काठमाडौं । घटना–१
नेपालमा धेरै उद्योग व्यवसाय सञ्चालन गरेर ठूलो व्यवसायीको ट्याग भिडेका स्टील तथा सिमेन्ट उद्योगी हुन् आयुष कुमार (परिवर्तित नाम) । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा ती उद्योग व्यवसायकाे नाममा र आफ्नो व्यक्तिगत खाता पनि खोलेका छन् । ती खाताहरूबाट उनको ठूलो रकमको कारोबार पनि हुन्छ । तर, व्यवसायबाट भएको कारोबारको रकम उनी व्यक्तिगत खातामा पठाउँछन् ।
पछिल्लो दुई वर्षको अवधिमा उनको व्यक्तिगत खातामा २५ अर्ब रुपैयाँ बढीको कारोबार देखिन्छ । तर, त्यो कम्पनीको रकम उनले आफ्नो खातामा ट्रान्सर्फर गर्छन् । यसलाई बैंकले असामान्य रुपमा लिन्छ । किनकी कम्पनी ऐन २०६३ को दफा १०१ ले कम्पनीका पदाधिकारी, सेयरधनी वा निजका नजिकका नातेदारलाई कम्पनीबाट कुनै पनि ऋण वा आर्थिक साहयता प्रदान गर्न प्रतिबन्ध गरेको छ । तर, व्यवसायी आयुष कुमारलाई उनको कम्पनीले साढे २ करोड रुपैयाँ उधारो राखेको बैंक स्टेटमेन्टबाट देखिन्छ । यो अवस्था देखेपछि बैंकले राष्ट्र बैंकको वित्तीय जानकारी ईकाइमा सूचना दिन्छ । र, राष्ट्र बैंकले अनुसन्धान गर्दा ती व्यवसायीले गलत गरेको भेट्छ । राष्ट्र बैंकले थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा थप अनुसन्धानका लागि पठाउँछ ।
घटना-२
देशमा कारोनाको महामारी हुन्छ । सरकारले लकडाउनको घोषणा गर्छ । तर, व्यवसायी सन्देश अग्रवाल (नाम परिवर्तित) नाफा कमाउने यही मौका हो भन्दै विदेशबाट स्वास्थ्य उपकरण भित्र्याउँछन् । त्यसलाई महँगो मूल्यमा बिक्री गर्छन् । तर, त्यसमा पनि उनले आफ्नो व्यक्तिगत खाता प्रयोग गर्छन् । उनको विदेशी व्यवसायिक साझेदारले उनको नाममा १ अर्ब बढी पैसा पठाएको देखिन्छ ।
उनले त्यो पैसा केही दिनपछि आफ्नो चालू खातामा ट्रान्सर्फर गरेर विभिन्न स्वास्थ्य उपकरण खरिद गर्छन् । राष्ट्र बैंकको अनुसन्धानले यसबाट उनले धेरै नाफा लिइरहेको देखिन्छ । उनले कर छलेको हुन सक्ने अनुमान राष्ट्र बैंकले गर्छ र यो विषयलाई पनि थप अनुसन्धानका राजश्व अनुसन्धान विभागमा पठाउँछ ।
घटना-३
राम (परिवर्तित नाम) एउटा ट्रेडिङ कम्पनी चलाउँछन् । उनकी श्रीमती सिता त्यो ट्रेडिङ कम्पनीकी सञ्चालक हुन्छिन् । एक वर्षमा ५० करोडको कारोबार हुनु पर्ने सो कम्पनीमा ३३ अर्ब बढी कारोबार भएको देखिन्छ । व्यक्तिगत खाताबाट भएको उक्त कारोबार दूरसञ्चार व्यवसायसँग सम्बन्धित हुन्छ ।
एक वर्षको अवधिमा उनको कम्पनीबाट व्यक्तिगत खातामा अर्बाैं रकम ट्रान्सफर भएको देखिन्छ । कम्पनीको कारोबार पनि रामकै आफ्नै खातामार्फत् गरेर कर छलेको हुन सक्ने रिपोर्टिङ बैंकले राष्ट्र बैंकलाई गर्छ । र, राष्ट्र बैंकले पनि अध्ययन गर्दा समस्या देखेपछि थप अध्ययनका लागि राजश्व अनुसन्धान विभागमा मा पठाउँछ ।
घटना-४
एउटा व्यवसायीले आफ्नो आम्दानीको स्रोत पारिवारिक व्यवसाय भनेर केवाइसी फर्ममा घोषणा गर्छ । उनले केवाइसीमा वार्षिक आम्दानी एक करोड भनेपनि कम्पनीको कारोबार भने १० अर्बभन्दा बढी हुन्छ ।
राष्ट्र बैंकले उनको खातामा दुई वर्षको अवधिमा अध्ययन गर्दा १४ अर्बभन्दा बढी रकम जम्मा भएको देखिन्छ । उनले त्यो रकम विभिन्न २९ वटा शाखाबाट जम्मा गरेका हुन्छन् भने २ वटा शाखाबाट पैसा निकालेका हुन्छन् । उनको व्यवसाय मनि ट्रान्सफरसँग सम्बन्धित छ । उनले कम्पनीको कारोबारलाई पनि आफ्नोमा ट्रान्सफर गरेको देखिन्छ । यसमा पनि शंका देखिएकोले राष्ट्र बैंकले थप अनुसन्धानका राजश्व अनुसन्धान विभागमा पठाउँछ ।
यी सबै कारोबारमा ठूला व्यवसायीहरू संलग्न भएको राष्ट्र बैंकको अनुसन्धानले देखाउँछ । विद्यमान व्यवस्थाअनुसार १० लाखभन्दा बढी हुने कारोबारको स्रोत देखाउनुपर्ने हुन्छ । यदि ती कारोबारहरूमा कुनै शंका लागेमा बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा जानकारी गराउनुपर्छ । यस्तो उजुरीलाई थ्रेसहोल्ड ट्रान्जेक्सन रिपोर्ट (टीटीआर) भनिन्छ । यी माथिका घटनाहरू बैंक तथा वित्तीय संस्थाले नै राष्ट्र बैंकमा उजुरी गरेर राष्ट्र बैंकले थप अध्ययन गरेपछि भेटिएका हुन् ।
राष्ट्र बैंकका अनुसार आर्थिक कारोबारमा आएको वृद्धिसँगै वित्तीय अपराधहरू पनि बढ्दै गएका छन् । यसले आम जनमानसमा पनि वित्तीय साक्षरता बढ्नाले उजुरकिो संख्या पनि बढेको हुन सक्ने तर्क राष्ट्र बैंकको छ ।
नेपाल राष्ट्र बैंकले विभिन्न व्यक्तिले कर छल्नका लागि व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् गर्ने गरेको बताएको छ । नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स युनिटले गरेको एक अध्ययनले व्यापार व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले दुई वर्ष लगाएर गरेको एक अध्ययन प्रतिवेदनले शंकास्पद कारोबारको संख्या बढ्दै गएको देखिन्छ । अघिल्लो वर्ष २ हजार ७८० वटा शंकास्पद कारोबार भेटिएकोमा गत वर्ष ५ हजार ९३५ वटा पुगेको छ । बैंक तथा वित्तीय संस्थाबाट १६ लाख ९८ हजार ३९८ वटा कारोबारको संकास्पद कारोबारको जानकारी राष्ट्र बैंकमा आएको प्रतिवेदनमा उल्लेख छ । त्यसमा ठूला व्यवसायीहरू संलग्नता बढी देखिन्छ ।
आफ्नो उद्योग व्यवसायको कारोबार पनि व्यक्तिगत खातामार्फत् गरेर कर छल्ने प्रवृति देखिएको राष्ट्र बैंकका वित्तीय जानकारी इकाईका प्रमुख दिर्घराज रावलले बताए । उनका अनुसार पछिल्लो समय आर्थिक गतिविधि बढेको, उजुरी संयन्त्रमा सुधार भएको, नियामकीय क्षमता र दायरामा वृद्धि भएको र व्यक्तिमा वित्तीय साक्षरता बढेकोले उजुरी गर्नेको संख्या पनि बढेको छ । त्यसैले पनि यस्ता किसिमका घटनाहरू बाहिर आइरहेका छन् ।
गत आर्थिक वर्षमा करिब साढे ३६ अर्ब रुपैयाँ सम्पत्ति शुद्धीकरण भएको आशंका राष्ट्र बैंकको छ । प्रतिवेदन अनुसार वाणिज्य बैंकहरुले ३५ अर्ब ५७ करोड ८७ लाख ५० हजार, विकास बैंकले १६ करोड १७ लाख, वित्त कम्पनीले २२ करोड ६४ लाख, जीवन बीमा कम्पनीले ४ करोड ३९ लाख, बिप्रेषण कम्पनीबाट ८ करोड ८१ लाख र स्टक ब्रोकर कम्पनीबाट २६ करोड २९ लाख रुपैयाँको सम्पत्ति शुद्धीकरण भएको आशंका राष्ट्र बैंकको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षमा प्राप्त उजुरीमध्ये सम्पत्ति शुद्धीकरणसम्बन्धी ३ हजार २ सय ६६, कर छलीलगायत अपराधसँग सम्बन्धित १ हजार ६ सय ६४, मुद्रा बैकिङ तथा वित्तसम्बन्धी ७ सय २५, क्यासिनो तथा जुवासम्बन्धी ४ सय २०, ठगीसम्बन्धी ४ सय १ र बाँकी अन्य क्षेत्रसम्बद्ध उजुरी छन् ।