
सुधीर बस्नेत
हाउजिंग व्यवसायमा टाट पल्टिएपछि फरार रहेको व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि आमसर्वसाधारणको करिव १२ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेको आरोप लागेको छ । बस्नेतलाई प्रहरीले बुधबार उनकै घर धापासीबाट समातेको हो ।
सहकारीबाट सर्वसाधारणको ४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप अपचलन, बैंकहरुको ऋण र आफूसँग कारोबारमा जोडिएका झण्डै ८ हजार सर्वसाधारणलाई ठगी गरेको उनीमाथि आरोप छ । अग्नी यातायातको लामो दुरीको बसबाट आफ्नो व्यससायीक यात्रा गरेका वस्नेतले आयुषा डेभलपर्स, ओरियन्टल विल्डर्स, कोहिनुर हिल हाउजिंग मार्फत सर्वसाधारणलाई आवस दिने सपना देखाएर ठगी गरेका हुन् । प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतको दुई वटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला कार्यान्वयनको क्रममा उनलाई पक्राउ गरिएको हो ।
सामान्य परिवारका उनले विभिन्न सहकारी खडा गर्दै आमसर्वरणमा संकलित निक्षेपलाई घरजग्गा लगानी गरेका बस्नेतले २०६५/६६ पछि रियलस्टेट कारोबार खस्किएपछि विभिन्न व्यक्तिसँग अपाटमेन्ट लिने आश्वासन दिँदै रकम असुल्दै गरेको थिए ।
दुई दशकअघि व्यवसायमा लागेको उनका घरजग्गा कारोबारबाटै व्यवसायिक सफलता चुम्दै गएका थिए । २०६० देखि २०६६ सालसम्म हाउजिङ व्यवसायमा उनी सबैभन्दा ठूलो कारोबारीको रुपमा चर्चामा थिए ।
२०६७ सालमा राष्ट्र बैंकले वित्तीय संस्थाको घरजग्गा लगानी कर्जामा सीमा तोकेपछि उनको व्यवसाय ओरालो लाग्न शुुरु भयो । अपार्टमेन्ट र हाउजिङ प्रोजेक्टको निर्माकार्य सम्पन्न गर्न भनेर सर्वसाधारणबाट लिएको रकम र बैंक वित्तीय संस्थाबाट जग्गामा अन्धाधुन्दा लगानी गरेका उनलाई त्यसपछि तरलता अभावमा पर्न थाल्यो ।
घरजग्गाको मूल्य समेत घटेपछि बस्नेतले न जग्गा बिक्री गर्न सके न त हाउजिङ र अपार्टमेन्टको योजना निर्माण सम्पन्न भयो । त्यसको व्यवस्थापनका लागि सर्वसाधारणसँग थप रकम उठाउँदै बैंकको ब्याज तिर्न आम सर्वसाधारणले जम्मा गरेको निक्षेप चलाउँन थाले ।
बैंकले ऋण दिन छोडेपछि घर बन्ने कुनै छनक नदेखे पछि सर्वसाधारणले समेत किस्ता तिर्न रोके । त्यसपछि चरम मन्दीमा फँसेका बस्नेतले सहकारीमा रकम डुबाउनेलाई फ्ल्याट दिने कागज गरेका छन् ।
पूर्व न्यायधीश गौरीवहादुर कार्कीको अध्यक्षतामा गठित आयोगमा उनी विरुद्ध सहकारी संस्थाको बचत र हाउजिंग निर्माणको लागि अग्रिम भुक्तानी लिई ठगी गरेको २२ हजार १ सय ७० उजुरी परेका छन् भने व्यक्तिगत उजुरी संख्या १२ हजार ९ सय ६२ रहेको छ । सहकारी उजुरीका ७ अर्ब ६० करोड र व्याज २ अर्ब ४० करोड गरी १० अर्बभन्दा बढी रकमको उजुरी परेको देखाएको छ । हाउजिंगतर्फ ४ सय ८४ उजुरीमध्येमा १ अर्ब ४० करोड रकम दावी परेको छ ।
बस्नेतको व्यवसाय ढुब्दा हजारौ सर्वसाधारणको उठबास भएको छ भने उनलाई गरेको लगानी डुब्दा ग्राण्ड बैंक, अग्नी एयरलाइन्स जस्ता ठूला कम्पनी डुबेका छन् । साथै, दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्था नराम्ररी समस्या झलिरहेका छन् । उनको व्यवसायिक असफलतासँगै सर्वसाधारणले गुमाएको १२ अर्ब रुपैयाँ कसरी उठ्छ भन्ने अन्यौल अझै पनि कायम नै छ ।
कुन बैंकबाट कति कर्जा ?
प्रहरी स्रोतका अनुसार हाल सुधीर बस्नेत समूहमा प्राइम कमर्शियल बैंकको सबैभन्दा बढी लगानी फसेको छ । बस्नेत समूहलाई दिएको प्राइमको ३१ करोड ९६ रुपैयाँ उठेको छैन । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको २३ करोड ८७ लाख, कुमारी बैंकको २० करोड ३६ लाख, एनआइसी एसियाको २० करोड १ लाख, नबिल बैंकको १४ करोड ६ लाख, तत्कालिन किष्ट बैंकको १३ करोड, सिटिजन्स बैंकको ११ करोड ६९ लाख, ग्राण्ड बैंकको १० करोड ७४ लाख, लुम्बिीनी बैंकको ६ करोड ९३ लाख, सिद्धार्थ बैंकको ६ करोड १५ लाख, सिभिल बैंकको ३ करोड ७४ लाख, सेञ्चुरीको ३ करोड ३७ लाख, एनसीसी बैंकको १ करोड र नेपालइन्भेष्टमेन्ट बैंकको ४ लाख रुपैयाँ कर्जा लगानी भएको प्रहरीको रिपोर्टमा उल्लेख छ । पछिल्लो समयमा केही बैंकहरुले भने धितो लिलामीबाट कर्जा असुलीमा सफलता हासिल गरिरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
अग्नि एयरलाइन्स सिम्रिक एयरलाइन्सले लिजमा लिएपछि त्यसमा लगानी भएको ७० करोड रुपैयाँ भने सुरक्षित भएको छ । अग्नि एयरमा पाँच वाणिज्य बैंकले लगानी गरेका थिए । अग्नि एयरमा तत्कालिन ग्राण्ड बैंकको ३४ करोड ८४ लाख, सनराइज बैंकको २० करोड २ लाख, सिभिलको २ करोड ९९ लाख, कर्मज एण्ड ट्रष्टको २ करोड ४७ लाख र एनबी बैंकको २३ लाख रुपैयाँ गरी ७० करोड रुपैयाँ लगानी थियो । अग्नि एयर सहित सुधीर बस्नेत समूहलाई वाणिज्य बैंकले २ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी गरेका थिए ।
बस्नेतले आफूसँग अर्बौ रुपैयाँ बराबरको सम्पत्ति भएको दावी गर्दै आए पनि नगद अभावका कारण उनका सबै व्यापार पाच बर्षदेखि बन्द भएका छन् । प्रहरीले संकलन गरेको विवरण अनुसार अनुसार वाणिज्य बैंकबाट मात्र अढाई अर्ब कर्जा लिएका सुधीर बस्नेतले विकास बैंक, फाइनान्स कम्पनी, सहकारी, कर्मचारी सञ्चय कोषलगायत औपचारिक क्षेत्रबाट सवाँ ४ अर्ब र अनौपचारिक क्षेत्रको साढे ३ अर्ब रुपैयाँ कर्जा लिएको पाईएको छ ।