शुक्रबार साँझ घर फर्कनेक्रममा गाडी चलाईरहेको थिएँ । फोनको रिङ बज्यो । ब्लुट्युथबाट फोन रिसिभ गरेँ । फोन गर्ने दुर्गा प्रसाई रहेछन् । आफूलाई जीतबहादुर, लक्ष्मीबहादुर, चण्डिराज ढकाल, पिउसबहादुर अमात्य लगायतका व्यवसायीसँग तुलना गरेर विकासन्युजले समाचार टिप्पणी प्रकाशन गरेकोमा उनले आक्रोस व्यक्त गरे । साथै, आफू विरुद्ध लाग्नेलाई सिध्याउँदै आएको बताउँदै मलाई पनि सिध्याउन सक्ने धम्की दिए ।
एउटा सामन्तीले निमुखालाई हप्काए जस्तो । उनले मुख छाड्न थाले । दुर्गा प्रसाईसँग संगत गर्नेलाई पक्का थाहा छ उनको दिमाग कस्तो चल्छ, कस्तो बोल्छन् । सुन्न लायक हुन्छ कि हुन्न । उनको धम्की र हप्काई सुन्ने धैर्यता ममा भएन । करिब ३ मिनेट सुनेपछि मैले फोन काटेँ ।
उनले फेरि फोन गरे, मैले उठाइन ।
घरमा पुगेपछि विकासन्युजका सम्पादकीय टिमलाई प्रसाईले दिएको धम्कीबारे जानकारी गराएँ । उक्त धम्कीबारे विकासन्युजमा शुक्रबार साँझै समाचार प्रकाशित भयो ।
प्रसाईको धम्कीबारे प्रकाशित समाचार पढेर धेरै साथी शुभेच्छुकहरुको बेलुकादेखि नै फोन आउन थाल्यो । फाेहाेर चलाएर दुर्गन्ध । मौन बसेको भए हुन्थ्यो भन्ने साथीहरुको सुझाव पनि रह्यो ।
मैले भने- दुर्गा प्रसाईको अगुवाईमा देशभर बैंकका कर्मचारीहरु आतंकित पार्ने काम भएका छन् । कयौंले पिटाई खाएका छन्, केहीको टाउको फुटेको छ । कैयौलाई कालोमोसो दलिएकाे छ । ती घट्नाहरुबारे हामीले निरन्तर समाचार प्रकाशित गर्दै आएका छौं । दुर्गा प्रसाईको अराजकताले सीमा नाघ्दै गएको देखिरहेका छौं । यस्तो परिवेशमा उनको धम्कीले मलाई, अफिसका साथीहरुलाई, मेरो परिवारलाई डर पैदा भएको छ । त्यसैले यो विषय सार्वजनिक गर्नुपर्छ भन्ने हामीलाई लाग्यो । जो कोहीलाई ज्यान मार्ने धक्की उसको स्वतन्त्रता, मानवअधिकार र शान्ति सुरक्षाका विपरित हो। तसर्थ यो समाचारको विषय हो । सञ्चारकर्मीलाई त्यस्तो प्रेस स्वतन्त्रताको विषय पनि जोडिन्छ । तसर्थ यो समाचारको विषय हो र हामीले प्रकाशित गर्यौं ।
शनिबार दुर्गा प्रसाईले समाचारको खण्डनमा सामाजिक सञ्जालमा लेख्दै आफूले ज्यान मार्ने धम्की नदिएको दावी गरे । सँगै, विकासन्युजका प्रधान सम्पादकले बार्गेनिङ गरेको झुटो आरोप लगाए ।
कुतर्क गर्नमा दुर्गा प्रसाईलाई कसैले जित्न सक्दैन । उनले कसलाई के भन्न बाँकी राखेका छन् र ! प्रचण्ड, केपी ओली, ज्ञानेन्द्र शाहलाई त सार्वजनिकरुपमा मनपरी ढंगले झूटो आरोप लगाउने प्रसाईले एउटा पत्रकारबारे झुटो बोल्नु स्वभाविक पनि थियो ।
उनलाई मैले गरेको एसएमएसको गलत ब्याख्या गर्दै केही पत्रकारलाई स्क्रीनसट पठाएका रहेछन् । उक्त स्क्रीनसट के हो, एक एक गरी व्याख्या गर्न चाहन्छु ।

५ दिनको अन्तरालमा मैले प्रसाईलाई ४ पटक एसएमएस गरेको रहेछु, ती सबै फरक फरक मितिमा र फरक फरक सन्दर्भमा लेखिएका छन् ।
पहिलो म्यासेज-इमेल आईडी दिएको छ ।
असार १८ गते साढे ११ बजेतिर अपरिचत नम्बरबाट फोन आयो । उनले शुरुमै परिचय दिए- ‘म दुर्गा प्रसाई । मैले केही पत्रकारहरुसँग भेटघाट कार्यक्रम राखेको छु । विष्णु तारुके, सीताराम बिलासी, रामराजा श्रेष्ठ लगायत आर्थिक पत्रकार बोलाएको छु । एकछिन भेटेर कुरा गर्नु छ, तपाईं आउनु पर्यो।’
‘केही विशेष छ र ?’ मैले जिज्ञाशा राखेँ ।
‘मलाई बैंकहरुले दुःख दिए, माडेहरुले देश डुबाउने भए, हामी मिलेर बचाउनु पर्यो, मलाई आर्थिक पत्रकारहरुको सहयोग चाहियो’, उनले आफ्नो शैली प्रदर्शन गरिहाले ।
मैले मित्र रामराजासँग कुरा गर्ने प्रयास गरेँ, फोन उठेन ।
पुरोहितले जजमानको घरमा पूजा पाठ मात्र गराउँछु भन्न मिल्दैन, किरिया पनि गराउनुपर्छ, श्राद्ध पनि गराउनुपर्छ । पत्रकारले पुलिस, वकिलको मात्र होइन, फटाहा र अपराधिक पृष्ठभूमिका मान्छेहरुको कुरा पनि सुन्नुपर्छ, तथ्यपरक रिपोर्टिङ गर्नको लागि ।
बैंकर्सको कुरा मात्र सुनेर हुँदैन, ऋणीको पनि कुरा सुन्नुपर्छ भन्ने मनमा लाग्यो ।
म गएँ । प्रसाईले ७/८ जना आर्थिक पत्रकारलाई बोलाएका रहेछन् ।
‘मलाई लखेट्न धेरै लागेका छन् । त्यसमा मुख्य पात्र केपी ओली, प्रचण्ड, ज्ञानेन्द्र र रत्नराज बज्राचार्य हुन्’ उनको आक्रोस एकतर्फी पोखिन थाल्यो । ‘आज बैंकहरुले कुल ५५ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । ३८ खर्ब रुपैयाँ ५५ जना माडेले चलाएका छन् । माडेले सबै पैसा विदेश लगिसके । विष्णु पौडेलले घुस खाएको पैसा जति विष्णु अग्रवालमार्फत बिजनेशमा लगानी गर्दै आएका छन् । सबैभन्दा खतरनाक मान्छे पवन गोल्यान हो । गोल्यानले कृषि कर्जा लिएर होटल ह्यात बनायो । उनीहरुले राजनीतिक संरक्षण पाए, मलाई घेराबन्दी गरे । यो कुरा पत्रकारले लेखेनन् । तपाईंहरुले मलाई सघाउनु पर्याे । देश बचाउनु पर्यो ’, उनी धाराप्रवाह बोलिरहे । बीच बीचमा फलानो मान्छे यस्तो, फलानो मान्छे उस्तो भनेर अमर्यादित शब्दमा टिप्पणी गरे ।
बैंकविरुद्ध आफूले हालेका मुद्दाहरु, अदालतले दिएको अन्तरिम आदेशहरु, हिन्दु राष्ट्र अभियानमा आफूले गरेका काम, झापामा स्कूल, मन्दिर बनाइदिएको, ठूला परियोजनामा लगानी गरेको, त्यसमा बैंकहरुले असहयोग गरेको विषयहरु सुनाए । त्यसबारे समाचार लेखिदिन आग्रह गरे ।
आजै एउटा प्रेस विज्ञप्ती जारी हुँदै छ भनेर उनले सबै साथीहरुसँग इमेल आइडी मागे ।
त्यहि बेला मैले उनलाई इमेल ठेगाना एसएमएस गरिदिए । उनको सम्पर्क नम्बर पनि सोही दिन मैले पाएको हुँ ।
दोस्रो म्यासेज- एस आई गट ।
असार १९ गते साढे चार बजे दुर्गा प्रसाईले फेरि फोन गरे । ‘हिजो प्रेस विज्ञप्ती जारी गरेका थियौं, त्यसबारे समाचार विकासन्युजमा आएन’ भने ।
मैले इमेल नपाएको जानकारी दिएँ ।
‘म केटाहरुलाई फेरि भनेर इमेल गर्न लगाउँछु, इमेल पाएदेखि पाएको भन्नु, नपाए मलाई फोन गर्नु है’ उनले भने ।
मैले ‘हुन्छ’ भने ।
लगत्तै प्रसाईको सहयोगी गृमेश गिरीले फोन गरे । इमेल पनि पठाए । मैले दुर्गा प्रसाईलाई एसएमएस गरेँ- ‘एस आइ गट’ ।
तेस्रो म्यासेज- खोइ त ? नाम दिएँ, खबर आएन ? हामीलाई तौलन मात्र कुरा गरेको हो ?
असार २१ गते यो म्यासेज मैले गरेको छु । १८ गतेको भेटघाटमा आफूले बनाएका परियोजनाबारे जानकारी गराउन पत्रकारलाई स्थलगत देखाउन चाहेको र त्यसबारे सत्यतथ्य समाचारहरु प्रकाशन हाेस् भन्ने चाहेको प्रसाई बताएका थिए । एउटा स्कूल बनाएको र त्यसको उद्घाटन कार्यक्रम पनि रहेको उनले बताएका थिए । ‘तपाईंहरु गएर स्थलगत रिपोर्टिङ गरिदिनु पर्यो’ उनले भनेका थिए ।
१९ गते गृमेश गिरीले विकासन्युजबाट को को जानुहुन्छ, नाम दिनु भनेर फोन गरेका थिए । मैले अफिसका साथीहरुसँग सल्लाह गरेर एक मित्रको नाम पठाएको थिएँ ।
उताबाट जानकारी आएन । जसको नाम पठाएको थिएँ, ती साथी अफिसको सबै व्यवस्थापन मिलाएर तयारी अवस्थामा बसेका थिए । दुर्गा प्रसाईको व्यवस्थापनमा एक टोली पत्रकार झापा हिडेपछि हाम्राे साथीलाई नलगिएको थाहा पायौं ।
त्यही दिन अर्थात असार २१ गते मैले दुर्गा प्रसाईलाई म्यासेज गरेँ- ‘हामीलाई तौलन मात्र कुरा गरेको हो ?’
चौथो म्यासेज- प्लिज टेक्स्ट मी ।
असार २२ गते २ः३५ बजे विकासन्युजमा एउटा समाचार प्रकाशित भयो- ‘अर्बमा ठगी, करोडमा दान’ शीर्षकमा । दुर्गा प्रसाईले फोन गरेर उक्त समाचार हटाउन भने ।
प्रकाशित समाचार हटाउन मिल्दै नमिल्ने मैले बताएँ । समाचारमा उनका भनाईहरु पनि राखिएका थिए ।
उनले फेरि पटक पटक फोन गरे । मैले त्यति बेला भनेको हुँ- प्लिज टेक्स्ट मी’
त्यसपछि उनले म्यासेज गरे ‘साह्रै राम्रो लेख्नु भो ।’
होटलमा भेट्न अस्वीकार
प्रसाईले असार २३ गते शनिबार बिहानदेखि बेलुकासम्म ९ पटक फोन गरे । मैले उठाइँन ।
फेरि २४ गते आइतबार बिहानै प्रसाईले फोन गरेर भने- ‘तपाईंसँग भेटेर कुरा गर्न चाहान्छु ।’
मैले दिउँसो अफिसमै आउन भनेँ ।
उनले मलाई होटलमा आउन प्रस्ताव गरे ।
‘होटलमा आउँदिन’ मैले भनेँ ।
त्यसाेभए बिहान ९ बजे अघि नै मेरो अफिसमा आउने कुरा गरे ।
मैले १० बजे मात्रै अफिस पुग्छु भने ।
‘१० बजे बैंकमा मिटिङ छ, मिटिङ सकेपछि तपाईंको अफिसमा आउँछु’, प्रसाईले भने ।
आइतबारको नियमित सम्पादकीय बैठकमा दुर्गा प्रसाईले बारम्बार फोन गरेको, समाचार हटाउन दवाब दिएको विषय जानकारी गराएँ । ‘आज उनी अफिसमा आउन सक्छन्, ती मान्छे अराजक छन्, उनले जे पनि गर्न सक्छन्, सबै जना सचेत रहनु होला’ मैले सबै साथीहरुमाझ यो कुरा राखेको थिए ।
प्रसाईं अफिस आएनन् । मैले पनि वास्तै गरिन ।
मैले उनलाई थर्काउने, धम्क्याउने, वार्गेनिङ गर्ने केही पनि गरेको छैन । विकास मिडियाको १७ वर्षको इतिहासमा व्यवसायिक सहकार्यको बारेमा पनि उनीसँग कहिल्यै कुरा भएको छैन ।
विकासन्युजको अर्काइभमा देख्न सकिन्छ की दुर्गा प्रसाईको नाम जोडेर ६८ वटा समाचार प्रकाशित भएका रहेछन् । त्यसमा उनले गरेका राम्रा काम पनि छन्, नराम्रा काम पनि छन् । पाठक जो कोहीले हेर्न सक्नुहुनेछ ।
राम्रा समाचार प्रकाशित हुँदा ‘मैले राम्रो काम गरेँ, पत्रकारले छापे’ भन्दै फूरुङग हुने, र आफूले गलत काम गरेको बारेमा समाचार प्रकाशित भएमा ‘बार्गेनिङ गर्यो, कुरो मिलेन, समाचार लेख्यो’ जस्ता लाञ्छना लगाउने अभ्यास नेता, व्यापारी, प्रशासक सबैमा मौलाउँदै गएको छ । दुर्गा प्रसाईले जानेको पनि त्यहिँ थियो, गरे त्यहिँ ।
सुन्दरी देखाएर फसाउने दाउँ
आइतबार र सोमबार (हिजो र अस्ति) दुई दिनमा दुर्गा प्रसाईले मलाई ह्वाटस्एपमा ४१ पटक सन्देश पठाएका छन् ।
आइतबार ३२ वटा सन्देश पठाएका थिए, सोमबार ९ वटा सन्देश पठाएका छन् । यो लेख तयार गर्दै गर्दा मंगलबार पनि बिहानैदेखि उनका सन्देश आउने क्रम जारी छ ।
ती कुनै पनि सन्देशमा मैले जवाफ दिएको छैन । एकतर्फी रुपमा दुर्गा प्रसाईले पत्रकारलाई के सन्देश दिएका होलान् ?
रोचक यो छ कि उनले सुन्दरीहरुको फोटो र भिडियोहरु पठाइरहेका छन् । तनावपूर्ण सम्बन्ध भएको अवस्थामा एउटा ४० वर्षे जवान पत्रकारलाई सुन्दरीहरुको फोटो र भिडियोहरु दुर्गा प्रसाईले किन पठाईरहेका छन् ? समाज र मनोविज्ञान बुझेको जो कोहीले पनि अनुमान गर्न सक्छ- ‘लोभ्याउन, फसाउन, जालमा पार्न ।′
दुर्गा प्रसाईको विवादास्पद छवि र सम्भावित जोखिम हेरेर नै उनको प्रस्तावअनुसार असार २४ गते होटलमा मिटिङ बस्न मैले अस्वीकार गरेको थिएँ ।
ह्वाटस्एपमा बिरालो र मुसाको भिडियोहरु पनि पठाएका छन् । सायद उनले आफूलाई बिरालो र पत्रकारलाई मुसाको संकेत गर्दै मलाई थर्काउन यस्तो सन्देश पठाएको हुन सक्छ ।
उनले देख्दै बलिया, आक्रामक युवाहरुको फोटो र भिडियोहरु पठाएका छन् । त्यसमार्फत दुर्गा प्रासाईले मलाई असुरक्षाको सन्देश र दवाब दिन खोजेको देखिन्छ ।
एकाउन्ट ह्याकको जोखिम
दुर्गा प्रसाईले मलाई पठाएका सन्देशहरुमा टिकटक, फेसबुक, रिलस्का लिङ्कहरु पनि छन् । यसको अर्थ बुझ्न मैले साइबर सेक्युरिटीको विषयमा जानकार एक मित्रसँग जिज्ञासा राखेको थिएँ ।
उनले मलाई डरलाग्दो परिदृष्य सुनाए । ती लिङ्कहरुमा क्लिक गर्दा मेरो व्यक्तिगत सूचनाहरु उनले लिन सक्छन् । फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, टिकटकका पासवर्डहरु प्रसाईले लिन सक्छन् । त्यसको दुरुपयोग गरेर मैले उनीमाथि बार्गेनिङ गरेको रेकर्डहरु बनाउन सक्छन् । त्यसैको आधारमा मलाई फसाउने प्रयास गर्न सक्छन् । त्यस्तै, बैंक एकाउन्टको बारेमा पनि जानकारी लिन सक्ने र बैंक खाताको दुरुपयोग हुन सक्ने जोखिम हुन्छ ।
मूर्खदेखि दैव पनि डराउँछन् । उल्लेखित् यावत जोखिमहरुबाट मैले असुरक्षित महशुस गरेको छु । भलै अराजकतावादीसँग हार खाएर हात उठाएको छैन ।