काठमाडौं, १७ पुस । नेपाल सरकारले आपत्कालीन सेवामा प्रयोग हुने सवारी साधनको लागि एउटै नम्बर प्रयोग गर्ने भएको छ । आपत्कालीन सेवाका लागि छुट्टाछुट्टै नम्बर राखिदा प्रभावकारी नभएको र आमसेवाग्राही अलमलमा परेको भन्दै सबै किसिमका आपत्कालीन सेवाका लागि एउटै नम्बर कायम गर्न लागिएको हो । यसको प्रयोगसँगै प्रहरी, दमकल, एम्बुलेन्स, बालबालिका हराएमा उद्धारलगायत आपत्कालीन सेवाका लागि अब एउटै नम्बर प्रयोगमा ल्याउन लागिएको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।
राष्ट्रव्यापी रूपमा या प्रणाली लागू गर्नुपूर्व १ वर्षका लागि काठमाडौं उपत्यकाभित्र पाइलट प्रोजेक्टका रूपमा पीएसएपी स्थापना गर्न सकिने बताइएको छ । त्यसबाट प्राप्त अनुभवका आधारमा क्रमशः बाँकी क्षेत्रमा सेवा विस्तार गर्दै लैजानुपर्ने प्रतिवेदनमा सुझाइएको छ । आपत्कालीन सेवाका लागि हाल नेपालमा विभिन्न फरकफरक टेलिफोन नम्बरको प्रयोग हुँदै आएको छ । प्रहरी सहयोगको लागि १००, दमकलको लागि १०१, एम्बुलेन्सको १०२ र उपत्यका ट्राफिकका १०३ र बालबालिका उद्धारको लागि १०४ नम्बर छुट्ट्याइएका छन् । साथै नेपालमा ३ अंकका विभिन्न सर्टकोड हेल्पलाइन नम्बरहरू उद्धार, मेडिकल सहायता र बालबालिकाको सुरक्षालगायत कार्यमा प्रयोग हुँदै आएका छन् ।
‘छुट्टाछुट्टै नम्बर हुँदा सेवाग्राही झुकिएर समयमा सेवा नपाउनुका साथै सेवाप्रदायकपिच्छे इमर्जेन्सी कण्ट्रोल सेण्टरमा अनावश्यक ठूलो जनशक्ति त्यसै खेर गइरहेको छ,’ मन्त्रालयले भन्यो । यसले गर्दा सेवा प्रवाह ढिलो र अपर्याप्त हुनुका साथै प्रभावकारी समन्वयमा पनि समस्या देखिदै आएको उनले बताए । हाल नेपालमा आपत्कालीन सञ्चारको नियमन दूरसञ्चार प्राधिकरणले गर्दै आएको छ । दूरसञ्चार कम्पनीहरूले दमकल, प्रहरी र एम्बुलेन्सलगायत आपत्कालीन सेवाका लागि निःशुल्क रूपमा सञ्चार सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत आपत्कालीन सञ्चारप्रणाली (आईईसीआरएस) स्थापनाका लागि नियुक्त गरेको परामर्शदाताले ११२ लाई एउटै आपत्कालीन सम्पर्क नम्बर राख्न सल्लाह दिएको छ । इण्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आईटीयू) ले ११२ र ९११ लाई आपत्कालीन सम्पर्क नम्बरको रूपमा परिभाषित गरेको छ । यी दुई नम्बर एकअर्काको विकल्पका रूपमा राखिएको छ । आपत्कालीन सेवाका लागि यूरोपमा ११२ र उत्तर अमेरिकाका अधिकांश मुलुकले ९११ लाई प्रचलनमा ल्याइएको छ ।
नेपाल प्रहरी, दूरसञ्चार सेवाप्रदायक, सूचना तथा सञ्चार मन्त्रालयलगायत सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित कार्यदलले राहत तथा उद्धारको कामलाई व्यवस्थित र प्रभावकारी बनाउन आईईसीआरएस स्थापनाका लागि प्रतिवेदन तयार पारेको हो ।
यस नम्बरमा मोबाइल तथा टेलिफोन लक भएको अवस्थामा, सम्बन्धित नेटवर्कको कभरेज नभएको तथा सिमकार्डरहित अवस्थामा पनि ११२ नम्बरमा कल गर्न सकिन्छ । ब्यालेन्स र भ्यालिडिटीविना पनि यो नम्बरमा सम्पर्क गर्न सकिन्छ । हाल नेपालमा प्रयोग भइरहेका कुनै पनि आपत्कालीन नम्बरमा मोबाइल लक भएको अवस्थामा कल गर्न सकिँदैन ।
नेपालमा प्रत्येक आपतत्कालीन सेवाप्रदायकहरू एकीकृत सञ्चारप्रणालीको अभाव छ । यसका लागि दूरसञ्चार सेवाप्रदायकहरूले उपलब्ध गराएको विकल्पमा भर पर्दै आएका छ । नेपाल टेलिकमले सबै कण्ट्रोल सेण्टरलाई पीएसटीएनले प्रविधिले जोडेको छ ।
सबै किसिमका आपत्कालीन सेवा सम्पर्कका लागि सार्वजनिक सुरक्षा उत्तरदाता एकाइ (पीएसएपी) रहनेछ । कल गर्ने व्यक्तिले तोकिएको ११२ नम्बरमा फोन गर्दा शुरूमा यस्ता एकाइमा सम्पर्क स्थापित हुनेछ । यस किसिमका एकाइले इमर्जेन्सी रेस्पोन्स सिष्टम (ईआरएस)मार्फत सम्पर्क स्थापित गरिदिने काम गर्छन् । यस्ता एकाइमा भ्वाइस कल, भीओआईपी, एसएमएस, मोबाइल एप र अटोमेटिक सृजित कलमार्फत सम्पर्क गर्न सकिनेछ ।