अध्यक्षको लहलहैमा लाग्दा सहकारीका सय बढी सञ्चालक फसे, बैंकबाट ऋण लिन पनि नपाउने

<p>काठमाडौं । नेपालका ठूल्ठूला सहकारीहरु डुब्ने । सञ्चालकहरु फरार हुने । पक्राउ पर्ने । जेल जाने र बचतकर्ताहरु विरोधमा उत्रिने अभ्यास नौलो होइन । ठूला सहकारी ठगीका घटनामा जोडिएका गुण कोअपरेटिभ होस्, आरेन्टल सहकारी होस् वा सिभिल र अहिलेको शिवशिखर नै किन नहोस् । बचतकर्ता ठगिने र विकल्पमा माइतीघरमा विरोध गर्ने सहकारी क्षेत्रका लागि यो [&hellip;]</p>

काठमाडौं । नेपालका ठूल्ठूला सहकारीहरु डुब्ने । सञ्चालकहरु फरार हुने । पक्राउ पर्ने । जेल जाने र बचतकर्ताहरु विरोधमा उत्रिने अभ्यास नौलो होइन । ठूला सहकारी ठगीका घटनामा जोडिएका गुण कोअपरेटिभ होस्, आरेन्टल सहकारी होस् वा सिभिल र अहिलेको शिवशिखर नै किन नहोस् । बचतकर्ता ठगिने र विकल्पमा माइतीघरमा विरोध गर्ने सहकारी क्षेत्रका लागि यो एउटा परम्पराका रुपमा नै स्थापित भइसकेको छ ।

पछिल्लो समय एउटा नयाँ अभ्यास पनि थालनी भएको छ कि सहकारीका सञ्चालकहरु नै सडकमा उत्रिने । उनीहरुले सहकारीमा मात्रै नभई अर्थतन्त्रमा नै समस्या भएको र तत्काल बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने भन्दै दबाब दिन सडकमा नै उत्रिए । जुन नेपाली सहकारी क्षेत्रका लागि नयाँ अभ्यास हो । जसले बचतकर्ताको रकम दुरुपयोग गरेको छ, उसैले सडकमा उत्रिनु कत्तिको जायज वा नाजायज हो । त्यो आफैमा अनुत्तरित विषय हो । तर, बचतकर्ताको अर्बौं रकम जम्मा गर्ने, त्यसलाई घरजग्गा र सेयरमा लगानी गरेर पछि तिर्न सक्दिन भन्नु अपराध हो । यद्यपि, त्यो अपराध भने सबै सहकारीले गरेका छैनन् । गर्नेहरु एकदिन जालमा पर्ने निश्चित छ ।

सहकारी विभागका पूर्व रजिष्ट्रार रुद्र पण्डितले एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘व्यक्ती छिटो धनी बन्न चाहन्छ भने उसले सहकारी खोल्छ, बचतकर्ताको रकम सेयर र घरजग्गामा लगानी गर्छ र छोटो समयमै राम्रो नाफा कमाउँछ, यो प्रवृति जताततै छ, हामीले यो क्षेत्रको सुधार नै गर्न सकेनौं ।’

पण्डितले भनेजस्तै देखिएको छ सहकारीमा । रातारात अर्बपति बन्ने व्यक्तीको व्यक्तीगत महत्वकांक्षाले त्यो व्यक्तीलाई मात्रै होइन सो व्यक्तीसँगै सहकारीका अन्य सञ्चालकहरु फसेका छन् । बचतकर्ताको रकम हिनामिना गरेर त्यो असर सहकारी संस्थाका बचतकर्तालाई मात्रै परेको छैन सहकारीका सञ्चालक पनि त्यो चक्रव्युमा फसेका छन् । यस्तै उहादरण अहिले समस्यामा परेका अधिकांश सहकारीमा देखिएको छ ।

गत बैशाखमा काभ्रेको बनेपा नगरपालिका–७ स्थित दौपदा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार गौतमले सहकारीका बचतकर्ताको रकम हिनामिना गरेर फरार भए । अध्यक्ष गौतम परार भएको भन्दै संस्थाका सञ्चालकहरु न्याय माग्दै विभिन्न निकायहरुमा पुगे । गौतमले सहकारीका बचतकर्ताको १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि जिल्ला प्रशासन कार्यालयदेखि मन्त्रालयसम्म पुगे । उनीहरुले आफुहरु सञ्चालकमा भएपनि अध्यक्षले नै सबै काम एकलौटी ढंगले गर्ने र रकम पनि मनोमानी किसिमले प्रयोग गर्ने गरेको आरोप लगाएका थिए ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) अहिले आधा दर्जन बढी सहकारीहरुमाथि अनुसन्धान गरिरहेको छ । सिआईबीले सिभिल, भरोसा, प्रज्ञान, शिवशिखर, तुलसी, एकता बुद्ध र देउराली सहकारीका सञ्चालकमाथि अनुसन्धान गरिरहेको छ । ती सबै सहकारीमा अध्यक्ष नै हाबी भएर समस्या आएको हो । जसको मारमा ती सहकारीका सञ्चालकहरु परेका छन् ।

सिभिल सहकारीका पूर्व अध्यक्ष तथा सञ्चालक समेत रहेका तामाङले सहकारीमा एकलौटी निर्णय गरेर बचतकर्ताको अर्बौं रकम हिनामिना गरेकै आरोपमा अध्यक्ष केशबलाल श्रेष्ठसहित अन्य सञ्चालकहरु पक्राउ परे । अहिले उनीहरु छुटिसकेका छन् भने तामाङ र उनकी श्रमती सृजना शाक्य कारागारमा छन् । तुलसी सहकारीका अध्यक्ष केदार शर्मा र उनकी श्रीतमी गिता शर्माँगै दुई जना सञ्चालक पनि अहिले प्रहरीको नियन्त्रणमा छन् । शर्माको पनि तुलसी र शिवशिखर सहकारीमा हालीमुहाली थियो । अध्यक्ष शर्माकै कारण अन्य दुई जना सञ्चालकहरु पक्राउ परे । धेरैले दुःख पाए ।

यति मात्रै होइन अध्यक्षले एकलौटी रुपमा काम गरेर अन्य दर्जनौं सहकारीका सञ्चालकहरु पनि समस्यामा परेका छन् भने उनीहरुले बैंकिङ प्रणालीमार्फत् काम नै गर्न नसक्ने अवस्था सिर्जना भएको छ । कतिपय सहकारीका सञ्चालकहरु अध्यक्षकै सिको गरेर रातारात धनाड्य हुने महत्वकांक्षाले फसेका छन् । सहकारीका सदस्यहरुको रकम फिर्ता गर्न सकेका छैनन् । परिणामस्वरुप उनीहरु धमाधम कालोसूचीमा पर्न थालेका छन् ।

बैशाखयता २७ सहकारीका अध्यक्ष र सञ्चालकहरु कालोसूचीमा परेका छन् । २७ सहकारीका २७ जना अध्यक्षको मनोमानी र आफुखुसी निर्णयले सय बढी सञ्चालकहरु समस्यामा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार बैशाख यता २७ सहकारीका सय बढी सञ्चालकहरु कालोसूचीमा परेका हुन् ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा बचत तथा ऋण सहकारी, बहुद्देश्यीय सहकारी र कृषि सहकारी संस्था लगायत छन् । कर्जा सूचना केन्द्रले तुलसी सहकारीका अध्यक्ष समेत रहेका शिवशिखरका सञ्चालक केदार शर्मासहित अमिशराज भण्डारी, लिलानाथ गौतम, पुस्कर मल्ल, राजु शखरकर्मी, सुशिल बानियाँ, तेज बहादुर तामाङ, रमेश न्यौपाने, युवराज थापा, विष्णु प्रसाद भुषाल र सविना न्यौपाने कालोसूचीमा राखेको छ । यी दुइटै सहकारीमा शर्माको एकलौटी निर्णय चल्थ्यो । उनले शिवशिखर सहकारीको ‘डमी’ अध्यक्षको रुपमा पूर्व कर्मचारी सुशिल बानियाँलाई जिम्मेवारी दिएका थिए । अहिले ती सबै अध्यक्ष र सञ्चालकहरु प्रहरीको निगरानीसँगै बैंकिङ प्रणालीमार्फत् पनि कारोबार गर्न नसक्ने अवस्थामा पुगेका हुन् ।

यस्तै, सुमेरु बचत तथा ऋण सहकारी संस्थामा भरत महर्जनको राज चल्थ्यो । उनको कहानी पनि केदार शर्माको भन्दा कम छैन । अहिले उनी बेलायत पलायन भएका छन् । तर, उनको सहकारीमा ठूलो संकट देखिएको छ । उनले गलत गरेपछि सो सहकारीका सञ्चालकहरु अहिले समस्यामा परेका हुन् । सहकारीमा समस्या देखिएपछि उनले हेमराज दाहाललाई अध्यक्ष बनाएका थिए । कर्जा सूचना केन्द्रले अध्यक्ष दाहाल, विकास महर्जन, विनोद आचार्य, दिलिपकुमार डंगोल, रामकृष्ण अवाले, रमेश महर्जन, सुनिल डंगोल र स्वच्छन्द मानन्धरलाई कालोसूचीमा राखेको छ ।

काठमाडौंको लाजिम्पाटस्थित कैलाशचौरमा रहेको उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था समस्यामा परेको छ । श्रीमान् विपिन शर्मा र श्रीमती प्रतिभा निरौला शर्मा आलोपालो गर्दै अध्यक्ष र व्यवस्थापक भएर काम गर्दै आएका छन् । अहिले सो संस्थाको अध्यक्षका रुपमा प्रतिभा निरौला छन् । विपिनले सहकारीको पैसाले उपलब्धि प्रकाशन सञ्चालन गरेका छन् । सहकारीकै नाममा उनीहरुले उपलब्धि खाद्य भण्डार पनि सञ्चालन गर्दै आएका छन् । यो सहकारीमा श्रीमान र श्रीमतीकै कारण अनिल प्रसाद खनाल, देवराज शर्मा, योगराज कँडेल र अध्यक्ष निरौला नै कालोसूचीमा परेका छन् ।

शान्ति सन्देश बचत तथा ऋण सहकारी पनि कालोसूचीमा छ । सो सहकारीका अध्यक्ष राजेन्द्र कुमार कार्कीसँगै मुरारी कोइराला र शिवप्रसाद घिमिरे कालोसूचीमा परेका छन् । सो सहकारीको सचिव मुरारी कोइराला छन् ।

पश्चिमोदय बचत तथा ऋण सहकारीका अध्यक्ष देवराज न्यौपानेको एकलौटी निर्णयले अहिले सो सहकारी पनि समस्यामा छ । अध्यक्ष न्योपानेसहित सचिव सुस्मा सापकोटा, कृष्ण बहादुर रेग्मी, राजकुमार तामाङ र रमिला बस्नेत कालोसूचीमा परेका छन् । सहकारीका अध्यक्षले गरेको गल्ती अहिले अन्य सञ्चालकले पनि भोगिरहेका छन् ।

यस्तै, ग्लोबल बहुमुखी सहकारीका अध्यक्ष भोलाप्रसाद यादवको एकलौटी निर्णयले सो सहकारीका बचतकर्तासँगै सञ्चालकहरु पनि समस्यामा परेका छन् । अहिले कर्जा सूचना केन्द्रले लिलाकुमारी ठाकर र सविता गौतम पनि केन्द्रको कालोसूचीमा राखेको छ ।

जेष्ठ सहकारीका अध्यक्ष इन्दिरा अधिकारीसँगै कार्यकारी प्रमुख मधुसुदन पाठकको एकलौटी निर्णयले सो सहकारी पनि कालोसूचीमा परेको छ । सो सहकारीका सञ्चालकहरु बद्रि प्रसाद हुमागाईं र निशा रिमाल कार्की पनि कालोसूचीमा परेका छन् । कार्यकारी प्रमुख पाठक हाँस्यब्यङ्गय कालाकार पनि हुन् ।

चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगेन्द्र बहादुर रिमालको एकलौटी निर्णयले अहिले सो सहकारीका सदस्यहरुले बचत फिर्ता पाउन सकेका छैनन् । त्यसको मारमा अन्य सञ्चालकहरु पनि परेका छन् । सो सहकारीका सञ्चालक ढुण्डिराज गौतम र कोषाध्यक्ष कृष्ण ज्ञवाली पनि कालोसूचीमा परेका छन् ।

सर्वोतम बहुउद्धेश्यिय सहकारी संस्था पनि बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको छ । काठमाडौंको बागबजारमा रहेको यो सहकारीका अध्यक्ष विनोद खनाल हुन् । उनको लहलहैमा लागेर अन्य सञ्चालक पनि फसेका छन् । सो सहकारीकी देवकी सुनुवार पनि कालोसूचीमा परेकी छन् ।

जीवनदीप बचत तथा ऋण सहकारीका अध्यक्ष हुन् छत्र बहादुर बस्नेत । उनकै कारण सो सहकारीका सञ्चालक इन्द्रवती विष्ट र मनिषा श्रेष्ठ पनि कालोसूचीमा परेका छन् । नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको सन्ध्या बचत तथा ऋण सहकारीका सञ्चालक मनबहादुर राईले बचतकर्ताको रकम घरजग्गा र सेयरमा लगाउँदा त्यसको मारमा सदस्यहरु सँगै सञ्चालकहरु पनि परेका छन् । उनको कारणले नै खेम कुमारी राई र रामकृष्ण उप्रेती पनि अब कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने अवस्थामा पुगेका हुन् ।

श्री उमा गौरी कृषि सहकारी संस्थामा सम्भु प्रसाद रौनियार अध्यक्षको रुपमा काम गरिरहेका छन् । उनले पनि सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको बुझिएको छ । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सो सहकारीका सञ्चालक आलम अन्सारी मिया र दिलमाया राई पनि कालोसूचीमा परेका छन् ।

सिद्धिविनायक बचत तथा ऋण सहकारीको अध्यक्षको रुपमा कुल बहादुर बोहराले काम गरिरहेका छन् । उनीसँगै विनोद सुवेदी र निर्मल खत्री पनि कालोसूचीमा परेका छन् । यस्तै, नाता सहकारीका अध्यक्ष अम्बर थापा र अर्जुन थापा पनि कालोसूचीमा परेका छन् ।

विद्याधरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेत्र घिमिरेको कारण सो संस्थाका सञ्चालकहरु मारमा परेका छन् । सो सहकारीका सञ्चालकहरु विश्वराम कार्की, चन्द्रमणी कट्टेल, मनिषा ढुङ्गाना, नमिता राई, नेत्र अधिकारी, रन्धोज विश्वकर्मा र रिकेश शाक्य पनि कालोसूचीमा परेका छन् ।

प्रारम्भिक बचत तथा ऋण सहकारीका संस्थाका सञ्चालकहरु गणेश न्यौपाने, मिकमार तामाङ, पुजा न्यौपाने, आशिस भुषाल, चन्द्रकला मिश्र, गिता भुषाल, जितेन्द्र बासुकला र सरिता केसी पनि कालोसूचीमा परेका छन् । आस्था बचत तथा ऋण सहकारीका सञ्चालक अनिल खड्का, कुम्भराज जोशी, सुनिल खड्का र जिवन बुढाथोकी पनि कालोसूचीमा परेका छन् ।

समावेशी श्रमिक बचत तथा ऋण सहकारीका चन्द्रबहादुर थापा, दलबहादुर बिष्ट, फुलमाया गोले, रञ्जिव सिंह, रिनु महर्जन, सविता श्रेष्ठ र सरस्वती गोले पनि बैंक तथा वित्तीय क्षेत्रको कालोसूचीमा परेका छन् । सम्वद्र्धन सहकारी चन्द्रिका खड्का, दिनेश कालिकोटे र प्रकाश लकाई पनि कालोसूचीमा परेका छन् ।

यस्तै, राजधानी बहुउद्धेश्यिय सहकारीका विकास बिसी र सञ्जिव पछाईले पनि अब बैंक तथा वित्तीय क्षेत्रबाट ऋण पाउने छैनन् भने शुभकार्य सहकारीका विवश मिन्धुन, गणेशमान रञ्जित, गौरी कुवँर, राजेश लामा, सान्त्वना मलाकार, सुमन कार्की र तेजु शाहु पनि कालोसूचीमा छन् ।

सामुदायिक विकास कृषि सहकारीका एञ्जिला देवी, बबिता शाह, विनितादेवी शाह, कविता कुमारी देवि, किरण कुमारी महरा, रामटोलर यादव र रेणु कुमारी पनि कालोचूीमा छन् भने नागरिक कल्याण सहकारीका भक्त बहादुर बुढाथोकी, भिमसेन बहादुर तामाङ, बीमा महर्जन, हस्त रावत, केशव श्रेष्ठ, शिलप्रसाद खनाल र कुमार बहादुर बुढा पनि कालोसूचीमा परेका छन् ।

मोबाइल सहकारीका इश्वरी प्रसाद गौतम र राजाराम साख पनि कालोसूचीमा छन् भने सुमार्ग सहकारीका गणेश कार्की र सन्ध्या थापा पनि कालोसूचीमा परेर बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाउने अवस्थामा पुगेका छन् ।

कर्जा सूचना केन्द्रका अपरेशन डिभिजन प्रमुख सुशिल जोशीले पछिल्लो समय कालोसूचीमा पर्ने सहकारीको संख्या बढ्दै गएको बताए । उनले बैंक तथा वित्तीय संस्थाबाट सिफारिस भएकार आएका व्यक्ती तथा संस्था नै कालोसूचीमा पर्ने बताए । उनका अनुसार कालोसूचीमा पर्ने सहकारीसँगै निर्माण क्षेत्रका कम्पनीहरु बढिरहेका छन् ।

सहकारी विभागका उपरजिष्ट्रार तथा सूचना अधिकारी टोलराज उपाध्याय अध्यक्षको नियत खराब भएपनि अन्य सञ्चालकहरुले त्यो गल्ती गर्ने स्पेश दिन नहुने धारणा राख्छन् । उनले एउटाको गल्तीले सबैलाई समस्या सिर्जना हुने भएकोले त्यस विषयलाई बुझेर सजकताका साथ काम गर्नु पर्ने बताए ।

सहकारीको अध्यक्षले तथा एउटा सञ्चालकले गल्ती गरे पनि त्यसको भागेदार सबै हुनु पर्छ, गल्ती गरेपनि नगरे पनि भोली सबैले कानुनी कठघरामा उभिनु नै पर्छ, एउटाले गल्ती गरिरहेको छ भने त्यसलाई ढाकछोप गर्ने भन्दा पनि सच्याउन तर्फ लाग्नु पर्छ,’ उनले भने ।

Share News