काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रका प्रतिनिधिहरुलाई लोकप्रियताका लागि नकरात्मक तर्क नगर्न भनेका छन् ।
आन्तरिक राजश्व विभागले मंगलबार ललितपुरमा आयोजना गरेको व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री महतले निजी क्षेत्रका केही प्रतिनिधिले लोकप्रिय देखिन नकरात्मक विषय उछाल्ने गरेको भन्दै रोष व्यक्त गरेका थिए ।
कार्यक्रममा अर्थमन्त्री डा. महतले नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलाई लक्षित गर्दै नकरात्मक विषयमा मात्रै धारणा नराख्न भनेका थिए ।
श्रेष्ठले सम्बोधनका क्रममा अर्थतन्त्र झन खस्कदै गएको र नेपालमा मात्र करका दर बढी भएको भन्दै सरकारले कर घटाउनुपर्ने तर्क प्रस्तुत गरेका थिए ।
उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विस्तारै आर्थिक अवस्थामा सुधार आएको बताएको तर, उपाध्यक्षले भने अर्थतन्त्र अर्थतन्त्र झनै खस्किएको बताएको भन्दै मन्त्री महतले महासंघको आधिकारिक धारणा के हो ? भनेर सोधेका थिए ।
‘केही दिन अघि मन्त्रालयमा तपाईको अध्यक्षले पोजेटिभ कुरा गर्नुभएको थियो, तर अहिले तपाईले पुरै नेगेटिभ मात्रै कुरा गर्नुभयो, तपाईले भनेजस्तो नेगेटिभ भैसकेको छैन् अर्थतन्त्र’, उनले भने, ‘पहिला तपाईहरुले संस्थागत आधिकारीक धारण के हो प्रष्ट पार्नुस्, एकै संस्थाका अध्यक्ष र वरिष्ठ उपाध्यक्षले फरक–फरक कुरा गर्दा सबैलाई कन्फ्युज भयो ।’
मन्त्री महतले नकात्मक कुरा गरेर मात्रै लोकप्रिय हुन नसकिने भन्दै अर्थतन्त्रका वास्तविक अवस्थाका बारेमा बझाउनुपर्नेमा जोड दिए ।
‘अहिले बैंकहरुले प्रशस्त तरलता छ भनेका छन् । धेरै रिपोर्टहरुमा आर्थिक अवस्था सुधार भएको भनिएको छ, तर तपाईहरु किन भएको अवस्थाको बारेमा रिपोर्टिङ नै नगरी नराम्रो कुरा मात्र गर्नुहुन्छ’, मन्त्री महतले श्रेष्ठलाई प्रश्न गरे ।

निजी क्षेत्रका कतिपय व्यक्तिहरुले अर्थतन्त्रका विषयमा नकरात्मक कुरा गरेकाले त्यसको असर राजश्वमा पनि देखिएको अर्थमन्त्री महतले बताए ।
‘तपाईहरुले गरेको रिपोटिङका आधारमा मानिसहरुले पैसा निकालेकै छैनन्, जिम्मेवार तहमा बसेकै व्यक्तिबाट नेगेटिभ रिपोर्टिङ हुँदा त्यसको असर राजश्वमा देखियो’, मन्त्री महतले भने ।
करका दर बढी भयो घटाऔँ
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष श्रेष्ठले नेपालको कर प्रणाली दक्षिण एशियाली देशमध्येकै धेरे रहेको भन्दै घटाउनुपर्ने बताएका थिए ।
उनले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत कृषिमा कर लगाएको भन्दै त्यसको प्रत्यक्ष असर उपभोक्ताको भान्छामा परेको बताएका थिए ।
‘देशको अर्थतन्त्रको अवस्थाको बारेमा हामीले साउन लागेसँगै जानकारी पाइसक्यौँ, दशैं तिहार सुरु हुन लागिसक्यो, गत वर्ष साउनदेखि नै एलसी खोल्ने काम सुरु भैसक्थ्यो’, उनले भने, तर, ‘अहिले साउन सकिँदासम्म व्यवसायीहरुले एलसी समेत खोल्न सकेका छैनन्, देशको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन नै गरेन ।’
वरिष्ठ उपाध्यक्षलाई इङ्गीत गर्दै अर्थमन्त्री डा. महतले आयातमुखी अर्थतन्त्रभन्दा पनि उत्पादनलाई सरकारले प्राथमिकतामा राखेको बताए । उत्पादनलाई प्राथमिकता दिँदा सबै क्षेत्रलाई राहत मिल्ने अर्थमन्त्रीको भनाई थियो ।