
काठमाडौं, २३ मंसिर । पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम संचालन तथा नेपाल वायु सेवा निगममा अपारदर्शी गतिविधि भइरहेको भन्दै व्यापक आलोचना खेपिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पारदर्शिताको लागि कुनैपनि सूचना नलुकाउने र सार्वजनीक रुपमा जानकारी दिने जनाएको छ ।
मन्त्रालयले आफ्नो मातहतका कुनैपनि निकायबाट सूचना लिन सक्ने जनाउँदै सार्वजनीक हितमा पारदर्शिताको लागि सकेसम्म सवैखाले सूचना उपलब्ध गराउने जनाएको हो ।
पर्यटन मन्त्री जीवनबहादुर शाहीले मन्त्रालय र मातहत निकायबीच आन्तरिक समन्वय हुन नसकेको गुनासो आइरहेको बताउँदै सबै संयन्त्रलाई चुस्त र प्रभावकारी बनाउन आफुले सक्दो पहल गर्ने बताए । मुलुकको आर्थिक समृद्धिमा पर्यटन गतिविधिले ठूलो भूमिका खेल्ने हुँदा यसको विकासमा संचारमाध्यमबाट पनि सकारात्मक संदेश जानुपर्ने र आवश्यक जानकारीको लागि पर्यटनसँग समन्वय गर्न मन्त्री शाहीले पत्रकारहरुलाई पनि आग्रह गरे ।
मन्त्री शाहीले मुलुकको पर्यटन क्षेत्रको सुधार गरी विदेशी पर्यटक आकर्षण गर्न पूर्वाधार विकासलगायत कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताए । उनले आफु मन्त्री भएको एक सय दिनको समीक्षा सहित सुझाब लिन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेका थिए ।
मन्त्रालयमा आयोजा गरिएको कार्यक्रममा सचिव शंकरप्रसाद अधिकारीले मन्त्रालय र मातहत निकायको सूचना प्रणाली व्यवस्थापन र नियमित गर्न तत्कालै प्रवक्ताको बैठक राखी नियमित सूचना प्रदानको व्यवस्था गरिने जानकारी दिए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन प्रवद्र्धनात्मक कामलाई प्रभावकारी बनाउन बोर्डलाई गतिशील बनाउँदै लगिने बताए ।