गोरखा : गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालयमा प्रभावित क्षेत्रका बासिन्दाले ताला लगाउन खोजेपछि विहिवार झडप भएको छ।

बूढीगण्डकी राष्ट्रिय सरोकार समितिको आह्वानमा बिहानैदेखि सिउरेनीटार पुगेका प्रभावित क्षेत्रका बासिन्दाले कार्यालयमा ताला लगाउन खोजेपछि झडप भएको हो।
प्रभावितले कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले रोकेको थियो। कार्यालयको ढोकामा ताला लगाउन पुगेका सरोकार समितिको टोलीलाई प्रहरीले रोकेपछि कार्यालय परिसरमा रहेका प्रभावितले ढुङ्गा प्रहार गरी कार्यालय तोडफोड गरेका हुन्।
सो झडपमा केही स्थानीयवासी सामान्य घाइते भएको बताइएको छ। सिउरेनीटार क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। घ्याल्चोक, दर्बुङ, फुजेललगायत विभिन्न १५ गाविसका प्रभावित जनता मुआब्जा वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। पूर्व निर्धारित कार्यक्रम अनुसार उनीहरु कार्यालयमा ताला लगाउन सिउरेनीटार पुगेको स्थानीय हरि सिम्खडाले बताए।