काठमाडौं, २० मंसिर । सोमबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । परिसूचक २६ दशमलब ३५ अंकले ओरालो लागेर १५४४ अंकमा अडेको छ । सोमबार जम्मा ६४ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको ८ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा ५ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । नागबेली लघुवित्त विकास बैंकको ९.९७ र कर्नाली डेभलपमेन्ट बैंकको ९.९२ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले क्रमशः ९.५९, ९.४३ र ९.१४ प्रतिशत गुमाएका छन् ।
सोमबार उत्पादनमूलक समूह बाहेक सबै समूहको परिसूचक ओरालो लागेका छन् । बीमा, होटल, विकास बैंक र बैंकिङ समूहको परिसूचक क्रमशः १७३, ५६, ३३ र २५ अंकले ओरालो लागेका छन् । उत्पादन मूलक समूहको परिसूचक २ दशमलब ३२ अंकले उकालो लागेको छ ।
सो दिन सिद्धार्थ बैंकको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भइको छ । बैंकको ११ करोड रुपैयाँको सेयर प्रतिकित्ता १०३० रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, मेगा बैंकको ५ करोड रुपैयाँ र एभरेष्ट बैंकको ४ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
सोमबार ३ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । अरुण फाइनान्स, नमस्ते वित्तीय संस्था र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य क्रमशः ९.९५, ९.९५ र ९.५१ प्रतिशतले बढेको हो ।