काठमाडौं, १५ मंसिर । लगातार ओरालो लागेको नेप्से परिसुचक पछिल्लो ३ दिनमा उत्तरचढाव हुँदै उकालो लागेको छ । घटेर १४ सय अंक मुनि झरेको परिसचक ३ दिनमै उच्च अंक (१३७) ले बढेर बुधबार १६०० अंक माथि पुगेको छ । परिसुचक सोमबार ४०, मंगलबार ४३ र बुधबार ५४ अंकभन्दा बढीले बढेको हो । बुधबार ५४ दशमलब ६५ अंकले बढेर १६०८ दशमलब ३३ अंकमा पुगेको छ । सो दिन १३५ कम्पनीको १५ लाख २५ हजार कित्ता सेयर एक अर्ब ३६ करोड रुपैयाँमा किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी एभरेष्ट बैंकको २० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता सेयर ३ हजार २९८ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, बैंक अफ काठमाडौं लुम्बिनी, शिखर इन्स्योरेन्स र सिद्धार्थ बैंकको ५ करोड भन्दा बढी रुपैयाँको सेयर कारोबार गरेको छ । लाइफ इन्स्योरेन्स कम्पनी नेपाल र मेगा बैंकको ४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
सो दिन बजारमा कारोबार भएका सबै परिसूचकहरु उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३२६ अंकले उक्लिएको छ । होटल समूह सामान्य रहेको छ भने बाकी समूहको सूचकहरु दोहोरो अंकले उकालो लागेका छन् ।
बुधबार नेपाल इन्स्योरेन्स कम्पनी, मितेरी डेभलपमेन्ट बैंक र वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाका लागानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् । राष्ट्रिय बीमा कम्पनी र लक्ष्मी लघुवित्तको सेयर मूल्य बराबर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, ९ प्रतिशत भन्दा बढी कमाउनेमा अन्य ११ कम्पनीका लगानीकर्ताहरु रहेका छन् । सो दिन सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य करिब ४ प्रतिशतले घटेको छ ।