १३ दशमलब ८० किलोमिटरको हुनेछ ।

काठमाडौं–पोखारा १६० किलोमिटर

३२० अर्ब लागतमा काठमाडौं–पोखरा रेलमार्ग निर्माण गर्न सकिने अध्ययन प्रतिवेदन तयार छ । चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनी लिमिटेडले गरेको सम्भाव्यता अध्ययनको त्यस्तो रिपोर्ट पनि रेल विभागमै छ ।

सिएएमसीले आफ्नो अध्ययन प्रतिवेदन ६ महिना अघि रेल विभागलाई बुझाएको थियो । काठमाडौंदेखि पोखरासम्म १६० किलोमिटर दुरी पार गर्ने रेल सेवा विस्तार गर्न सकिन्छ । त्यसको करिब ३३ प्रतिशत अर्थात करिब ५२ दशमलब ८ किलोमिटर खण्डमा सुरुङ तथा पुलहरुको निर्माण गर्नुपर्नेछ ।

यो रेल मार्गको औषत निर्माण लागत प्रतिकिलोमिटर २ अर्ब रुपैंयाँ अनुमान गरिएको छ । रिपोर्टका अनुसार काठमाडौंको टोखामा स्टेशन हुनेछ । टोखाबाट धादिङको ढुंंगाना, हुग्दी खोला हुँदै बैरेनीमा त्रिशुली पारीबाट मार्ग अघि बढ्दै मलेखुबाट कुरिनटारसम्म पुग्नेछ । त्यहाँबाट एउटा रेलमार्ग पोखरा तिर अघि बढ्नेछ भने अर्काे लुम्बिनी तर्फ जानेछ । पोखरा जाने रेलमार्ग कुरिनटारबाट आँबु खैरनी, डुब्रे, दमैली हुँदै १६० किलोमिटर दुरी पार गरेर पोखरा पुग्नेछ ।

कुरिनटारदेखि लुम्बिनीसम्म

काठमाडौंबाट कुरिनटारसम्म रेलमार्गको दुरी ७९ किलोमिटर हुनेछ । कुरिनटारदेखि लुम्बिनीसम्मको दुरी १६४ किलोमिटर हुनेछ । यसरी काठमाडौंदेखि २४३ किलोमिटर रेलमार्गद्धारा काठमाडौं र लुम्बिनी जोड्न सकिने छ ।

काठमाडौं–बिरगञ्ज विद्युतिय रेल

रेल विभागले नै आर्थिक बर्ष २०७३/७४ कोे बजेट गरिएको व्यवस्था अनुसार काठमाडौं–बिरगञ्ज रेलमार्गको सम्भाव्यता अध्ययनकाm लागि टेण्डर आव्हान गरिसकेको छ । विभागले यात्रु बोक्ने तथा कार्गाे समान बोक्ने रेल वे लाइन निर्माणको सम्भाव्यता अध्ययन अघि बढाएको हो ।
सम्भाव्यता अध्ययनका लागि रेल विभागले करिब ७ करोड बजेट छुट्याएको छ । समय सिमा भित्र आवेदन दिने कम्पनीमध्येबाट विभागले पहिलो चरणमा ६ वटा कम्पनीलाई छनौट गर्नेछ । ती कम्पनीसँग ३० देखि ४५ दिनको समय भित्र वित्तिय तथा प्राबिधिक रिपोर्ट मागिनेछ । त्यसरी वित्तिय तथा प्राबिधिक रिपोर्ट बुझाउने कम्पनीमध्येबाट एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मा दिईने साहले बताए । यसरी अधिकतम ४ महिना भित्र काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको छनौट हुनेछ । यसरी विस्तार हुने रेल सञ्जालले नेपाललाई अन्तराष्ट्रिय रेल वे सञ्जालम मात्रै पुर्याउने छैन अपितु नेपाली उत्पादन नै संसारभर फैलाउनेछ ।

Share News