काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष बसन्त लम्सालले लघुवित्त वित्तीय संस्था विरुद्ध अराजक घटना हुँदा पनि नियामक निकाय राष्ट्र बैंकले आफ्नो भूमिका निर्वाह नगरेको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लम्सालले लघुवित्त संस्थालाई अफ्ठ्यारो परेको बेलामा सहयोग नगरेको दुखेसो गरेका हुन् ।
विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका लम्सालले राजनीतिक पार्टीमा आवद्ध भएका व्यक्तिले लघुवित्त विरुद्ध आन्दोलन गरेको बताए । लघुवित्तका कर्मचारीमाथि कालोमोसो दल्ने र कुटपिटका घटना बढेकाले काम गर्ने वातावरण नभएको उनले बताए । साथै, लघुवित्तमा गरिएको लगानी पनि असुरक्षित भएको उनको भनाइ छ ।
‘लघुवित्तका कर्मचारीलाई लुट्ने, कालोमोसो दल्ने काम भएकाले काम गर्ने वातावरण भएन, लघुवित्तमा गरिएको लगानी असुरक्षित भयो, यस्तै अवस्था रह्यो भने लघुवित्त संस्था चलाउन सक्दैनौं, बन्द गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘अप्ठ्यारो परेको बेलामा नेपाल राष्ट्र बैंकले समेत सहयोग गरेको छैन, लघुवित्त संस्थाले ऋण मिनाहा वा छुट दिन सक्दैन ।’
उनले लघुवित्तले गलत गरको भए कानुनी बाटो अपनाएर कारवाही भोग्न तयार रहेको बताए । तर, अनाहकमा आरोप लगाएर काम गर्ने वातावरण नबिगार्न उनको आग्रह छ ।