काठमाडौं, १४ पुस । सरकारले द्वन्द्व पीडितका नाममा माओवादीका पूर्व लडाकुहरुलाई अपर तामाकोशीाको सेयर बाढ्न लागेको आरोप सांसदहरुले लगाएका छन् । दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने तीन जना सांसदले पत्रकार सम्मेलन गरेरै द्वन्द्व पीडितका नाममा लडाकुलाई अपर तामाकोशीको सेयर दिन लागिएको भन्दै आपक्ति जनाएका हुन् ।
उनीहरुले दोलखाली जनतालाई सेयर दिन छाडेर लडाकुलाई सेयर दिने कुरा आफुहरुलाई मान्य नहुने भन्दै एमाले सांसद पशुपति चौलागाई, पार्वत गुरुङ र आनन्द पोखरेलले आन्दोलनको चेतावनी समेत दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले आयोजनाका लागि सरकारले दिएको ११ अर्ब रुपैँयालाई अनुदानमा परिणत गरिदिने र सो वापत द्वन्द्व पीडितलाई सेयर दिने बताएका थिए ।
‘सरकार द्वन्द्व पीडितका नाममा लडाकुलाई दिन खोजिरहेको छ, यो हाम्रा लागि सह्य बिषय हुनै सक्दैन ।’ एमाले सांसद पशुपति चौलागाईँले विकासन्युजसँग भने । उनले प्रति दोलखाली ३५ कित्ता सेयर मात्रै पाउने अवस्था रहेको बताउँदै भने–‘दोलखाली जनता पैसा तिरेर सेयर किन्न तयार छन् तर प्रति दोलखाली जनताले जम्मा ३५ कित्ता सेयर मात्रै पाउने अवस्था छ, यो सेयर दोलखाली जनता आफैं किन्न तयार छन्, लडाकुलाई दिन मिल्दैन् ।’
हाल दोलखाको जनसंख्या २ लाख ६४ हजार रहेको छ । अपर तामाकोशीको १० प्रतिशत सेयर दोलखाबासीलाई दिने आयोजनाको तयारी छ । ४५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाबाट दोलखाली जनताले एक अर्ब ५ करोड ९० लाख रुपैंयाँ मुल्य बराबरको सेयर प्राप्त गर्ने अवस्था छ ।
गौरी शंकर र लामा बगर गाबिसका नागरिकलाई आयोजना प्रभावित क्षेत्रका लागि विनियोजीत १० प्रतिशत सेयरलाई एक सय प्रतिशत मानेर त्यसको १० प्रतिशत दिने निर्णय भैसकेको छ । त्यस्तै, खारे र ओराङ गाबिसका नागरिकलाई पनि केहि बढि सेयर दिनेबारे छलफल भैरहेको छ ।
हालसम्म आयोजनाको ८१ दशमलब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । विसं २०६८ बाट निर्माण सुरु भएको आयोजना २०७४ साल असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर २०७२ सालको भूकम्पले असर गरेपछि निर्माण प्रभावित बनेको थियो । आयोजनाले हालसम्म ३१ अर्ब ८४ करोड खर्च गरिसकेको छ ।
यस अघि नै आयोजनाले २०७२ जेठ २९ गते कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुको लागि १,८२,९९,५२० कित्ता, कम्पनी लाई ऋण प्रदान गर्ने सँस्थाका कर्मचारीहरुका लागि ३०,४९,९२० कित्ता र कम्पनी तथा विद्युत प्राधिकरणका कर्मचारीहरुका लागि ४०,६६,५६० कित्ता शेयर बाँडफाँड गरिसकेको छ ।