
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले स्थानीय तहले विद्यालयको नाम परिवर्तन गर्न सक्ने, गाभ्न सक्ने, स्थानान्तरण गराउन सक्ने र आवश्यक परेमा बन्द समेत गराउन सक्ने बताएका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानरले पछिल्लो समयमा गरेको निर्णयलाई लक्षित गरेर उनले सो बताएका हुन् ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता शर्माले काठमाडौं महानगरपालिकाले विद्यालयको नामाकरणको सम्बन्धमा गरेको पछिल्लो निर्णय महानगरपालिकाको अधिकारको विषय भएको बताए । ‘स्थानीय तहले विद्यालयको नाम परिवर्तन गर्नसक्छ, विद्यालय गाभ्नसक्छ, स्थानान्तरण गर्नसक्छ, भनेको टेरेन भने बन्द गर्न पनि सक्छ’, उनले भने, ‘ति विद्यालयहरु कुनै समय खोलिदाखेरी अनुमति नलिइकन खोलेका विद्यालय होइनन्,’ उनले भने ।
उनले अनुमति लिएर खोलिएका विद्यालय नामहरु पनि प्रकृयासँग परम्परा सुहाउँदो नाम राख्न सकिने बताएका थिए । ‘अनुमति लिएर खोलेका त्यतिखेरको नाम राख्दाखेरी अन्तर्राष्ट्रिय मात्र छैन अरु विभिन्न किसिमका नामहरु छन्, ति एउटा प्रक्रियासँगले नेपाली परम्परा सुहाउँदो नाम राखौँ, अन्तर्राष्ट्रिय भन्ने हो भने अन्तर्राष्ट्रिय विद्यार्थीपनि हुनुप¥यो भन्ने मान्यतामा त्यो आएको हो, महानगरले गरेको विषय चाहीँ हामीले डिटेल हेरेका छैनौँ’, प्रवक्ता शर्माले भने ।
साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष देशभरका विद्यार्थीहरुले समयमै शैक्षिक सत्र २०८० का लागि ७७ वटै जिल्लाका विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जानकारी गराइएको हो । वैशाख दास्रो हप्तासम्म आइपुग्दा देशभरका सबै विद्यार्थीहरुले पाठ्यपुस्तक प्राप्त गरिसकेका प्रवक्ता शर्माले बताए ।
यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६–१० को लागि १ करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाहरुबाट कक्षा १–५ को लागि १ करोड १८ लाख थान पाठ्यपुस्तक छपाई गरी ७७ वटै जिल्लाका सूचीकृत १ हजार २६७ स्थानीय विक्रेताहरुमार्फत बिक्री वितरण भइरहेको उनले बताए ।
उनले पाठ्यपुस्तक नपुगेको ठाउँमा सम्पर्क भएको मितिले २ दिनभित्र सबैभन्दा नजिकको विक्रेता तथा पुस्तक पसलमार्फत पाठ्यपुस्तक उपलब्ध हुने व्यवस्था मिलाइएको पनि जानकारी दिए । उहाँले ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा २०८० साल वैशाख २ गतेदेखि देशभरका विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान जारी रहेको उल्लेख गरे ।