
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो वर्षको लागि टाइम्स हाइयर एजुकेसनको मापदण्डमा स्तर खस्किने बताएको छ । मंगलबार विश्वविद्यालयले विज्ञप्ति जारी गर्दै टाइम्स हाइयर एजुकेसनको मापन अनुसार त्रिवि ८०१ देखि एक हजारको र्याङकिङमा रहेकोमा सन् २०२४ मा भने १२०१ देखि १५०० को बीचमा रहने जनाएको छ । साथै त्रिवि एशियामा भने २५१ देखि ३०० को बीचमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पछिल्लो समयमा टाइम्स हाइयर एजुकेसनले अनुसन्धान साइटेसनलाई दिइने अंकभार घटाएर ३० प्रतिशतबाट १५ मा झारेकोले विश्वविद्यालयको र्याङ्किङमा असर परेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालय स्तर मापनका विभिन्न सूचकहरुमा सुधार गर्दापनि विश्वविद्यालयको र्याङ्किङमा कम देखिनुमा सो कारण भएको विश्वविद्यालयले जनाएको छ ।
टाइम्स हाइयर एजुकेसनले परिवर्तन गरेको अंकभार सम्बन्धी नीतिको असर चीन भारत लगायतका देशहरुका विश्वविद्यालयलाई समेत परेको त्रिविको विज्ञप्तिमा उल्लेख गरिएको छ । टाइम्स हाइयर एजुकेसनले तय गरेको नयाँ मापदण्ड पश्चिमा देशका विश्वविद्याल लक्षित रहेको र त्रिविको स्तर पहिलेकै अवस्थामा रहेको भन्दै त्रिविले विज्ञप्तिमार्फत दाबी गरेको छ ।
