
काठमाडौं । कुनै समय विद्यार्थीको संख्या पुरा भई विद्यार्थी भर्ना लिन नसक्ने सूचना निकाल्नुपर्ने नेपालका कलेजहरूलाई आजभोलि विद्यार्थी पाउनै मुस्किल पर्न थालेको छ । प्लसटुसम्म सजिलै विद्यार्थी पाइने भए पनि स्नातक तह (ब्याचलर्स लेबल) मा अहिले विद्यार्थी पाउनै सकस भएको हो ।
काठमाडौंको मूख्य केन्द्र बागबजारमा रहेको काठमाडौं मोडेल कलेजले पनि स्नातक तहमा पूर्ण विद्यार्थी पाउन सकेको छैन । स्नातकका लागि कुल २५० विद्यार्थीको भर्ना लिने योजना बनाएको उक्त कलेजमा अहिलेसम्म करिब २ सय जनामात्र विद्यार्थी भर्ना भएका छन् ।
कुनै बेला भर्नाका लागि आएका विद्यार्थीलाई फर्काउनुपर्ने अवस्था स्मरण गर्दै किलेजका प्राचार्य सुरेन्द्र सुवेदी भन्छन्, ‘ब्याचलर्समा विद्यार्थी पाउन गाह्रो भइसक्यो,’ उनले भने, ‘अहिले भर्ना भएका विद्यार्थी पनि कोर्स पूरा हुञ्जेलसम्म बस्ने ग्यारेन्टी नै छैन । यस्तै हो भने कलेजको अवस्था गाह्रो हुने भइसक्यो ।’
कलेजको समेस्टर प्रणालीको कोटामा अहिले पनि भर्नाक्रम चलिरहेकाले कोटा पूरा हुन्छ हुँदैन भन्न सकिने अवस्था नरहेको सुवेदी बताउँछन् । बीबीएम, बीबीएस, बीबीएलगायतका फ्याकल्टीमा प्रक्षेपण गरे जति विद्यार्थी नपाएको कलेजले जनाएको छ । ‘कलेजका हिसाबले, लोकेसनका हिसाबले पायक पर्ने कलेज, नेपाल सरकारले नेपालका निजी कलेजमध्ये सर्वोत्कृष्ट कलेजका रूपमा अवार्ड दिएका कलेजको अवस्था यस्तो छ भने अरु कलेजकोे अवस्था के होला ?,’ सुवेदीले भने ।
पछिल्लो समय नामै चलेका कलेजहरूलाई समेत विद्यार्थी पाउन गाह्रो परेको छ । काठमाडौँको पुतली सडकमा रहेको हिमालयन ह्वाइट हाउस कलेजका प्राचार्य तोयनारायण पौडेल पनि विद्यार्थीको संख्या घट्दै गएको बताउँछन् । उनी भन्छन्, ‘पहिले विद्यार्थीको चाप हुन्थ्यो अहिले त्यति विद्यार्थी छैन्न, ब्याचलर्स तहमा पनि विद्यार्थी संख्या ओरोलो लाग्न थालेको छ ।’
काठमाडौँको मध्येबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा टियूको एमबीएस र बीबीएसमा विद्यार्थी न्युन संख्या भएर कार्यक्रम नै बन्द गर्नु पर्ने अवस्था आएको छ । अब कलेजले एमबीए र बीबीएमात्र पढाउने तयारी गरेको कलेजका अध्यक्ष डा. खगेन्द्र ओझाले बताए ।
‘एमबीएस र बीबीएस शंकरदेव मिनभवनलगायत धेरै कलेजमा सर्वसुलभ पढाइ हुन्छ,’ उनले भने, ‘हामीकहाँ फिस पनि अलि महंगो भएर हुन सक्छ विद्यार्थी नै नहुने भएपछि यो कार्यक्रम बन्द गर्ने तयारीमा छौँ। बाँकी बीबीए र एमबीएमा अहिलेसम्म विद्यार्थीको संख्या पुगेकै छ ।’
अन्य कलेजमा भने विद्यार्थी पाउन नै समस्या भएको खगेन्द्र बताउँछन् । उनी भन्छन्, ‘म आबद्ध अन्य कलेजमा पनि विद्यार्थीको समस्या छ, अरु कलेजका साथीहरूसँग कुरा गर्दा पनि यही कुरा गर्नुहुन्छ, समग्रमा हेर्ने हो भने ब्याचलर्स तहमा विद्यार्थी पाउन गाह्रो भइसकेको छ ।’ पहिले एमबीएमा भर्नाका लागि सोर्सफोर्स आउँथ्यो । अहिले ६० वटा सिट रहेका थुप्रै कलेजमा ३० जना पनि विद्यार्थी नरहेको सञ्चालकहरू नै बताउँछन् ।
नेपालमा हरेक वर्ष करिब ३ लाखको हाराहारीमा प्लसटु सकेका विद्यार्थी ब्याचलर्सका लागि तयार हुन्छन् । तर, ति सबै नेपालमा पढ्दैनन् । गत आर्थिक वर्ष २०७९/२०८० मा मात्रै २ लाख ५० हजार विद्यार्थीले प्लसटु पास गरे । सोही वर्ष १ लाख १० हजार २ सय जनाले बााहिर अथवा विदेश पढ्न जानका लागि नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए । गएको वर्षलाई मात्र आधार मान्ने हो भने २ लाख ५० हजार विद्यार्थीमा १ लाख १० हजार बढी बाहिर जाँदा करिब डेढ लाख विद्यार्थीमात्र नेपाल रहे । यो वर्ष पनि गएको वर्षकै हाराहारीमा एनओसी लिनेहरू देखिने विज्ञहरू बताउँछन् ।
एनओसी नलिई भारतमा जाने विद्यार्थीको संख्या छुट्टै छ । मुलूकभरि सामूदायिक, निजी, आंगीक गरी १ हजार ४ सय ५५ कलेज सञ्चालनमा छन् । कलेजको संख्या बढ्दै जानु र विद्यार्थीको संख्या घट्दै जानुले पनि कलेजलाई विद्यार्थी पाउन समस्या भएको हो । काठमाडौँको ग्लोबल कलेजमा ३ हजार विद्यार्थी एक वर्षमा १२ कक्षा पास गर्छन् । तिमध्ये ७२ प्रतिशत बाहिर जाने तयारीमा रहेका छन भने २८ प्रतिशतमात्र नेपालमा रहने भएका छन् । कलेजका अध्यक्ष खगेन्द्र ओझा वर्षेनी यो संख्या बढ्दै जाने बताउँछन् ।
राेजगारी अभाव पनि कारण
पढाइका लागि देश बाहिर जाने सबै विद्यार्थीको एउटै गुनासो छ- ‘नेपालमा बस्ने वातारण नै छैन ।’ विदेशमा पढ्न पनि पाइने, पैसा पनि कमाउन सकिने भएकाले प्लसटुपछि विद्यार्थीको रोजाइ विदेश हुन थालेको छ ।
अध्यक्ष ओझा भन्छन्, ‘विदेशमा पढ्दै कमाउँदै गर्न मिल्छ । केही पैसा बचाएर नेपाल पठाउन पनि मिल्छ । तर, नेपालमा मास्टर पढदा २० हजारको जागिर गर्छुभन्दा पाइँदैन, आमाबुवाबाटै मागेर पढ्नुपर्ने बाध्यता छ । पढिसकेपछि पनि जागिर पाइन्छ कि पाइँदैन भन्ने एकीन छैन ।’
उनीे पढाइका लागि नेपाली विद्यार्थी बाहिर गएका नभइ बेरोजगारीका कारण बाहिर गएको बताउँछन् । अमेरिका, जापान, अस्टे«ेलिया जाने अधिकांश विद्यार्थी अब नेपाल फर्किन्छन् कि फर्किँदनन् भन्ने समेत आशंका रहेको कलेजका सञ्चालकहरू बताउँछन् । अध्यक्ष ओझा नेपालमा राम्रो वातावरण नहुँदा विद्यार्थी बाहिर जान थालेको बताउँछन् ।
‘विद्यार्थी पढ्न गएर उतै बस्ने हो भने भविष्यमा जोखिम आउने छ,’ उनले भने, ‘त्यही बिहे गरेर त्यही बच्चा जन्माउछन्, जसले गर्दा जनसांख्यिक समस्या देखिन्छ । अबको १५-१६ वर्षपछि जनसंख्या नै नहुने सम्भावना छ ।’
खुट्टा लागेपछि मान्छे हिँड्छ
कलेजका सञ्चालकहरू विद्यार्थी रोक्ने सरकारले नीति र अवसर दिनुपर्ने बताउँछन् । शिक्षा मन्त्रालयले दिने नो अब्जेक्न लेटरमा कडाइ र राष्ट्र बैंकले डलरमा कडाइ नगरुञ्जेल अवस्था विकारल हुनेछ । तर, समस्या रोजगारीको हो । ओझा थप्छन्, ‘नेपालमा अमेरिका, अस्ट्रेलिया गएर पनि हाम्रा विद्यार्थी पढिरहेका पनि छैनन् । त्यहाँ किन जान्छन् भने त्यहाँ आफै काम गर्न पाउँछन्, जबसम्म युवाहरूलाई सुलभ र गुणस्तरीय रोजगारीको वातावरण बन्दैन त्यहाँसम्म बाहिर जानेक्रम रोकिँदैन । यसलाई जबरजस्ती रोक्न खोज्यो भने झन समस्या निम्तन्छ ।’
तर, शिक्षाविद् विद्यानाथ कोइराला विद्यार्थी बाहिर जानु स्वभाविक रहेको बताउँछन् । ‘विद्यार्थी फल्दैनन्, जनसंख्या घटेपछि विद्यार्थी घट्नु स्वभाविक हो,’ उनी भन्छन्, ‘विद्यार्थी बाहिरिनु पनि अत्यन्त स्वभाविक हो । किनभने हात खुट्टा लागेपछि मान्छे हिँड्छन् ।’
उनी बाहिर गएका विद्यार्थीलाई हाम्रा विद्यार्थी बनाउने कसरी भन्ने विषमा हाम्रा विश्वविद्यालय र कलेजले ठ्याक्कै नबुझेको बताउँछन् । अहिलेको युग भनेको प्रविधिको युग हो । अब कलेजले विद्यार्थी भएनन्, छैनन् भन्नुभन्दा प्रविधिको उपयोग गर्न सके राम्रो हुने शिक्षाका जानकारहरू बताउँछन् । कोइराला भन्छन्, ‘अब कक्षामै विद्यार्थी आउनुपर्छ भन्ने कुरा हैन कि, जुम, मीटलगायत जे प्रविधि हुन्छ, त्यसमा अन्तराष्ट्रियमा छरिएका मान्छेलाई कसरी जोगाउने भन्ने कुरा सोच्नुपर्छ ।’
उनी अब कलेजहरूले विद्यार्थी बनाउन दुई/तीन वटा काम गर्न सकिने सुझाउँछन् ।
–विद्यार्थी भनेको नियमितरूपमा विद्यालय आउनुपर्छ । यति उमेर पुगेको मान्छेमात्र कलेज आउनुपर्छ भन्ने चिन्तन छोड्नुपर्यो । त्यसको सट्टा गृहणी, राजनीतिज्ञ, कोही अर्थशास्त्री होलान, अब तिनीहरूलाई पढाउने अभ्यास सुरु गर्नुपर्छ ।
–खाडी मुलुक तथा युरोप अमेरिका गएका मान्छे त्यहाँ आफै पैसा तिरेर पढ्न सक्दैनन् । श्रमको तथ्यांकले के भन्छ भने विदेश पढ्न जाने भन्दै गएका १० प्रतिशत विद्यार्थीमात्र त्यहाँ पढछन् । बाँकी काम गरेर पैसा कमाउँछन् । त्यसो हो भने त्यस्ता विद्यार्थीलाई पढाउनको लागि नेटको प्रयोग गर्नुपर्ने वा अन्तर्राष्ट्रियस्तरमा उपयोग गर्ने तरिका अपनाउनुपर्छ ।
–युरोपले विद्यार्थी पाउन छोड्यो त्यसैले उसले अन्तर्राष्ट्रिय जगतका मान्छे बटुल्छ । अमेरिकाले विद्यार्थी पाउन छोड्यो उसले पनि विद्यार्थी बटुल्छ, अस्टे«लियाको पनि त्यही दशा हो । अब हामीले हाम्रा ठाउँमा विद्यार्थी ल्याउने तरिका अपनाउनु पर्छ ।
कोइराला नेपालका जडिबुटीका बारेमा अनलाइन कोर्सेस बनाएर युरोप अमेरिकाका मान्छेलाई यहाँ ल्याउन सक्ने बताउँछन् ।
अन्तर्राष्ट्रिय जगतमा अहिले ‘ई-लर्निङ थी्र सिक्सटीन’ भन्ने मुमेन्ट चलिरहेको छ । यो भनेको विश्वभरिका मान्छेले चौबिसै घन्टा पढ्न पाउने ठाउँ हो । खाँदा, उठदा, बस्दा, हिँड्दा जतिखेर जसरी पनि पढ्न पाइन्छ । यसका लागि कलेज चाहिन्छ त्यही आउनुपर्छ वा यिनकै विद्यार्थी हुनुपर्छ भन्ने हुँदैन । शिक्षाविद् कोइराला नेपालका कलेजहरूले पनि यसरी चिन्तन गर्न सके भने मान्छे नपाउने समस्या नहुने बताउँछन् ।