काठमाडौं, २८ मंसिर । उद्योगमन्त्री नविन्द्रराज जोशीले लोकतन्त्रको लडाँई सकिएकाले अब आर्थिक क्रान्तिमा अगाडि बढ्नुपर्ने बताएका छन् । चारतार युवा क्लब सिवाइसी नेपालको २५ औं वार्षिक साधारण सभाको मंगलबार बाग्लुङमा उद्घाटन गर्दै मन्त्री जोशीले १० वर्षभित्र सम्पूर्ण नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी दिने गरी सरकारले काम गरिरहेको बताए । ‘जबसम्म नेपाली युवाहरु स्वदेशमै बस्ने वातावरण बन्दैन, तबसम्म देश विकास हुन सक्दैन,’ मन्त्री जोशीले भने,‘त्यसैले युवालाई स्वेदशमै रोजगारी दिने गरी सरकारले कार्यक्रमहरु बनाईरहेको छ ।’
मन्त्री जोशीले साना उद्यमीहरुका लागि बैंकबाट ऋण लिँदा सरकार जमानी बसिदिने गरी कार्यक्रम ल्याउन लागेको बताए । ‘नेपालका साना उद्यमीहरु इमान्दार छन्, ९४ प्रतिशत साना उद्यमीहरुले कर तिरेका छन्, ‘उनले भने,‘साना उद्योगमा लगानी गर्न बैंकबाट ऋण लिन समस्या भए सरकार जमानी बसिदिने गरी कार्यक्रम बनाईरहेका छौं ।’ साना उद्यमीहरुलाई चार प्रतिशत ब्याजमा ऋण लिने व्यवस्था मिलाउन लागेको उनले सुनाए । लघु उद्यमको क्षेत्रमा बाग्लुङको छुट्टै पहिचान रहेको बताउँदै जोशीले यहाँको अल्लोको कपडा उत्पादनलाई सघाउने अल्लो प्रशोधन मेसिन उपलब्ध गराउने प्रतिवद्धता जनाए । ‘यहाँको अल्लोलाई प्रशोधन गर्नका लागि मेसिन उपलब्ध गराउने तयारी गरेका छौं,’ उनले भने,‘देशभर १० वटा मेसिन वितरण गर्ने कार्यक्रम छ, पर्वत र बाग्लुङलाई समेट्ने गरी एउटा मेसिन आउँछ, कहाँ राख्ने तपाईहरुसंग छलफल गरौंला ।’ देशको हैसियत नबनेसम्म देशबासीको हैसियत नबन्ने भन्दै जोशीले देशको हैसियत निर्माणमा लाग्न युवाहरुलाई आग्रह गरे ।