काठमाडौं, २० मंसिर । नेपालमा वैदेशिक लगानी भित्र्याउन भन्दै आगामी फागुन १९ र २० गते काठमाडौंमा लगानी प्रवद्र्धन सम्मेलन आयोजना हुँदैछ । उद्योग मन्त्रालय र लगानी बोर्डको समन्वयमा आयोजना हुने लगानी सम्मेलनका लागि भन्दै यतिबेला बिभिन्न १० वटा परियोजना तयार भएका छन् । त्यसमा नेपालले लगानीको अत्याधिक सम्भावना भएका क्षेत्र भनेर छुट्याएको उर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य, उत्पादन मुलक क्षेत्र, कृषि, खानी, यातायात, बैंक तथा वित्तिय क्षेत्र र सूचना तथा प्रबिधी लगायतका परियोजना तयार भएका हुन् ।
‘हामी नेपालमा वैदेशिक लगानी भित्र्याउने उदेश्यसहित आयोजना गर्न लागिएको लगानी प्रवद्र्धन सम्मेलनमा १० वटा परियोजना पेश गर्दैछौं, त्यसमा लगानी गर्नका लागि आव्हान गरिनेछ’, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने ।
उनले त्यस्ता परियोजना समेटिएको विस्तृत प्रस्ताव उद्योग मन्त्रालयमा पठाइसकिएको समेत जानकारी दिए ।
यसरी तयार भएका सामाग्रीहरुलाई सम्मेलनका क्रमा आमन्त्रित विदेशी लगानी कर्ता समक्ष पेश गरिनेछ । त्यसमा लगानी योग्य आयोजनाका विशेषता, सम्भावित प्रतिफल, कानुनी व्यवस्था, नेपालले उपलब्ध गराउने सुबिधा लगायतको विस्तृत जानकारी समावेश गरिनेछ ।‘हामी तत्काल लगानी गर्न सकिने केहि प्रोजेक्ट तयार पारेर पेश गर्दैछौं, त्यससँगै एकद्धार प्रणालीबाट काम गरिदिने व्यवस्थाको ग्यारेण्टी समेत गर्ने प्रयास गर्नछौं’, अधिकारीले भने ।
३५० विदेशी लगानी कर्ता आउने
सम्मेलनमा ३५० जना भन्दा बढि विदेशी लगानी कर्ता आउने दावी गरिएको छ । त्यसका साथै विश्वका उत्कृष्ठ अर्थशास्त्रीहरु र प्रतिष्ठित केहि उद्योगपतिलाई समेत निम्त्याउने तयारी भैरहेको उद्योग मन्त्री नविन्द्रराज जोशीलाई उदृत गर्दै प्रेस संयोजक प्रदिप चापागाईँले बताए ।
सम्मेलन अघि नै सबै ऐन ल्याउने तयारी मन्त्रालयले लगानी प्रवद्र्धन सम्मेलन अघि नै लगानीसँग सम्बन्धित सम्पुर्ण ऐन ल्याउने तयारी गरेको छ । हाल सेज ऐन र औद्योगीक व्यवसाय प्रवद्र्धन ऐनको संसोधन विधेयक संसदबाट पारित भैसकेका छन् ।
त्यस्तै, कम्पनी ऐनको संसोधन बिधेयक संसदमा टेबल गरेर समितिमा पठाएको छ भने वैदेशिक लगानी तथा प्रबिधी हस्तान्तरण ऐनको मस्यौदा तयार भैसकेको छ । त्यसैगरि वौद्धिक सम्पति सम्बन्धि ऐनको पनि मस्यौदा तयार भैसकेको छ ।
यी सबै ऐन ल्याएर वैदेशिक लगानी कर्तालाई नेपाल लगानीका लागि उपयुक्त गन्तव्यका रुपमा स्थापित भैसकेको सन्देश दिन चाहेको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए ।