काठमाडौं, २१ कात्तिक । सरकारले उपत्यकामा बढ्दै गएको ट्राफिक जाम समस्याको समाधान गर्न विभिन्न स्थानमा फ्लाईओभर व्रिज निर्माण गर्ने भएको छ । अत्यधिक ट्रापिक जाम हुने सबै स्थानमा फ्लाईओभर बनाउने सरकारको दीर्घकालीन योजना हो । यसका लागि सरकारले गुरु योजना बनाउने तयारी गरिरहेको छ । हाल कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, टेकु, भद्रकाली, चावहिल, लैनचौरलगायतका स्थानमा अत्यधिक ट्राफिक जाम हुन्छ ।

अत्यधिक सवारी साधनको चापले सर्वसाधारणलाई बाटो काट्न मुस्किल परिरहेको छ । बाटो काट्न धेरै बेरसम्म उभिनु पर्ने भएकोले यस्ता सव बाटोहरु निर्माण गर्न सके आगन्तुकलाई सहज हुनका साथै दुर्घटना कम हुने मन्त्रालयको ठम्याइ छ । यो समस्याको विकल्पको रुपमा फ्लाईओभर व्रिज भएकाले यसका लागि गुरु योजना तयार पार्न लागेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्की बताउँछन् ।
भर्खरै त्रिपुरेश्वर– माइतीघर खण्डमा फ्लाईओभर व्रिज निर्माणका लागि सम्भाव्यता अध्ययन सकिएको छ । जापान सहयोग नियोग जाइकाले गरेको सो अध्ययनले करीब एक किलोमिटर लम्बाइको फ्लाईओभर निर्माण गर्न नौ अर्ब लाग्ने अनुमान गरेको छ । चार र दुई दुबै लेनको अध्ययन जाइकाले गरेको हो । सम्भाव्यता अध्ययन सकिएको फ्लाइओभर परियोजनाको निर्माण कार्य कहिलेदेखि शुरु हुन्छ भन्ने विषयमा भने सरकार मौन छ । यद्यपी यसको विस्तृत अध्ययन प्रतिवेदन (डीआरपी) भने हुन वाँकी नै छ । जाइकाले उक्त स्थानमा करीब दुई वर्ष अघिदेखि फ्लाईओभरको अध्ययन गर्दै आएको छ । यस्ता ठाउँमा फ्लाईओभर निर्माण गर्न सके ट्राफिक जानको समस्या समाधान गर्न सजिलो हुने भौतिक योजना तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
अब छिट्टै जाइकाले बानेश्वर र कोटेश्वरमा पनि फ्लाईओभर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्दै छ । आगामी एक वर्षभित्र जाइकाले बानेश्वर र कोटेश्वरमा पनि फ्लाईओभर निर्माणका लागि सोको अध्ययन सम्पन्न गरिसक्ने योजना रहेको छ । दीर्घकालीन योजना अन्तर्गत चावहिल, कलंकी लगायतका स्थानमा पनि फ्लाईओभर निर्माण गर्ने योजना सरकारको छ ।
सरकारले २०६९ सालमा नयाँ बानेश्वरमा फ्लाईओभर बनाउने प्रक्रिया अघि बढाएकोर आर्थिक वर्ष २०६८/६९ मा सरकारले फ्लाइओभर निर्माणका लागि चार करोड रुपैयाँ विनियोजनसमेत गरेको थियो । तर, त्यतिबेला त्यो प्रभावकारी हुन सकेन । तत्कालीन सयममा फ्लाईओभरको सम्भाव्यता अध्ययनका लागि करीब ५० लाख रुपैयाँ खर्च भएको थियो ।
‘त्यसबेला फ्लाईओभर निर्माणले गति लिन नसकेपछि अहिले पुनः सोको अध्ययन अघि बढाइएको हो,’ कार्कीले भने ‘पहिलाको अध्ययनलाई पनि आधार मानेर अहिले फेरि जाइकाले अध्ययन गर्न लागेको छ ।’
हुन त नेपालमा यस्ता धेरै योजना कागजमा मात्रै सीमित भएका छन् । तर, यो योजनालाई अघि बढाउन सके आम नेपालीले बाटो काट्दा झेल्दै आएको समस्याबाट केही हदसम्म मुिक्त पाउने थिए । सरकारले पनि यस्ता सार्वजनिक हितका योजना तथा परियोजनाहरुलाई जतिसक्दो छिटो कार्यान्वयनमा लान सक्नुपर्छ ।