
काठमाडौं । शेर्पा समुदायले आज आफ्नो साँस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउँदैछन् । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
यो पर्व फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।
पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
ग्याल्पो ल्होछारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायलाई पर्व शुभकामना दिएका छन् ।
राष्ट्रपति पौडेलले शुभकामना दिंदै ग्याल्पो ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यस्तै, उपराष्ट्रपति यादवले शुभकामना दिंदै ग्याल्पो ल्होछार–२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
ल्होछार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।