तीव्र रुपमा अघि बढ्दै प्रतिरक्षा विश्वविद्यालयको निर्माण, संरचना खर्च मात्रै पौने ९ अर्ब लाग्ने

<p>काठमाडौं । नेपालमा पहिलो पटक निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको काम तीव्रताका साथ अगाडि बढेको नेपाली सेनाले जनाएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको पेरुङ्गे डाँडामा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । अहिलेसम्म आर्थिक वर्ष ०७६/७७, ०७८/७९ र ०७९/८० मा भौतिक पूर्वाधारको निमित्त बिनियोजन गरिएको रकमबाट विश्वविद्यालयको भौतिक संरचना निर्माण गर्ने काम भइरहेको [&hellip;]</p>

काठमाडौं । नेपालमा पहिलो पटक निर्माण गर्न लागिएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको काम तीव्रताका साथ अगाडि बढेको नेपाली सेनाले जनाएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको पेरुङ्गे डाँडामा विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ ।

अहिलेसम्म आर्थिक वर्ष ०७६/७७, ०७८/७९ र ०७९/८० मा भौतिक पूर्वाधारको निमित्त बिनियोजन गरिएको रकमबाट विश्वविद्यालयको भौतिक संरचना निर्माण गर्ने काम भइरहेको छ । नेपाली सेनाका जनसम्पर्क तथा सूचना निर्देशक कृष्णप्रसाद भण्डारीले बताएका छन् । उनका अनुसार आर्थिक वर्ष ०७६/७७ को बजेटबाट विश्वविद्यालय निर्माण गर्ने क्षेत्रमा एक हजार तीन सय ८० मिटर लम्बाई भएको पर्खाल, भूमिगत पानी ट्यांकी निर्माण, २६ सय मिटर लामो सडक निर्माण र विद्युत जडान गर्ने काम भएको छ ।

आर्थिक वर्ष ०७८/७९ मा भवन निर्माण र तटबन्धन निर्माणमा विनियोजन गरिएको ५८ करोड ५० लाख रकम योजना स्वीकृत नहुँदा काम हुन सकेको थिएन । तर, आर्थिक वर्ष ०७९/८० मा विनियोजन भएको ३५ करोड ४७ लाख ५० हजार रुपैयाँ रकमबाट अहिले विश्वविद्यालयको विभिन्न भौतिक पूर्वाधारमा काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

चालु आर्थिक वर्षमा विश्वविद्यालयको निम्ति विनियोजन भएको रकमबाट अहिले केन्द्रीय पुस्तकालय र विद्यार्थी आवास भवन बनाउने काम भइरहेको छ । जसमध्ये अहिलेसम्म केन्द्रीय पुस्तकालयको ३७ प्रतिशत र विद्यार्थी आवास भवन निर्माण कार्यको ३९ प्रतिशत काम भएको नेपाली सेनाका जनसम्पर्क तथा सूचना निर्देशक अधिकारी भण्डारीले बताए ।

विश्वविद्यालयको सम्पूर्ण संरचना निर्माण गर्दा आठ अर्ब ६३ करोड १० लाख लाग्ने डिपिआरले देखिएपनि चार अर्बमा मात्रै स्रोत सहमति भएकाले सोही अनुसारका डिपिआर पूनरावलोकनको गरी बहुवर्षीय आयोजना प्रस्ताव पठाइएको जनसम्पर्क तथा सूचना निर्देशक भण्डारीले बताए । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माण प्रकृयामा विभिन्न उपसमिति गठन गरेर भइरहेको छ । जसमा राष्ट्रिय प्रतिरक्षा पूर्वाधार निर्माण समितिको नेतृत्व पूर्व रथी बालानन्द शर्माले गरेका छन् ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको ०७७ जेठ १३ गतेको बैठकले विभिन्न उपसमितिको गठन गर्ने निर्णय गरेको थियो । जसमा प्राज्ञिक उपसमिति, व्यवस्थापन उपसमिति तथा भौतिक पूर्वाधार निर्माण उपसमिति र विधेयक/विधान मस्यौदा कार्यदल रहेका छन् । सबै उपसमितिको काम, कर्तव्य तथा जिम्मेवारी तोकिएको छ ।

आगामी आर्थिक वर्षमा कुल लाग्ने अनुमानित लागतको २५ प्रतिशत रकमको स्रोत सुनिश्चितता भएमा बहुवर्षीय योजना स्वीकृत गरी अगाडि बढाउने तयारी भएको सेनाले जनाएको छ । साथै, चालु आर्थिक वर्षमा छात्रावास र केन्द्रीय पुस्तकालयको भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको जनसम्पर्क तथा सूचना निर्देशक भण्डारीले बताए ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको अवधारणा नेपालमा पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो । सो विश्वविद्यालय सञ्चालनमा आएसँगै नेपालमा नै राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी आवश्यक नीति एवं रणनीति तर्जुमा, गहन खोज, अनुसन्धान र विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन सक्ने जनशक्ति उत्पादन हुनेछन् ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, पूर्वाधार निर्माण विकास समिति गठन आदेश मार्फत २०७६ बैशाख १ गते स्थापना गरिएको हो । २०७८ पुस १२ र २०७९ बैशाख २२ गते सो गठन आदेशको दुईपटक संशोधन भइसकेको छ ।

Share News