काठमाडौं । कैलालीको धनगढीमा होटल सञ्चालन गरिरहेका व्यवसायी सन्तोष अग्रवालले घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन् । घरको पाँचाैं तलाबाट हाम फालेका उनलाई उपचारका लागि अस्पताल लगिएकाे थियाे । अस्पतालमा उपचारकाे क्रममा उनकाे निधन भएको हो ।
बुधबार बिहान घरको पाँचौ तलाबाट हाम फालेका अग्रवाल धनगढी बसपार्क स्थित सन्दीप स्टोरका सञ्चालक हुन् । छतबाट हाम फालेका उनलाई बेहोस अवस्थामै नवजीवन अस्पताल पुर्याइएको थियो ।
कैलाली प्रहरीका अनुसार उनको आत्महत्याको विषयमा अनुसन्धान भइरहेको छ । धेरैले पछिल्लो समय आर्थिक अवस्था सहज नभएको र उनलाई पनि आर्थिक संकट परेको भनेर सामाजिक सञ्जालमा आफ्ना धारणा राखिरहेका छन् ।
तर, प्रहरीको अनुसन्धानले लामो समयदेखि घरमा अशंबण्डा विवाद चर्केको र अन्ततः आत्महत्याको निर्णयमा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखाएको छ ।