काठमाडौं । मल्टीपर्पस फाइनान्सले असोज २९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले गत साउन भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात् १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये बिक्री नभएको संस्थापक समूह तर्फको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूह तर्फको ६० हजार ६५० कित्ता गरी कूल १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।
लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
इच्छुक लगानीकर्ताले कात्तिक १३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।