
नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को अधिवेशन यहि असार ३० गते हुन लागिरहेको छ । अधिवेशनले संस्थाको आगामी नीति तथा कार्यक्रम सहित नयाँ नेतृत्व समेत निर्वाचन गर्नेछ । सोही अधिवेशनबाट नेतृत्वमा आउनका लागि पदाधिकारी लगायत कार्यसमिति सदस्यहरुको पदमा धेरैजना आकांक्षीहरुले आफ्नो उम्मेदवारीको अनौपचारिक घोषणा गरेका छन् । त्यस्तै, इक्यानको आगामी नेतृत्व अध्यक्ष पदका लागि विगतमा एकपटक अध्यक्ष भैसकेका शैक्षिक परामर्श व्यवसायी विष्णुहरी पाण्डेले पनि उम्मेदवारी घोषणा गरेका छन् । प्रस्तुत छ उनै पाण्डेसँग विकासन्युजका प्रतिनिधिले समसामयिक विषयमा गरेको कुराकानीको छोटो अंश :
नेपाल शैक्षिक परामर्श संघ(इक्यान)को आगामाी अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार हुने घोषणा गर्नुभएको छ । विगतमा एक कार्यकाल नेतृत्व गरिसक्नुभएको तपाईंले फेरि किन अध्यक्ष बन्ने चाहना राख्नुभयो ?
म इक्यानमा २०१८ देखि २०२० सम्म अध्यक्ष बनेको थिएँ । मैले त्यतिबेला यस्ता गैरनाफामुलक संस्थाहरुमा प्रत्येक २÷२ वर्षमा अधिवेशन र प्रत्येक वर्षमा साधारणसभा हुनुपर्ने ट्रेन सेट गरेको थिएँ । त्यसपछि पनि साथीहरुको तर्फबाट मलाई अध्यक्षको लागि पुनः आउनुपर्यो भनेर माग आएको थियो, तर मैले निवर्तमान अध्यक्ष र अगाडिको अध्यक्षले आउने इच्छा गरेपछि छाडेँ ।
मैले त्यतिबेला तीनचारवटा विषयहरुलाई निरन्तर उठाएको थिएँ । एउटा नेपालमा विदेशी लगानी भित्रनुहुँदैन भन्ने मुद्दा उठाएको थिएँ । त्यो अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ । त्यसलाई टुंगोमा पुर्याउनुपर्नेछ । अहिले महामारीको पनि कारण हुनसक्छ, तर, बल्ल साढे तिनवर्षमा साधारणसभा भइरहेको छ । बेथितिहरुलाई चिर्नुपर्छ, अब फरक ढंगले लैजानुपर्छ, इक्यान हिजो भन्दा आज ठूलो भएको छ, यसलाई नेता संगठनको रुपमा विकास गर्नुपर्छ भनेर १२ जना सल्लाहकार, पूर्व अध्यक्ष र सबै शाखाका अध्यक्षहरुले तपाईं अब फेरि नेतृत्वमा नआई भएन, कम्तिमा यो इक्यानलाई भाइब्रेन्ट बनाइदिनुपर्यो, विदेशी लगानीलाई रोक्दिनुपर्यो र एयरटेक कम्पनीहरुलाई रोक्नपर्यो भनेर आग्रह गर्नुभएको छ ।
त्यस्तै, इक्यानको एउटा घर होस्, जहाँ बसेर विभिन्न अनुसन्धानको कामहरु गर्न सकिन्छ । १०/१५ वर्ष अगाडिदेखि इक्यानको आफ्नै घर होस भनेर जुन सपना त्यो त्यसलाई निरन्तरता दिनुपर्छ । नेता संगठन भनिसकेपछि हामीलाई गभर्न गर्ने शिक्षा मन्त्रालयसँग नेटवर्किङमा बस्नुपर्ने, निर्देशिकाले पुगेन अब ऐनमा नै यो विषयलाई समावेश गरेर लैजानपर्ने र समय–समयमा मन्त्री सचिवहरु परिवर्तन हुँदा व्यवसायीहरुले दुःख पाउनुपर्ने जुन समस्या छ, त्यसलाई अन्त्य गरेर लैजानपर्ने र यसलाई प्रतिष्ठित व्यवसायको रुपमा स्थापित गर्नको लागि मैले उम्मेदवारी दिएको हुँ ।
पछिल्लो समयमा शैक्षिक परामर्श व्यवसायीहरुको बीचमा कस्ता समस्याहरु विकास भइरहेका छन्, जसको समाधानको पहल आगामी नेतृत्वले गर्छ ?
माथि नै मैले भनेका विषयहरु नै शैक्षिक परामर्श व्यवसायीहरुका समस्या हुन् र अबको नेतृत्वले यी सबै समस्याहरुलाई हल गरेर लैजाने विषयमा नेतृत्व गर्छ ।
खासगरी शैक्षिक परामर्श व्यवसायीहरु अपारदर्शी भए र कतिपय सन्दर्भमा म्यानपावर व्यवसायी जस्ता पनि भए भन्ने आरोप छ । इक्यानको भूमिका पनि पुगेन नी ?
म अध्यक्ष हुँदा तत्कालीन कार्यसमितिले शिक्षा मन्त्रालयसँग नजिक रहेर समन्वय गर्ने, शिक्षा मन्त्रालय भनेको नियमन गर्ने निकाय हो, नियम बनाउँदाखेरी हामी स्टेकहोल्डरहरुलाई सोध्दै नसोधी बनाउने र अनि कार्यान्वयन गर भन्दा सम्भव छैन । स्टेकहोल्डरसँग बसेर एकीकृत योजना बनायो भने त्यसलाई कार्यान्वयन गर्न इक्यान तयार छ । यदि हामी आँफैसँग पनि त्यस्ता केही फोहोरमैला रहेछन भने त्यसलाई क्लिन गरेर शिक्षा जस्तो क्षेत्रमा काम गर्ने प्रतिष्ठित संस्थाको रुपमा अगाडि बढोस भन्ने चाहना छ । त्यसको लागि आगामी नेतृत्वले कदम चाल्न पनि तयार छ ।
अहिलेसम्मको अवस्थामा इक्यानको आगामी नेतृत्वका लागि चार जनाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । यी प्रतिस्पर्धीहरुको बीचमा तपाईंको बिजयीको आधार के छ ?
मैले माथि भनेका विषयहरु, मैले मेरो २० महिने २० दिनको कार्यकालमा गरेका कामहरु मेरो इनिसियसन र निर्णय लिने क्षमता नै मेरो बिजयीका आधारहरु हुन् । अर्को भनेको मेरो कार्यकालमा एकसय ७३ वटा इतिहासमा नै धेरै सदस्यता थप भएको थियो । यसपटक मैले तीनसयवट थप गर्ने योजना बनाएको छु । सो सँगै यो क्षेत्रमा भएका समस्याहरु र त्यसको समाधानको उपायहरुमा मैले विगतको कार्यकालमा जे गरेँ त्यसको निरन्तरता नै मेरो जित्ने आधार हो ।