विदेश जाने भन्ने पनि सपना हुन्छ ? रञ्जित आचार्यको विचार

<p>पढ्न जानको लागि, काम गर्नको लागि देश छाड्ने त वर्षेनी लाखौं छन्, जो हामीले देखिरहेका छौं । त्यतिमात्रै होइन, मासिक रुपमा ८० हजारदेखि एक लाख कमाउने स्थापित पारिवारका, जागिर खाइरहेको रोजगारी पाइरहेका र राम्रोसँग आफ्नो जीवनस्तर चलाइरहेका मानिसहरु पनि नेपालबाट पलायन भइरहेका छन् । हामीले धेरै लेखाजोखा गरिरहेका छैनौं, तर डिभी परेर जानेहरु बाहेक पनि [&hellip;]</p>

पढ्न जानको लागि, काम गर्नको लागि देश छाड्ने त वर्षेनी लाखौं छन्, जो हामीले देखिरहेका छौं । त्यतिमात्रै होइन, मासिक रुपमा ८० हजारदेखि एक लाख कमाउने स्थापित पारिवारका, जागिर खाइरहेको रोजगारी पाइरहेका र राम्रोसँग आफ्नो जीवनस्तर चलाइरहेका मानिसहरु पनि नेपालबाट पलायन भइरहेका छन् ।

हामीले धेरै लेखाजोखा गरिरहेका छैनौं, तर डिभी परेर जानेहरु बाहेक पनि यहाँ भएको सम्पत्ति बेचेर केही सम्पत्ति हातमा राखेर सधैँलाई विदेश नै जाने भनेर परिवार लिएर पनि विदेशीइरहेका छन् । यस्तो संख्या जति भएपनि काम गर्नसक्ने, अनुभवी, दक्ष जनशक्ति हो, जसले आफूले काम गरेर देशको विकासको लागि केही परिणाम दिनसक्ने जनशक्ति हो ।

यदी हामीले समस्याको कुरा गछौं भने देशभरी नै समस्या छ । हामीले सरकारले केही गरेन भन्छौं, नेताहरुले केही गरेन भन्छौं, गाली गर्छौं । यहाँ के लाग्छ भने नेताहरुलाई किन गाली गर्ने ? यी नेताहरुले केही गरेको भए पो गाली गर्ने । यिनले त केही त गरेका छैनन् किन गाली गर्ने ? यहीँ नै सकारात्मक कुरा के छ भने यिनले केही नगरेकै कारणले कहिँ न कहीँ न कहीँ हाम्रा लागि अवसर छन् ।

सरकारले राम्रा स्कुल चलाइदिएको भए निजी स्कुल नै चल्दैनथे । मैले नै स्कुल नै सञ्चालन गर्दैनथेँ होला, इन्स्टिच्युट सञ्चालन गर्दैनथेँ होला । सरकारले बेलैमा हाइड्रो क्षेत्रमा लगानी गरेर बिजुली उत्पादन गरेर लोडसेडिङको अवस्था सिर्जना नभएको भए आजको दिनमा जसरी निजी क्षेत्रले हाइड्रो पावरमा लगानी गरिरहेको छ, यो अवस्था नै सिर्जना हुने थिएन । त्यस्तै, स्वास्थ्य लगायत जतिपनि क्षेत्रहरु सरकारले नै गर्नुपर्ने हो त्यसमा पनि सरकारले केही नगरेको कारणले आज निजी क्षेत्रले ती क्षेत्रमा पनि अवसर देख्ने अवस्था सिर्जना भएको हो ।

मुख्य विषय उपभोक्ताले के खोजेको पहिचान गर्नसक्नुपर्यो । उदाहरणको रुपमा गोल्डस्टार कम्पनीले उपभोक्ताले खोजेको गुणस्तर र आकर्षणलाई ख्याल गरेर अहिले २५ सय तीन हजार मूल्यसम्मका जुत्ताहरु बजारमा ल्याएको छ । जसलाई नेपालीहरुले पनि लगाइरहेका छन् । त्यसैले सम्भावनालाई पहिल्याउन सक्यो भने अवसर छ ।

अहिले आर्थिक मन्दीको कारणले गर्दा बजारमा सुस्तता आएको छ होला, उपभोक्ता र व्यवासायीहरु अलिक निराश भएका होलान् । यो लामो समयसम्म टिक्नु हुँदैन । यसको लागि नीति निर्माताहरु र सरोकारवालाहरुले अहिले नै केही न केही गर्नुपर्छ । सबैजनाले नारी छामिसक्यौं, बिमारी हो भनेर थाहा पाइसक्यौं । तर, औषधि खुवाउने कसैले जमर्को गरेको छैन ।

हामीलाई थाहा छ, नेपालमा धेरै नै ठूलो मात्रामा भ्रष्टाचार भयो । भ्रष्टाचार भएको कालोधन भयो भन्ने हामीलाई लाग्छ भने अब त्यो कालोधन बाहिर निकाल्ने उपाय हामीले गर्नुपर्छ । यदी हामीले त्यसो नगर्ने हो भने केही व्यक्तिहरुले त्यो धनलाई लुकाएर नै बस्नेछन् । हामीले भर्खरै सुनेका छौं, भारतमा डिमोनिटाइजेसन भएको विषय । यस्तो कुरा किन गरिरहेको छ भारतले ? हामीकहाँ पनि त्यो अवस्था आएको भने हामीले पनि गर्नसक्नुपर्छ ।

हाम्रो धेरै ऋण छैन, हाम्रो अर्थतन्त्र त्यति धेरै ठूलो छैन, त्यसैले यदी ऋण लिनसक्ने अवस्था हाम्रो हो भने ऋण लिएर पनि अवसर सिर्जना गर्नुपर्यो । त्यो ऋणलाई उत्पादित क्षेत्रमा लगानी गर्न सकिन्छ ।

राज्यले केही काम गर्नुपर्छ । उदाहरणको लागि कुनै बेला थियो । हामीले काठमाडौंमा कामको लागि अन्र्तवार्ता लिने बेलामा भक्तपुरको मान्छे आयो भने टाढाको भयो भनेर लिँदैनथ्यौं । कुनै बेला भक्तपुरको जुजु धौ दही खानको लागि भक्तपुर नै जानुपर्ने अवस्था थियो । जब सरकारले १४ किलोमिटर लामो ६ लेनको सडक बनाएपछि आज भक्तपुर काठमाडौं एउटै बनेको छ । त्यो १४ किलोमिटरको बाटो बनेपछि त्यसको क्षेत्र वरिपरि कति धेरै विकास भयो । कसले गर्यो त्यो विकास ? निजी क्षेत्रले गर्यो ।

भनेपछि यत्ति कुरा बुझिदिए त हुन्छ, राज्यले धेरै गर्नपर्ने रहेनछ, राज्यले पूर्वाधार विकास गरिदियो भने बाँकी सबै काम जनता आँफैले गर्छ । मात्रै राज्यले कस्तो पूर्वाधारमा खर्च गर्ने र त्यो पूर्वाधारको उत्पादकत्व कस्तो हुन्छ बुझेर गर्नुपर्छ ।

त्यसैले आजको युवापुस्ताको लागि मुलुकमा अवसर धेरै क्षेत्रमा छ, मात्रै अवसरलाई बुझ्नसक्नुपर्यो । सकारात्मक रुपमा अवसरको खोजी गर्न सक्यौं भने प्राप्त गर्न सकिन्छ । तर, समस्या कहाँनेर छ भने आजको युवापिँढीले सकारात्मक ढंगले हेरिरहेको छैन ।

युवाहरुलाई लाग्छ की यो देश छाडेर विदेश गयो भने मेरो लक्ष्य प्राप्ति हुन्छ । लक्ष्य के हो भने विदेश जाने । कसैको पनि विदेश जाने लक्ष्य हुन्छ र ? लक्ष्य भनेको त म विदेश गरेर काम गरेर कमाउने होइन, आफ्नै देशमा काम गरेर कमाउँछु र कुनैदिन ती देशहरुमा घुम्न चाहिँ जान्छु, परिवारलाई घुमाउन लिएर जान्छु भन्ने हुनसक्छ बरु । ज–जसले त्यस्तो लक्ष्य लिएका छन्, ज–जसले यही देशमा केही गर्न सकिन्छ भनेर आफ्नो तरिकाले केही गर्न खोजिरहेका छन्, उनीहरु सफल भएका छन् ।

पछिल्लो समयमा नेपालमा नै बसेर धेरै युवाहरुले विदेशी कम्पनीहरुको काम गरेर मासिक लाखौं रुपैयाँ पनि कमाइरहेका छन् । अहिले विदशको काम गर्नको लागि विदेशमा नै जानपर्ने अवस्था पनि छैन । जस्तो, हलिवुड, नेटफिल्क्स, आइटी लगायत धेरै त्यस्ता क्षेत्रहरु छन् । प्रविधिले गर्दा संसार साँघुरो भएको छ । तर, धेरैले त्यस्तो अवसरहरु देख्न सकिरहेका छैनन् । युवाहरुले त्यस्तो अवसर देख्न सक्न पर्यो । नेपाली उत्पादनहरुलाई नै लिएर काम गर्न सकिन्छ ।

यहाँनेर एउटा छलफल गर्नुपर्ने हुन्छ । सम्भावना देख्ने विषयलाई लिएर कुरा गर्दा आजको युवापुस्ता आफ्नो स्कुल कलेजको अध्ययनकै प्रकृयामा अलिकति चुकिरहेको छ । उदाहरणको रुपमा म विद्यालय तहमा पढ्दै गर्दा कक्षा ८ मा फेल भएँ । सो समयमा तीन महिना मेरो अध्ययनमा ग्याप हुने अवस्था सिर्जना भयो । सो बेलामा मैले हिमालयन कार्गोमा इन्टर्नसिप गर्न काममा जोडिएँ । त्यतिबेला मेरो पारिश्रमिक भनेको एउटा कचौरामा अण्डा हालेको चाउचाउ मात्रै थियो । मैले दिनभरी त्यहाँ छ घण्टा काम गरेँ । एसएलसी सकिएपछि मैले अर्को कम्पनीमा गएर काम गर्न थालेँ । मलाई तलबको मतलब थिएन, तर पाँच छ महिना काम गरेपछि मैले १२ सय रुपैयाँ तलब पनि पाउन थालेँ ।

अहिलेको युवापुस्तामा काम सिक्नको लागि प्यासनको अभाव देखिन्छ । काम जहाँ पनि रहेर सिक्न सकिन्छ । नजिकैको पसल, उद्योग, फार्म लगायत धेरै ठाउँहरुमा काम सिक्न सकिन्छ । उद्यमीहरुलाई थप श्रमिक चाहिएको छैन भपने उनीहरुले पारिश्रमिक पनि दिएर काम सिक्न नदिन सक्छन् तर, त्यस्तो ठाउँमा पारिश्रमिक नलिईकन काम सिक्न चाह्यो भने अवस्य पाइन्छ । कसैले दिन्न भन्दैन । त्यसो गर्दा समाज के हो ? समाजको आवश्यकता के छ ? समाजले के खोजिरहेको छ ? के–के विषयमा उत्पादन र उद्यमको आवश्यकता छ भन्ने विषयमा थाहा पाउन सकिन्छ । आजको युवा पुस्ताले यो बुझ्न जरुरी छ की एउटा उपभोक्ता भएर हेर्न सकियो भने यस्ता धेरै स्टार्टअप सम्भावनाहरुको विषयमा थाहा पाउन सकिन्छ ।

कतिपय अवस्थामा मानिसहरुले प्रयोग नै नगरिरहेका वस्तुहरुलाई लिएर पनि स्टार्टअप शुरु गर्न सकिन्छ । ‘उदाहरणको लागि कुनै एउटा स्थानमा मानिसहरुले जुत्ता नै लगाउँदैनथे, त्यो ठाउँमा जुत्ताको मार्केटिङ गर्ने क्रममा एउटा जुत्ता उद्योगबाट कर्मचारी पुगेछ । उसले कसैले पनि जुत्ता नलगाएको देखेपछि यहाँ हाम्रो उद्योगको काम छैन भनेर फर्किएछ । त्यसको लगत्तै जुत्ता उद्योगको मालिक त्यो ठाउँमा पुगेछ । उसले उद्योगबाट तुरुन्त एक ट्रक जुत्ता मगाएर सबैलाई निःशुल्क लगाउन दिएछ ।’

खाली खुट्टा हिँड्ने मानिसहरुले जब जुत्ता लगाए उनीहरले आनन्दको महशुस गरे । उद्योगले एकपटक निःशुल्क दिएको जुत्ता त सँधै टिक्दैन, त्यसपछि उनीहरुले खरिद नै गरेर लगाउन शुरु गर्छन् । यस्तै प्रकारका सम्भावना पनि हामीकहाँ हुनसक्छन् । त्यसैले अवसरको लागि गहिरिएर अध्ययन पनि गर्नसक्नुपर्छ ।

नेपालको चाउचाउको बजारमा अधिकतम् मूल्य ३० रुपैयाँ सम्मको पाइने अवस्थामा अहिले करेन्ट चाउचाउले ५० रुपैयाँमा चाउचाउ बेचिरहेको छ । अहिले करेन्ट चाउचाउको माग सबैभन्दा धेरै छ । करेन्टले के बुझ्यो भने नेपालीहरुले टाठोपिरो मन पराउँछन् । त्यसैले उसले सोही उपभोक्ता सर्वेक्षणको आधारमा काम गर्दा उ सफल भइरहेको छ ।

उपभोक्ताले हरेक समय वर्तमानमा उपभोग गरिरहेको भन्दा नयाँ खोजिरहेको हुन्छ । खाइरहेको कुरामा नयाँ स्वाद, लगाइरहेको कुरामा नयाँपन, यसलाई निड ग्याप भनेर बुझिन्छ । यो जब पत्ता लगाउन सकिन्छ । त्यहाँ व्यवसायको सम्भावना हुन्छ । यो विषय खोजेर अनुसन्धान गरेर थाहा पाउन सकिने विषय हो ।

स्टार्टअप व्यवसाय वा सफल आइडियाको कुनै प्रेस्किृप्सन हुँदैन, अथवा पूर्वनिर्धारित नियम हुँदैन । यो कुनै व्यक्तिको व्यक्तित्व विकाससँग जोडिएको विषय पनि हो । यो कुनै सफल व्यक्तिको जीवनी अध्ययन गरेर त्यसलाई पछ्याएर प्राप्त गर्न सकिँदैन ।

आजको दिनमा धेरै युवाहरुले भन्ने गर्छन आफ्नो प्यासन के हो भन्ने विषय नै थाहा भएन । उदाहरणको रुपमा एउटै कक्षामा गणित पढ्दा कुनै विद्यार्थीले शिक्षकलाई राम्रो मान्दैनत कुनै विद्यार्थीले राम्रो मान्छ । जसलाई गणित पढ्न आउँछ उसले शिक्षकलाई पनि राम्रो मान्छ, जसलाई गणित पढ्न आउँदैन उसले शिक्षक पनि राम्रो मान्दैन ।

यहाँनेर जसलाई गणित पढ्न इच्छा छ, उसलाई शिक्षक पनि मन पर्छ । अनि जसलाई गणित पढ्न मन पर्दैन उसलाई शिक्षक पनि मन पर्दैन । यहाँनेर कसैको पनि दोष छैन । तर, यहाँनेर जसलाई गणित पढ्न नै मन पर्दैन उसले साइन्स पढेर बैज्ञानिक बन्छु भन्ने उद्देश्य राख्यो भने उसको कति गल्ति हुन्छ ? त्यसैले विद्यार्थीले आफूले पढ्दै गर्दा कुन कुरा सहज हुने गर्दथ्यो त्यही कुरामा अगाडि बढ्न खोज्यो भने उ सफल हुने सम्भावना रहन्छ ।

जसले प्यासनमा काम गर्छ, उसले काम नै गर्नुपर्दैन । किनकी उसको त्यो प्यासन हो, इन्ट्रेस्ट हो । तर, यो पत्ता लगाउनु चाहिँ पर्छ । त्यसको लागि कहिले पसलमा काम गर्न सकिन्छ, कहिले उद्योगमा काम गर्न सकिन्छ, रेष्टुरेन्ट र कहिले फार्ममा काम गर्न सकिन्छ । विभिन्न ठाउँहरु छन् जहाँ गएर निःशुल्क रुपमा सिक्न सकिन्छ ।

तर, आफ्नो क्षमताको पहिचान गर्नको लागि अन्वेषण चाहिँ गर्नुपर्ने हुन्छ । घरमै बसेर थाहा हुन्छ, कुनैदिन आउला भनेर चाहिँ हुँदैन । सरल र सहज पनि हुँदैन । उदाहरणको लागि पेन्सिलको उपयोगिता तब हुन्छ, जब जब त्यसलाई मेसिन प्रयोग गरेर तिखो बनाइन्छ ।

युवाहरुलाई लक्षित गरेर स्टार्टअप व्यवसायको वातावरण सिर्जना गर्नको लागि राज्यको पनि महत्वपूर्ण दायित्व हुन्छ । स्टार्टअपको नीति बनाउने, नीति अन्तर्गत प्रोत्साहन गर्ने, विभिन्न कार्यक्रम सञ्चालन गरेर युवाहरुलाई तालिम दिने, वातावरण बनाइदिने, लगायतका कामहरु राज्यले गर्नुपर्छ । अहिले हामी सरोकारवाला सबै लागेर उद्योग मन्त्रालयलाई नीति बनाउन लगाएका छौं । नीति बनेको अवस्था छ ।

त्यो नीतिमा सहुलियतपूर्ण कर्जा, कर निःशुल्क, दर्ताको एक झ्याल नीति लगायतका विषयहरु समावेश गरिएको छ । सो नीति ८० प्रतिशत कार्यान्वयनमा आउँदा पनि आगामी १० वर्ष भित्रमा स्टार्टअपको क्षेत्रमा ठूलो परिवर्तन हुने अनुमान गर्न सकिन्छ । ठूलो संख्यामा युवाहरुलाई प्रोत्साहन गर्छ ।

अर्को विषय स्थानीय तहहरुले अझ महत्वपूर्ण ढंगले स्टार्टअपको क्षेत्रमा काम गर्न सक्छन् । उनीहरुले इन्क्युभेसन सेन्टर निर्माण गरेर पालिका भित्रका युवाहरुलाई आइडिया लिएर आउ तिम्रो आइडियालाई हामी व्यवासायिक रुप दिन्छौं भन्न सक्छन् । साथै स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्र सर्वेक्षण गरेर यो–यो क्षेत्रमा व्यवसाय तथा उद्यमको सम्भावना छ भनेर पनि भन्न सक्छ । पालिकाहरुले किसान तथा उत्पादकहरुको उत्पादनलाई बजारीकरण गर्ने जिम्मेवारी लिएर उनीहरुको व्यवासायलाई दीगो बनाउन सहयोग गर्न पनि सक्छ ।

पालिकाहरुले उत्पादित वस्तुहरुलाई सर्टिफाइड गरेर पहिचानयुक्त बनाउने कुरामा पनि सहयोग गर्न सक्छन् । तर, जबसम्म हाम्रो मुलुकको प्रधानमन्त्री र पालिकाका प्रमुखहरुलाई उनीहरुको भूमिका सिइओको भन्ने अनुभूति हुँदैन त्यतिबेलासम्म यस्ता विषयहरुले मुर्तता पाउन सक्दैनन् ।

हामी पनि आजका विकसित मुलुकका मानिसहरु जत्तिकै सम्पन्न हुन सक्छौं । यो विषय कुनै गाह्रो विषय पनि होइन । किनकी हाम्रो मुलुक आँफैमा धेरै ठूलो छैन । हामी जनसंख्यामा पनि धेरै छैनौ । आजको दिनमा हाम्रो प्रतिव्यक्ति आम्दानी ११ सय डलर मात्रै छ । २ हजार र ३ हजार डलरको लक्ष्य राख्ने वित्तिकै हाम्रो जीवनस्तर स्वभाविक रुपमा माथि पुग्छ ।

अहिले नै जीवस्तरको तुलना गर्ने हो भने अमेरिकामा जागिर खाइरहेको एक जना युवाले आजको दिनमा साँझ पार्टी वा रमाइलो गर्न सक्छ ? सक्दैन । उसले त्यसको लागि धेरै समय कुर्नुपर्छ, विकेन्ड कुर्नुपर्छ । के हामीकहाँ त्यस्तो छ ? अवश्य छैन । हामी जो सुकैले आफ्नो काम सकिएपछि आजै पार्टी गर्नसक्छौं । कुनचाहिँ जीवनशैलीलाई राम्रो भन्ने ?

हामीकहाँ राजनीतिमा अस्थिरता छ, भ्रष्टाचार छ, बेथिति छ । हामी निराश छौं किनकी हाम्रा अभिभावक सहि भएका छैनन् । तर, आज छिमेकी मुलुकमा ४४ डिग्री तापक्रम छ, हामीकहाँ कति सितलता छ ? यदी हेर्ने तरिकालाई जब हामी सकारात्मक बनाउँछौं हामी त्यहाँ सफलता प्राप्त हुनसक्छौं ।

नयाँ पुस्तालाई संघर्ष बिनाको रिजल्ट चाहिएको छ । त्यो सम्भव छैन । तर संघर्ष त गर्नैपर्छ । संघर्ष गरेर प्राप्त गरेको सफलताले आत्मसम्मान मिल्छ । आज त थुप्रै युवाहरु विदेश जाने भनेर लाम लागिरहेका छन् । त्यसैले यहाँ केही गर्नको लागि सहज पनि त छ । हामीले त्यसरी पनि हेर्न पनि त सकिन्छ । अहिले वेब सर्चको माध्यमबाट पनि धेरै सम्भावना र आइडियाहरुको विषयमा पनि जानकारी प्राप्त गर्न सकिन्छ ।

कतिपय अवस्थामा आफ्ना प्यासनहरु अभिव्यक्त नगर्दापनि युवाहरु पछाडि पर्ने अवस्था सिर्जना भएको छ । त्यसका लागि आफ्ना आइडियाको विषयलाई लिएर संवाद गर्न जरुरी हुन्छ । त्यसो गर्दा आइडिया कस्तो हो भन्ने थाहा हुन्छ । त्यसरी खुला संवाद गर्न नचाहने हो भने पनि अहिले संवाद गर्नकै लागि प्रविधिको विकास भएको छ । हामीले आफ्ना कुराहरु च्याट जिपिटीसँग पनि हाम्रा कुराहरु राखेर संवाद गर्न सक्छौं ।

अन्त्यमा, अहिलेका युवाहरुले आफ्नो पढाइ बाबुआमाको लगानीबाट राम्रोसँग हुनुपर्ने मान्यता राख्छन् । त्यसपछि विदेश जानुपर्छ भन्ने सोँच राखेको पाइन्छ । उनीहरुको सोँच मुलुक छाड्न पाएपछि स्वतन्त्र हुन पाइन्छ भन्ने रहेको हुन्छ । युवाहरुले विदेश जाने लक्ष्य बनाएका हुन्छन्, जुन एकदमै गलत हो ।

जिन्दगीको लक्ष्य विदेश जाने हुनैसक्दैन । साँच्चीकै लक्ष्य लिनसक्नुपर्यो । हरेक व्यक्तिसँग असिमित क्षमता छ । आफ्नो क्षमतालाई चिन्न सक्दा मात्रै सफलता प्राप्त गर्न सकिन्छ । तर, संघर्ष अस्विकार गरेर टिकट काटेर विदेश जान चाहिँ सहज हुन्छ ।

(स्टार्टअप विज्ञको रुपमा परिचित आचार्यसँग गरिएको कुराकानीमा आधारित)

Share News