धमाधम खाली हुन थाले घर, घरधनीलाई बैंकको किस्ता तिर्नै गाह्रो

<p>बुढोपाकाले भन्थे, ‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु ।’ मुलुकमा आएको आर्थिक मन्दी तथा व्यापारव्यवसाय ठप्प भएपछि अधिंकाशले कोठा र सटर छोड्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र मात्र नभई उपत्यका बाहिर पनि कोठा, फ्रल्याट र सटर छोड्नेको संख्या हवात्तै बढेको छ । बजारमा सुन्दा र बुझ्रदा ७० प्रतिशत मानिस भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् [&hellip;]</p>

एआईद्वारा निर्मित तस्बिर

बुढोपाकाले भन्थे, ‘अनिकालमा बिउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु ।’ मुलुकमा आएको आर्थिक मन्दी तथा व्यापारव्यवसाय ठप्प भएपछि अधिंकाशले कोठा र सटर छोड्न थालेका छन् । काठमाडौं उपत्यकाभित्र मात्र नभई उपत्यका बाहिर पनि कोठा, फ्रल्याट र सटर छोड्नेको संख्या हवात्तै बढेको छ । बजारमा सुन्दा र बुझ्रदा ७० प्रतिशत मानिस भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

यस्तो अवस्थामा समेत घरधनीहरु भाडा बढाइरहेका छन् । त्यसकारण अब घरधनीहरुको आँखा नखुले सबै कोठा, सटर र फ्ल्याट खाली हुने छन् । व्यापार व्यवसाय गर्नेहरु दिनहुँ घाटामा गइरहेका छन् । अनि विभिन्न संघसंस्था तथा पसलहरुमा काम गर्नेहरुले वर्षेदेखि तलब पाएका छैनन् । दुई वर्षअघि एउटा खाली सटर २० लाखदेखि ५० लाखसम्म बिक्री हुन्थ्यो ।

एउटा कोठा १० हजारदेखि २० हजार र एक फ्रल्याट १५ हजारदेखि ३० हजारसम्म जान्थ्यो । एउटा सटरको मासिक २० हजारदेखि १२ लाखसमम लिइन्थ्यो । घरधनीहरुले अझै पनि विगतमा यत्रो पैसा लिएको सम्झिने र भाडा नघटाउने हो भने सबै कोठा, सटर र फ्ल्याट खाली रहनेछ ।

कतिपय घरधनीले त आफ्नो घरको कोठा, फ्रल्याट र सटर खाली हुन नदिन आधा भाडा अहिले र आधा पछि तिर्नु भन्नुका साथै भाडा घटाइदिने भनेर समेत डेराबहाललाई फकाईरहेको पाइन्छ । यता, एउटाले छोडेमा अर्को आइहाल्छ भन्ने घमण्डी घरधनीहरुको घर महिनौं दिनदेखि खाली छ ।

अहिले सरकारी कर्मचारीले मात्र हो मिठो खान पाएको र भाडा तिर्न सकेको । आम सर्वसाधारणलाई त बिहानबेलुकाको छाक टार्न समेत हम्मेहम्मे परेको छ । यसले उपत्यकाभित्र होस् या बाहिर अब झन् कोठा, फ्रल्याट र सटर खाली हुने छ । कतिपय व्यापारीले दशैंअघि नै सटर छोडे भने कतिपय दशैंमा व्यापार हुन्छ भनेर कुरेर बसे ।

तर, दशैंमा समेत सोचेअनुरुप व्यापार नभएपछि उनीहरु पनि सटर भाडा तिर्न नसकेर सटर खाली गर्ने सोचमा छन् । काठमाडौं उपत्यकाभित्र ७७ ओटै जिल्लाका मानिसहरु शिक्षा, स्वास्थ्य, रोजगार, अवसरलगायतका कारण बसोबास गर्दै आएका छन् । यहाँ अस्थायी बसोबास गर्दै आइरहेकाहरु हरेक वर्ष दशैं मान्न भने आफ्नै गाउँघर फर्किन्थे ।

वर्षेनी उपत्यकाबाट दशैं मान्न २० लाखदेखि ३० लाखको हाराहारीमा सर्वसाधारण गाउँघर फर्किने गर्थे । तर, यो वर्ष जम्मा १३ लाख मात्र आफ्नो गाउँघर गए । दशैंमा भन्दा पनि दशैं अघि नै मानिसहरु आफ्नो गाउँघर फर्किए । अहिले धेरै मानिसहरु आफ्नो जन्मथलो फर्किएका छन् । अहिले अधिंकाश जिल्लामा शिक्षा, स्वास्थ्य, सडक र बत्तीको विकास भइसकेको छ ।

यसरी आफ्नो जन्मथलो छोडेर अवसरको खोजीमा उपत्यका वा सदरमुकाममा बस्दै आएकाहरु अहिले भाडा तिर्न नसकेर आफ्नै गाउँघर फर्किएका छन् । उनीहरु अब उपत्यका आउन चाहदैँनन् । पहिला पो व्यापारव्यवसाय हुन्थ्यो । काम गरेको ठाउँबाट पनि मासिक रुपमा तलब पाइन्थ्यो ।

तर, अहिले व्यापार व्यवसाय पनि नचलेपछि र काम गरेको ठाउँबाट पनि तलब नपाएपछि अधिंकाश विदेश पलायन भएका छन् । दिनमा हजारौं नेपाली युवा खाडी मुलुक गएका छन् । पैसा हुनेहरु अमेरिका, अस्ट्रेलिया गएका छन् । अहिले अर्थविदहरु भन्छन्, ‘खाडी मुलुक गएकाले पठाएको रेमिट्यान्सले मुलुक चलेको छ । अमेरिका, अष्ट्रेलिया गएकाले त देश खोक्रो बनाएका छन् ।’

२०५० सालमा दुई सयमा पाइने कोठा अहिले १२ हजार पर्छ । ०४५ सालमा तीन हजारमा पाइने सटर अहिले १२ लाख पर्छ । यति महंगो भाडा पाइने भएपछि पैसा हुने र नहुने दुवैले जग्गा किनेर घर बनाए । आखिर बैंक तथा वित्तीय संस्था वा व्यक्तिबाट मिटरब्याज कर्जा लिएर नै किन नहोस् । सबैमा घर बनाउने रहर चल्यो ।

विदेश गएकादेखि व्यापार व्यवसाय गर्ने, सरकारी जागिर खाने र राजनीति गर्ने समेतले जग्गा किनेर घर बनाई भाडामा लगाएको पाइन्छ । अहिले एउटै घरमा पाँच वटा सटर बनाइएको देखिन्छ । त्यस्तै, एउटै घर पाँच तल्लेदेखि १८ तल्लेसम्म छ । पाँच सटरमध्ये एउटा सटर भाडामा भएपनि चार वटामा टु–लेट लेखिएको भेटिन्छ ।
कोठा, फ्ल्याट पनि खाली छन् । अहिले घरधनीहरुलाई रातभर निन्द्रा लाग्दैन । भाडामा लगाउन बैंकबाट ऋण लिइलिइ बनाएको घर पूरै खाली भएपछि उनीहरुको भोक, निन्द्रा र तिर्खा नै मेटिएको छ । दुई वर्षअघि एउटै घरधनीले आफ्नो घर भाडामा लगाएर मासिक लाखदेखि करोडसम्म उठाउँछन् तर, राज्यलाई घरबहाल अनुसार कर तिर्दैनन् ।

घरधनीको जिब्रोमा कोठा, फ्ल्याट र सटरको मूल्य हुन्छ । महिनाको शुरुवातमा नै भाडा माग्छन् । पैसा लिन्छन् तर बिल दिँदैनन् । मागेजति भाडा नदिए पुरानोलाई निकालेर नयाँ डेराबहाललाई पहिलाभन्दा दोब्बर भाडामा लगाउँछन् । दुई तल्लाको नक्सा पास गरी पाँच तल्लाको घर बनाएका छन् । घरका कोठा, फ्ल्याट र सटर सबै भाडामा लगाउँछन् तर, वडा र नगरपालिकामा गएर घरमा सबै आफन्त बसेको भन्दै ढाँट्छन् ।

डेराबहालकोमा पाहुना आएमा जुत्ता गन्न आइपुग्थे घरधनीहरु । बच्चा भएको, बुढाबुढी, एक्लो महिला, विद्यार्थी, अपांग र तल्लो जातको मानिसलाई कोठा दिदैँनन् घरधनीहरु । उपत्यकाभित्र एउटा कोठा पाउन छ महिना लाग्ने गथ्र्यो । आफुले खोज्न नसकेर कोठा खोज्ने अफिसलाई पाँच हजारदेखि २० हजारसम्म दिनुपर्छ ।

अहिले त जताततै ‘कोठा खाली छ’, ‘फ्ल्याट खाली छ’, ‘सटर खाली छ’ भनेर लेखिएको पोस्टरहरु देखिन्छ । घर धमाधम खाली हुन थालेपछि घरधनीहरुले एकातिर मासिक भाडा उठाउन पाएका छैनन्, अर्कोतिर घर पूरै खाली भएपछि त्यँही घरले तर्साएको छ । फेरि घर पनि बैंकको नाममा छ ।

बैंकबाट लिएको कर्जाको महिनामहिनामा किस्ता तिर्नुपर्छ । भाडामा बस्ने मान्छे नभएपछि बैंकलाई कसरी किस्ता तिर्ने ? मुलुकभर ९५ प्रतिशत मानिसहरुको घर र सवारीसाधन बैंकको नाममा छ । हिजो घरजग्गाको मूल्य बढिरहन्छ भनेर मानिसहरुले बैंकबाट लोन लिएर जग्गा किनी घर बनाए । दुई वर्षअघि तीन करोडमा किनेको घरजग्गा अहिले लाखौंमा बिक्री नभएको पनि सुनिन्छ ।

एकतर्फ, घरजग्गाको मूल्य घटेको घटयै छ, अर्कोतर्फ बैंकले किस्ता तिर्न दबाब दिएको दियै छ । फेरि घर बेच्यौं बिक्री हुन्न, बैंकको ऋण तिरौं त पैसा छैन । ८०/८५ वर्षका वृद्धाहरुले सार्वजनिक स्थलमा बसेर कुरा गरिरहेका हुन्छन् कि २०३५ सालमा काठमाडौंको बगरमहलदेखि तीनकुनेसम्मको जग्गा रोपनीको ५० हजारमा पाइन्थ्यो ।

त्यतिबेला यो जमिन पूरै खेत रहेको उनीहरु बताउँछन् । एक रोपनी जमिनमा १६ आना हुन्छ । यँही ठाउँको जग्गा तीन वर्षअघि आनाको छ करोडमा बिक्री भएको स्थानीयबासिन्दाहरु बताउँछन् । ०३५ सालमा ५० हजारमा किनेको जग्गा तीन वर्षअघि ९६ करोडमा बेचियो ।

५० हजारमा बेच्नेलाई ९६ करोड घाटा भयो त ५० हजारमा किन्नेलाई ९६ करोड नाफा भयो । तर, यँहीको ठाउँको जग्गा तीन वर्षअघि ६ करोडमा किनिएकोमा अहिले बेच्छुभन्दा ४० देखि ४५ लाखसम्ममा किन्ने मान्छे समेत नभेटिने बताइन्छ ।

०३१/०३२ सालमा नेपालले अन्य मुलुकमा खाद्यान्न निर्यात गर्ने गथ्र्यो । यति मात्र नभई अनुदानमा समेत खाद्य दिने गथ्र्यो । ०४१/०४२ सालदेखि जग्गा दलाली तथा भूमाफियाहरुले जग्गाको खण्डीकरण गर्न सुरु गरे । त्यसअघि उपत्यकाभित्र तथा बाहिर सबै खेतीयोग्य जमिन थिए । बारीका पाटा थिए ।

जग्गा दलालीहरुले आनाको हजार रुपैयाँमा खेतीयोग्य जमिन किनी खण्डीकरण गरेर आनाकै लाखदेखि करोडसम्ममा बेचे । अहिले ९० प्रतिशत खेतीयोग्य जमिन खण्डीकरण गरेर घर बनाएर मासिसकेको छ । पाँच प्रतिशत जमिन बाँझो छ अनि बाँकीमा खेतीपाती गरिएको छ । मुलुकमा भोकमारीको संकट देखा परिसकेको छ । खाद्य संकट निम्तिन चिन्ता बढ्दो छ ।

व्यक्ति वा बैंक तथा वित्तिय संस्थाको लगानी घरजग्गा, गाडी र सेयरमा छ । दलालीहरुले बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर ३५ सयमा बेचे । भारतले एक लाखमा बनाएको गाडी नेपालमा २० लाखमा बेचियो । अहिले सेयरको कारोबारमा दिनहुँ गिरावट आएको छ । सवारीसाधन किनबेचमा पनि मन्दी छ ।

यसले गर्दा बैंक तथा वित्तीय संस्थाको लगानी जोखिममा परेको छ । घरजग्गा, गाडी र सेयरमा गरेको लगानीकै कारण सहकारीहरु रातारात भाग्नुपरेको थियो । बैंकको पनि त्यँही हालत हुने देखिन्छ । अहिले बजारमा घरजग्गा, गाडी र सेयर किन्ने कोही छैन । न त भाडामा बस्ने नै कोही छ ।

Share News