काठमाडौं, ५ मंसिर । निभ सेम्युरिटिज प्रा.लि (ब्रोकर नम्वर ४७)मा लगानीकर्ताहरुको भीड थियो । तर उनीहरु सबै हतास र निरस देखिएका थिए । सबै जना एक अर्कासँग गानगुन कुरागर्दै थिए ऋण लिएर किनेको सेयर घट्न थाल्यो, ऋणको भारी बढ्छ अव बेच्नुपर्छ ।
यसैबीचमा रुपक विष्ट उठे र ग्लोवल आइएमइ बैंकको ५०० कित्ता सेयर बेचे । उनले भने राखेर के गर्नु व्याजको मात्र भारी सेयर बढ्ने होइन ।

सुमेरु सेक्युरीटीज प्रालिमा (ब्रोकर नम्वर ३९) पनि लगानीकर्ताहरु सेयरको कारोबारमा व्यस्त देखिन्थे । उही हतास र निरस मुद्रामा आफूसँग भएको सेयर धमाधम बेचिरहेका थिए ।
आइतबार लगानीकर्ताहरु अत्यन्त असुरक्षित महसुस भेटिए । यसको कारण हो बजार ह्वात्तै घट्नु । बैंक तथा वित्तीय संस्थाबाट ऋण गरेर बजारमा लगानी गरेका लगानीकर्ताहरु अत्तालिएका देखिन्थे ।
आइतबार सेयर बजार परिसुचक (नेप्से) ५८ अंकले ओरालो लागेको छ । त्यस्तै विहीबार पनि करिव ४० अंकले बजार घटेको थियो । जसले लगानीकर्ताहरुमा थप असुरक्षा पैदा गरेको छ ।
आइतबार सेयर बजार खुलेका केही घण्टामा नै नेप्से ८० अंकले तल झरेको थियो । कारोबार बन्द हुदा सम्म नेप्से ५८ अंकले तल झरेर १५९९दशमलव ६२ अंकमा अडिएको छ ।
सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवाल नेप्से घट्नुमा व्याजदर बढ्नु र सेयरको आपूर्ति बढ्नु मुख्य कारण रहेको बताउँछन् । पछिल्लो समयमा कम्पनीहरुले राम्रो लाभांस तथा बोनसहरु दिइरहेका छन्, तैपनि बजार घटिरहेको छ ।
सेयर बजारमा लगानी गर्नेहरुमध्ये धेरैले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिइरहेका छन् । व्याज बढ्दा त्यसको नकारात्मक असर बजारमा परेको हो । अग्रवाल भन्छन्–‘‘बजार घट्न थालेपछि निरन्तर घटिरहन्छ भन्ने हल्ला र सोचाईले पनि बजार गिरावटमा फ्यूलको काम गरिरहेको छ ।”
सेयर बजार विश्लेषक हरिवोल काफ्ले भन्छन्–‘मैले सेयर मूल्य यति उच्च दरमा घट्नु पर्ने कुनै कारण देखेको छैन,’ लगानीकर्ताहरु त्यतिकै आत्तिएका छन् ।’
भारत सरकारले कालो धन नियन्त्रण भन्दै भारतीय ५०० र १००० को नोटमा लगाएको प्रतिबन्धको असर पनि सेयर बजारमा परेको अग्रवालको विश्लेषण छ । “हाम्रो भारतसँग नजिकको सम्बन्ध छ । भारतले लिएको नीतिले नेपाल अर्थतन्त्रमा असर परेको हुन्छ । नेपालमा पनि लगानीको स्रोत खोजी हुन्छ कि भन्ने डर लगानी कर्ता देखिन्छ’’ अग्रवालले भने ।
संस्थागत लगानीकर्ताले बजारबाट हात झिकेकाले पनि मूल्य घटिरहेको जानकारहरु बताउँछन् । विश्लेषक काफ्ले भन्छन्–‘यतिखेर बजारमा ठूला लगानीकर्ता, म्युचअल फण्डले सेयर उठाएका छैनन् । दशैंपछि कारोबारको भोल्युम कम हुनुले त्यहि संकेत गर्छ । दशैं अगाडि बजारमा दैनिक दुई अर्ब रुपैयाँभन्दा बढीसम्म कारोबार भएको थियो तर दशैपछि दैनिक एक अर्ब रुपैयाँभन्दा थोरै कारोबार भईरहेको छ ।’
उनका अनुसार राजनीतिक अवस्था अन्यौलपूर्ण रहेको र बजार घट्दा अव घट्न थाल्यो भन्ने लगानीकर्ताको मानसिकताले पनि बजारमा असर गरेको हो । यही बेला केही कम्पनीहरुको हकप्रद भर्नु पर्ने अबस्था छ । त्यसैले लगानीकर्ता त्यता रकम जोहो गर्नतिर लागेकोले पनि बजारमा सेयर बिक्रीको चाप बढ्दै गएको हो ।
आइतबार सबै परिसूचक राताम्मे भएका छन् । बजार घट्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन् निभ सेक्युरिटिज प्रा.लिका ट्रेडिङ अधिकृत विष्णु सापकोटा । बजार ’पिक’मा पुगेको बेला छिरेका लगानीकर्ता अहिले आत्तिएर सेयर बेच्न थाल्दा बजारमा ठूलो गिरावट आएको उनको भनाई छ ।