केही वर्षयता देशको समस्या छ । यो समस्यालाई समाधान गर्नका लागि सरकारले काम अगाडि बढाइसकेको छ । समस्याहरू घट्दैछन्, घटाइँदैछ । ती समस्याहरू आउनुमा धेरै कारणहरू छन् । यो विषयमा हामीले विभिन्न मञ्चहरूमा निजी क्षेत्र समेतको उपस्थितिमा, दलहरूको उपस्थितिमा, संसद र संसदका समितिहरूमा पनि छलफल गरिसकेका छौं । सर्वपक्षीयरूपमा पनि चिरफार गर्यौं ।
समस्या संसारभरि नै छ । संसारभरि नै मन्दी छ । धेरै कम देशहरू मात्रै त्यो समस्या चिरेर अगाडि बढ्न सकेका छन् । त्यो सिथिलता हामीले पनि भोग्यौं । यहाँ आन्तरिक कारणले पनि आयो बाह्य कारणले पनि आयो । संसारभरि आएको कोभिड महामारीबाट पनि हामी प्रभावित भयौं । २०७२ सालमा आएको भूकम्पको प्रभावको अवशेषहरू र दायित्व पनि थपियो । यो सँगसँगै हाम्रोतर्फबाट राज्य संरचनाले लिएका निर्णयहरू परिस्थितिको यथार्थ मूल्यांकन नगरीकन सञ्चालित मौद्रिक नीति र वित्तीय नीतिमा प्राथमिकीकरण र अनुशासन नहुँदा यी सबैको गठजोडले समस्याहरू चुलिएको हो ।
तर, अब देशको अर्थतन्त्र सकारात्मकतर्फ अगाडि बढ्दैछ । हामी अहिले सूचना प्रविधिको युगमा छौं, हिजो चारजनाबीचमा रहने कुरा सय जनासँग हुन सक्थ्यो । अहिले सामाजिक सञ्जालमा सत्य वा असत्य संसारभर नै फैलन सक्छ । अझ प्रायोजितरूपमा, नियोजितरूपमा वा लगानी गरेर समूहले निश्चित उद्देश्यकासाथ त्यो प्रवाहित गर्यो भने त्यसले भ्रम पैदा गर्न सक्छ । त्यसले यो देश खराब छ, यो देशमा केही हुँदैन, यो सत्ता खराब छ, यसले केही गर्दैन भन्नेखाले भ्रमपूर्ण प्रचार त्यहाँबाट भएको छ । जसले आफ्नो दायित्व जिम्मेवारी पूरा गरेको छैन । जसले जनताबाट उठेको रकम बैंकबाट लिएर खुलेआम तिर्दिन भनेर तिर्नै नपर्ने अवस्था आउँछ भन्ने किसिमको अभिव्यक्तिले ठाउँ पाइराखेको अवस्था छ ।
हरेक देशमा समस्या आउँछ, समस्यारहित कुनैपनि देश छैन । र, समस्याको समाधान हुन्छ । हाम्रो देशको भविष्य छ, यही देशमा केही गर्न सकिन्छ, त्यसको सुरुवात भएको छ । जुन रफ्तारमा हुनुपर्ने हो त्यो नभएकै हो । तर, हुँदै नभएको होइन र अब गर्न सकिन्छ । यही देशमा युवाहरूको रोजगार सुनिश्चित गर्न पनि सकिन्छ । यही देशमा उत्पादन बढाउन पनि सकिन्छ ।
हाइड्रोपावरले एउटा लय समातेको छ । संसारभभरि नै कार्बन उत्सर्जन घटाउने लक्ष्यका कारणले नेपालमा लगानी गर्नको लागि विदेशी र निजी लगानीकर्ताको चासो छ । कमिटमेन्ट पनि आउन थालेका छन् । यसले व्यापार घाटालाई घटाउने मात्रै नभएर हाम्रो अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ अगाडि बढाउँछ । अर्को, पर्यटनको क्षेत्रमा ठूलो सम्भावना छ । यतिबेला अहिलेसम्मकै धेरै पर्यटक आएका छ्न । पर्यटनको विकास गर्न पूर्वाधार विकास गर्न आवश्यक छ, त्यसको लागि लगानीको आवश्यकता छ ।
सूचना प्रविधिले राम्रो सम्भावना देखाएको छ । हजारौं युवाहरूको मानसिकता आईटीसँग मेल खान्छ । यो क्षेत्रमा ठूलो संख्यामा यूवाहरु संलग्न छन्, त्यसलाई प्रवर्द्धन गर्न जरुरी छ । अहिले पनि ठूलो सफ्टवेयर एक्सपोर्ट हुन थालेको छ ।
कृषिलाई व्यवसायीकरण गर्ने काम गर्नुपर्छ । अहिले भइरहेको सानोसानो जमिनको स्वामित्वले उत्पादनमा वृद्धि हुँदैन । कृषि क्षेत्रमा टुक्रे स्वामित्वकर्ताहरूको सहभागितालाई पनि लिएर व्यवसायीहरूलाई दिएर ठूलो क्षेत्रमा फार्मिङमा लैजान सकिन्छ । यसलाई राज्यले सहुलियत, संरक्षण र अनुदान दिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धी गराउनुपर्छ । अहिले बाहिरबाट थोरै पुँजी लिएर कृषि क्षेत्रमा काम गर्नेहरू पनि छन । तिनलाई पनि प्रवद्र्धन गर्नुपर्छ । त्यस्तै, राज्यलाई आत्मनिर्भर बनाउन उत्पादन उद्योग लगायतका क्षेत्र छन्, तिनलाई पनि प्रवद्र्धन गर्यो भने नेपालले टेकअफ गर्छ । यसको लागि निजी क्षेत्रले नेतृत्व लिनुपर्छ । राज्यको काम सहजिकरण गर्ने हो, यही बाटोमा हामी छौं ।
पोजेटिभ डिस्कोर्स गरौं । अहिलेको समस्या भनेको कन्फिडेन्सको समस्या हो । पहिला मौद्रिक नीति र वित्तीय नीतिमा पनि यथार्थ आंकलन नगरी निर्णयहरु भए । राज्यले लगानी गर्दा पनि गैर प्राथमिकताको क्षेत्रमा, रिटर्न नआउने क्षेत्रमा पनि भएकै हो । मौद्रिक नीतिमार्फत अनुत्पादक क्षेत्रमा लगानी गरेकै हो । शेयर मार्केट कृत्रिम रुपमा विकास भएकै हो, कृप्टोमा पनि गएकै हो । अब यसबाट पाठ सिक्नुपर्छ । अब दीर्घकालिन रूपमा कुन क्षेत्रमा अवसर छ, कुन क्षेत्रबाट रिटर्न आउने सम्भावना त्यो क्षेत्रमा लगानी गर्नुपर्छ । जहाँसम्म जसले ऋण लिइसकेको छ, गर्दागर्दै भएको छैन त्यसलाई राज्यले सहजीकरण गर्नुपर्छ । केही सहजीकरण मौद्रिक नितिले ब्याज, समय लगायतका उपकरणहरुमार्फत पनि सम्बोधन गर्नुपर्छ ।
हामीले ३.७ प्रतिशतले साधारण खर्च घटाएका छौं । हामीले वित्त क्षेत्रमा पनि अनुशासन कायम गर्ने, जथाभावी विनियोजन नगर्ने, प्राथमिकताको क्षेत्रमा खर्च गर्ने नीति लिइसकेका छौं । त्यसको नतिजा अब आउँछ । संरचनामा उदासिनता छ । अनेकन नियमनकारी निकाय छ्न । बुझाइ फरक–फरक छ । त्यसले पनि कतिपय समस्या आएको छ । हामीले निजी क्षेत्र सरकारी क्षेत्र नभनीकन काम गर्ने हो भने नतिजा ल्याउन सकिन्छ ।
(अर्थमन्त्री डा. महतले आन्तरिक राजस्व विभागको आयोजना गरेको कर सप्ताह समापन कार्यक्रममा राखेको विचारको सम्पादित अंश)