चुलाचुली गाउँपालिका– १ की विशु राई सरकारी विद्यालयले अङ्ग्रेजी माध्यममा पढाई सुरु गरेकाले आफूलाई निकै खुसी लागेको बताउछन् । उनले थप्दै भने, ‘न्यून आय भएकाहरुलाई सरकारी स्तरबाट गरेको यो प्रयास सह्रानीय छ । यसलाई निरन्तरता दिएर जानुपर्छ ।’ त्यसैगरी अर्का अभिभावक अनिस राईले सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन हुन थालेपछि खुसी लागेको बताए । उनले घर नजिकैको सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम लागू भएपछि आफ्नो निजी विद्यालय पढ्दै गरेको बच्चालाई समेत सरकारी विद्यालयमा ल्याए ।
धेरै अभिभावकहरुले आफ्ना बालबालिकाहरुलई गुणस्तरीय शिक्षाका लागि चर्को शुल्क तिरेर निजी विद्यालयमा पठाउन बाध्य भइरहेको परिस्थितिमा सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन पाउने भएकाले यस क्षेत्रका अभिभावकहरु खुसी भएका हुन् । सरकारी विद्यालयमा अङग्रेजी माध्यम लागू गरेपछि विद्यार्थी सङ्ख्या समेत बेढको वडा नं. १ कमलस्थित जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विशाल लिम्बू बताउछन् । ‘अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि झण्डै १५ प्रतिशत विद्यार्थी सङ्ख्या बढेको छ’ उनले भने, ‘कतिपय अभिभावकहरुले त आफ्ना छोराछोरी बोर्डिङबाट निकालेर समेत यहाँ ल्याएका छन् ।’
चुलाचुली गाउँपालिकामा आठ माध्यमिक, १३ आधारभूत, दुई सामुदायिक सिकाई केन्द्र र १६ वटा बालविकास केन्द्र छन् । सबै तहमा पाँच हजार विद्यार्थी अध्ययरत रहेको गाउँपालिका शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ । उता निजीतर्फ एउटा माध्यमिक र पाँच वटा आधारभूत विद्यालय छन् ।
शैक्षिक संरचनामा ६ करोड बढी लगानी
चुलाचुली गाउँपालिकाको शैक्षिक क्षेत्र सुधार गर्नका लागि जनप्रतिनिधि र कर्मचारी तल्लीन छन् । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गरेको छ । शैक्षिक सुधारका लागि पछिल्लो दुई वर्षमा रु छ करोड बढीको विभिन्न शैक्षिक संरचनाहरु तयार भएका छन् । गाउँपालिकाका सात वटा विद्यालयमा पक्की भवन निर्माण सम्पन्न गरिएको छ भने दुई वटाको निर्माण सम्पन्नको चरणमा रहेको गाउँपालिका अध्यक्ष केरुङले जानकारी दिए ।
वडा नं २ स्थित जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा (सिभिल इन्जिनियरिङ)को पढाई भइरहेको छ । स्थानीयस्तरमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षाको पढाई सुरु गरिएको प्रधानाध्यापक लक्ष्मीश्वेरप्रसाद बनबरिया यादवले बताए । सो विद्यालयमा सिभिल इन्जिनियरिङका एक सयसहित करिब सात सय विद्यार्थी अध्ययनरत छ ।
सो विद्यालयलाई गाउँपालिकाले स्कूल बस उपलब्ध गराएको छ । रु ४१ लाख ६९ हजारमा स्कूलबस खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । ‘‘हामी सरकारी विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने अभियानमा जुटेका छौँ’’ अध्यक्ष केरुङले भने, ‘‘सिभिल इन्जिनियर अध्ययनरत विद्यार्थीसहित अन्य विपन्न वर्गका विद्यार्थीको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने हाम्रो विश्वास छ ।’’
गाउँपालिकाबाट विद्यालयलाई स्कूल बस प्राप्त भएपनि सम्पूर्ण सञ्चालनको जिम्मा विद्यालयले नै लिएर सञ्चालन गरिएको प्रधानाध्यापक यादवले बताए । बसको सुविधाले छिमेकी जिल्ला झापाको दमक, केर्खालगायत क्षेत्रबाट आउने विद्यार्थीसमेत लाभान्वित भएका छन् । सो विद्यालयमा प्राविधिक शिक्षातर्फ कोशी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाहीलगायत जिल्लाका विद्यार्थी छन् । उनीहरु झापाको दमकमा बसेर बिहान कक्षा लिन चुलाचुली आउने गर्दछन् ।
चार विद्यालयमा लिम्बू भाषा पठनपाठन
त्यस्तै, चुलाचुली गाउँपालिकाले मातृभाषा शिक्षा समेत लागू गरेको छ । चुलाचुली गाउँपालिकाले चारवटा विद्यालयमा स्थानीय मातृभाषा लिम्बू भाषा पठनपाठन गर्दै आएको छ । चुलाचुली गाउँपालिका–१ मा जनता माध्यमिक विद्यालय, फाल्गुनन्द बहुभाषिक लफाङ पाठशाला र शिवज्योति आधारभूत विद्यालय तथा वडा नं। ४ स्थित किरात चोलुङ आधारभूत विद्यालयमा लिम्बू भाषा पठनपाठन भइरहेको शिक्षा शाखा प्रमुख मिश्रले जानकारी दिए ।
गाउँपालिकाले मातृभाषा शिक्षाका लागि समेत एक-एक जना भाषा शिक्षकका लागि अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै उल्लेख गरी भाषा शिक्षकका लागि सेवा सुविधा उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष केरुङले बताए । रासस