काठमाडौं, ६ मंसिर । गत साउन १२ गते १८८१ विन्दुमा पुगेको नेप्से परिसूचक मंसिर ५ गते १५९९ अंकमा झ्यो । साढे तीन महिनामा नेप्से परिसूचिक २८२ अंकले घटेको छ । विहीबार एकै दिने नेप्से ४० अंकले घट्यो भने आईतबार एकै दिन ५८ अंकले घट्यो ?

बजार किन घटिरहेको छ ?
मर्चेन्ट बैंकर्स संघको अध्यक्ष प्रविणरमण पराजुली तीन वटा कारण दिन्छन् । ‘सेयर आपूर्ति बढ्यो, तरलताको अभाव भयो, बजार अझ घट्छ भन्ने डरले आत्तिएर सेयर बेच्न थाले ।’
बजार अझै निकै घट्न सक्ने अनमान गर्दै नाम उल्लेख नगर्ने सर्तमा सेयर बजारका ठूला मध्ये एक लगानीकर्ताले भने–‘सेयर बजार आगामी एक देखि ढेड वर्षको लागि निकै पीडादायक हुनेछ ।’ बैंकको व्याजदर बढ्नु नै सेयर बजारको लागि सबैभन्दा ठूलो पीडाको विषय भएको उनले बताए ।
‘बैंकमा तरलता (लगानी योग्य पुँजी) बढी हुँदा बैंकर्सहरु सेयर बजारका ठूला लगानीकर्तालाई ऋण लिईदिनु अनुरोध गर्दै आउँछन् । उद्योगलाई ८ प्रतिशत व्याजका कर्जा दिईरहेका छन्् भने सेयरमा लगानी गर्न ६ प्रतिशत व्याजदरमा कर्जा दिन तयार हुन्छन्’ आफ्नो अनुभव सुनाउँदै उनले भने–‘जब बैकमा तरलताको कमी हुन्छ, त्यतिबेला उद्योगलाई १० प्रतिशतमा कर्जा दिन तयार हुन्छन्, सेयरमा लगानी गर्नेसँग १२ प्रतिशत व्याज लगाउँछन् ।’
उनले भने उद्योगलाई २ प्रतिशत व्याज बढाउँदा पुँजीबजारका लगानीकर्तालाई ६ प्रतिशत व्याज बढाउने बैंकिङ कल्चर नै सबैभन्दा ठूलो समस्या भएको उनको किटानी छ । पुँजीबजार प्रति बैंकर्स, नियामक, नीति निर्माताको सोचमा परिवर्तन नआएसम्म पुँजी बजारमा चरम अस्थिरता हुने उनको तर्क छ ।
बैंकले निक्षेपको व्याजदर बढाएपछि संस्थागत लगानीकर्ता तथा ठूला लगानीकर्ता निक्षेपतर्फ आकर्षित भएको छन् । बैंकहरुले मुद्दती निक्षेपमा ८ प्रतिशत व्याज दिने सूचना प्रकाशित गरेपनि ठूला निक्षेपकर्तालाई ९ प्रतिशतसम्म व्याज दिन थालेको बताईएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विवेक झा भन्छन्–‘बैंकले ८/९ व्याज दिँदा लगानीकर्ता निक्षेपमा नै आकर्षित हुन्छन् । मुद्दती खातामा राखेको पैसा जोखिम हुँदैन । जोखिम विना ८/९ प्रतिशत रिर्टन आउँछ भने उच्च जोखिम मोलेर किन सेयरमा लगानी गर्ने ?’