
काठमाडौं । विद्यालयमा जानुपर्ने ५ देखि १२ वर्ष उमेर समूहका ३.९ प्रतिशत बालबालिकाहरु पढाइबाट बञ्चित रहेका छन् । आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार २०७९ सालमा ती विद्यार्थीहरु विद्यालयबाट बाहिर नै रहेका हुन् ।
पछिल्लो छ वर्षमा सो उमेर समूहका विद्यालय नगएका बालबालिकाको संख्या आधाले घट्न पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ । ०७४ सालमा ८.७ प्रतिशत संख्या रहेकोमा ०७९ सालमा सो संख्या घटेर ३.९ प्रतिशतमा आएको हो । तर, ती बालबालिकाहरु के कारणले विद्यालय जान सकेनन् र तीनको अहिलेको अवस्था के छ भन्ने विषयमा आर्थिक सर्वेक्षणले कुनै तथ्यांक देखाएको छैन ।
पूर्वप्राथमिक शिक्षामा कुल भर्नादर, आधारभूत शिक्षाको तह पूरा गर्ने दर लगायतका शैक्षिक सूचकको अवस्था झिनो मात्रामा सकारात्मक रुपमा वृद्धि भएको सर्वेक्षणले देखाएको छ ।