काठमाडौं, १३ पुस । बुधबार सेयर बजारमा हरियाली छाएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तत ५ दशमलब ६२ अंकले बढेर १४१३ अंकमा अडिएको छ । बजार खुलेको केही बेरमै उकालो लागेर १४२२ अंकमा पुगेको नेप्से परिसूचक पछि ओरालो लागेर १४०५ अंकमा झरेको थियो । त्यसपछि करोबार बन्द हुँदा भने बजारलाई केही टेवा पुगेको देखिन्छ ।

नेप्से परिसूचकसँगै बजारमा कारोबार भएका सबै समूहको परिसूचकहरु पनि हरिया भएका छन् । ७ समूहको कारोबार भएको बजारमा सबैभन्दा बढी होटल समूहको परिसूचक ३९ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बीमा र विकास बैंक समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले बढेका छन् ।
नेप्से परिसूचकमा केही सुधार आएता पनि कारोबारमा भने अझै सुधार आउन सकेको छैन । मंगलबार जम्मा ४६ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२८ कम्पनीको १३ लाख ८३ हजार कित्ता सेयर किनबेच भएको छ ।
सो दिन नेको इन्स्योरेन्सको सबैभन्दा बढी ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंकको २ करोड रुपैयाँ र सिद्धार्थ बैंकको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
बजारमा सबैभन्दा बढी नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ८.१३ प्रतिशतले बढेको छ । सोही दिन ललितपुर फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ६.४८ प्रतिशत गुमाएका छन् ।