
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि अर्थशास्त्री तथा अनुसन्धानकर्ता डा. विश्वास गौचनले कडा व्यंग्य प्रहार गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘सरकारको नीति तथा कार्यक्रमको गाइजात्रे संस्करण’ भनेर कडा व्यंग्य प्रहार गरेका हुन् ।
‘सरकारको नीति तथा कार्यक्रमको गाइजात्रे संस्करण’
‘खेति योग्य जग्गा मासिँदै गएको अवस्थामा कृषि क्षेत्रको रुपान्तरणको लागि आकाशमा खेति गर्ने प्रबिधि विकास गर्न अध्ययन गरिने छ, अर्थतन्त्रमा मन्दी छाएकोले प्रत्येक घरपरिवारलाई उपभोगमा प्रेरित गरी अर्थतन्त्रमा माग बढाउन देशैभरी हेलीकप्टरबाट पैसा बाँडिने व्यवस्था गरिनेछ, तरलता र कर्जा संकुचन भएको र ब्याज बढ्दै गएको अवस्थामा निजी क्षेत्रलाई सहज तथा सस्तो ब्याजदरमा कर्जा सुनिश्चित गर्न पैसा फल्ने बिशेष किसिमको रुख बारे अनुसन्धान गरी सन् २०३० भित्र नेपालको ५० प्रतिशत भूभागमा बनजंगल बिस्तार गरिने छ, आयात प्रतिको अत्याधिक परनिर्भरता घटाउँदै निर्यात बढाउन र उद्योग क्षेत्रको विकास गर्न हजार किलोमिटर लामो सर्बसम्पन्न पूर्व-पश्चिम उद्योग करिडर निर्माण गरी लाखौं चिनियाँ मजदुरलाई भित्र्याइने छ, नेपाली युवाको गुणस्तरीय रोजगारीको अवसर बढाउन सिधै अमेरिका, पश्चिम युरोप, बेलायत, जापान, क्यानाडा र अस्ट्रेलियामा पठाउने व्यवस्था गरिने छ, इन्धन आयात घटाउन र कार्बन उत्सर्जन नियन्त्रण गर्न देश भित्रै उच्च प्रविधिको ब्याट्री निर्माण गरिने छ भने वातावरण संरक्षण गर्न र प्रदुषण घटाउन वायु शुद्धिकरण गर्ने बिशेष यन्त्र देशैभरी जडान गरिने छ, स्वस्थ तथा शिक्षित नेपाल अभियान अन्तर्गत स्वस्थ सम्बन्धी निःशुल्क उच्च स्तरीय सेवा घरदैलोमा पुराइने छ भने गुणस्तरीय शिक्षाको लागि सातै प्रदेशमा अमेरिकी हावर्ड विश्वबिद्यालय भन्दा स्तरीय विश्वविद्यालय स्थापना गरिने छ ।’