नेताको पनि नेता बन्ने फर्मुला मैले गरेको काम नै हो : हेमराज ढकाल

<p>नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्य, महासंघको स्वास्थ्य तथा सीप विकास समितिको सभापति र कृषि उद्यम केन्द्रको नेतत्व गरेर उद्योगी व्यवसायीले रुचाएका पात्र हुन् हेमराज ढकाल । हेरिटेज कार्पेट उद्योगबाट सफलता पाएपछि लगानीलाई विविधिकरण गर्दै चिया उद्योगमा लागेका ढकाललाई अहिले महासंघको चुनाव लागेको छ । सरल र अनुशासित उद्योगी व्यवसायीको छवि निर्माण गरेका ढकालले [&hellip;]</p>

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्य, महासंघको स्वास्थ्य तथा सीप विकास समितिको सभापति र कृषि उद्यम केन्द्रको नेतत्व गरेर उद्योगी व्यवसायीले रुचाएका पात्र हुन् हेमराज ढकाल । हेरिटेज कार्पेट उद्योगबाट सफलता पाएपछि लगानीलाई विविधिकरण गर्दै चिया उद्योगमा लागेका ढकाललाई अहिले महासंघको चुनाव लागेको छ । सरल र अनुशासित उद्योगी व्यवसायीको छवि निर्माण गरेका ढकालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहबाट वस्तुगत उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । चैत २८ र २९ गते हुने महासंघको निर्वाचनका लागि तीन वटा प्यानल चुनावी प्रस्पिर्धामा छन् । वस्तुगत उपाध्यक्षका उम्मेदवार ढकालसँग हामीले महासंघको चुनाव र उनीको चुनावी रणनीतिका विषयमा कुराकानी गरेका छौं ।

तपाईंले वस्तुगत उपाधयक्षका लागि उम्मेदवारी दिनु भएको छ, तपाईंको उम्मेदवारी किन ?

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघहरुसँग म नजिकसँग जोडिएको छु । म आफै पनि उत्पादन, कृषि, व्यापार तथा उद्योग सेवा क्षेत्र लगायतका आवद्ध छु । नेपालको अर्थतन्त्रको आधार पनि त्यही हो । त्यस कारणले मैले जानेको, बुझेको र दुई वर्षदेखि वस्तुगत संघहरुसँग आवद्ध भएर उनीहरुका समस्या, चुनौति र सम्भावनाका विषयसँग विभिन्न कार्यक्रमहरुमा गएर वहस गरेको छु । समस्या समाधानका लागि सहयोग गरेको छु । उनीहरुले नै अब तपाईंले स्वास्थ्य तथा सीप विकास समिति, कृषि उद्यम केन्द्रमा बसेर नेतृत्व गर्नु भयो अब उपाध्यक्ष बन्नु पर्छ भनेर प्रस्ताव गरेपछि म अगाडि सरेको हुँ । .ती दुवै समिति मेरो नेतृत्वमा अब्बल ठहरिएका छन् । सबैले तारिफ गरेका छन् । यति काम गरेपछि र अनुभव सम्हालेपछि मैले किन दाबी नगर्ने भनेपछि अगाडि बढेको हुँ । मसँग क्षमता पनि छ र साथीहरुले चाहना देखाइसकेपछि उम्मेदवारी दिएको हुँ । मैले डेलिभर पनि गर्न सक्छु भन्नेमा विश्वस्त छु ।

अहिले एकातर्फ अर्थतन्त्र समस्यामा छ भनेर विभिन्न बहसहरु हुन थालेका छन् अर्कोतर्फ महासंघको चुनाव महँगो हुँदै गयो भन्ने गुनासो पनि सुनिन्छ, आकांक्षी पनि धेरै भए भन्ने कुरा छ, यस्तो किसिमको परिस्थिति किन आयो ?

अहिले तीन वटा प्यानल भएका छन् । तर, केन्द्रिय सदस्यहरुमा धेरै आकांक्षी देखिएका छैनन् । आफ्नै व्यवसायमा समस्या भएपछि महासंघले खेल्नु पर्ने भूमीका खेलेन की भन्ने बुझाइ पनि धेरेको छ । सरकारले पनि महासंघको कुरा नसुनेको होकी भन्ने बुझाइ धेरैको हुन सक्छ । महासंघमा गएर पनि काम छैन की भन्ने धेरैको बुझाइ होला । हो, महासंघको धेरै ठूलो सञ्जाल छ । यसअघि एकवर्ष अघिदेखि नै चुनाव लाग्थ्यो । तर, अहिले एक महिनादेखि नै सुरु भएको छ । अहिले धेरै आर्थिक समस्यामा छन् । मलाई लाग्छ धेरै महँगो नहोला ।

तपाईंहरु नेताको पनि नेता हो, विभिन्न वस्तुगत संघका नेतृत्वहरुलाई कन्भिन्स गरेर मत बटुल्न सक्ने तपाईंको रणनीति के हो ?

नेताहरुको पनि नेता बन्न गाह्रो नै छ । त्यो अनुभव मैले पनि गरेको छु । कन्भिन्स गर्ने विषयमा मैले सामान्य फर्मुला प्रयोग गरेको छु । आफुलाई महासंघले दिएको जिम्मेवारी अनुशासित ढंगबाट निभाउने, साथीहरुलाई परेका समस्याको समाधान गर्ने हो । मेरो काम गर्ने शैली, मेहेनती नेचर र अुनशासनले नै साथीहरुले मलाई विश्वास गर्नु हुन्छ । यो मान्छे हामीलाई चाहिन्छ भन्ने महसुस उहाँहरुले गर्नु भएको छ । मेरो स्ट्रेन्थ पनि यही हो ।

तीन जना प्रतिस्पर्धीहरुमध्ये मतदाताले तपाईंलाई नै किन मतदान गर्ने ?

कृषि उद्यम केन्द्र महासंघकै ठूलो डिपार्टमेन्ट हो । यो एउटा ठूलो जिम्मेवारी पनि हो । त्यसमा पनि मैले राम्रो काम गरें । ७७ वटै जिल्लामा घुमेको छु । म कृषिमा पनि आवद्ध छु । कोरोनाको समयमा अस्पतालहरुको भौतिक पूर्वाधार निर्माणका लागि पनि सरकारसँग सम्वाद गरेर समस्याको समाधान गरेको छु । गगन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढेको थियो । त्यसमा थोरै प्रिमियम तिरेर सरकारले अनुदान गर्नु पर्ने कुरा थियो । त्यसमा केही समस्या थियो । त्यो समस्या समाधानका लागि मैले ठूलो भूमीका खेलें । त्यस्तै, ब्रिटिस काउन्सिल र यूरोपियन युनियनले इलम भन्ने कार्यक्रम सुरु गरेको थिए । त्यसअघि विभिन्न निकायले आ–आफ्नै किसिमले सीप दिने अभ्यास थियो । तर, पछि आधिकारिक सीप दिने किसिमले पेशागत मापदण्ड बनाएर काम गर्यौं । त्यसमा पनि ठूलो भूमीका निर्वाह गरेर काम गरियो । अहिले त्यो मापदण्ड पाठ्यक्रममै समावेश गरिएको छ । यी सबै कामहरुको बारेमा म अब्बल छु । मैले एक दशक भयो महासंघका विभिन्न समितिमा बसेको । तर, दुई कार्यकालमा समितिको नेतृत्व गर्ने अवसर पाएँ ।

तपाईंका मतदाताको अपेक्षा चाहिँ के रहेछ ?

अहिले बैंकको ब्याज बढेको छ । लगानी गर्न पुँजी छैन । कच्चा पदार्थको मूल्य बढेको छ । ‘कष्ट अफ डुइङ बिजनेस’ बढेको छ । बैंकमा तरलता समस्या हुँदा कर्जा पाइएको छैन । यी विभिन्न समस्याहरु समाधान गर्नु पर्ने मतदाताको अपेक्षा हो । अहिले उत्पादन र बजारको पनि समस्या छ । मेरो व्यवसायिक जीवनमा अहिलेको जस्तो समस्या कहिल्यै थिएन । यो सबैको समस्या हो । म उमेशलाल श्रेष्ठको समूहबाट उम्मेदवार बनेको हुँ । उहाँ पनि स्पष्ट र निडर उम्मेदवार हो । उहाँ बोल्ड क्यारेक्टर भएकोले मैले पनि उहाँलाई रोजेको हुँ । सबैले उहाँसहित हाम्रो टीमलाई रोज्नु हुन्छ । आफ्नो उत्पादनले देशको माग धान्ने, आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्नु पर्ने, रेमिट्यान्सलाई विकास निर्माणमा लगाउने, निर्यात प्रवद्र्धन गर्ने विषयलाई हामीले प्राथमिकतामा राखेका छौं । हाम्रा मतदाताको अपेक्षा पनि यही हो । कर प्रणाली पनि पारदर्शी छैन । भ्याट प्रणालीलाई पनि पुनर्विचार गर्नु पर्छ । उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्छ ।

वस्तुगत संघहरुको क्षमता विकासका लागि के सोच्नु भएको छ ?

वस्तुगत संघहरु अर्थतन्त्रको मेरुदण्ड नै हो । ती सबै हामीसँग सम्भावना भएका वस्तुहरुका संघहरु नै हुन् । ठूल्ठूला जलविद्युतका संघहरु पनि छन् । उनीहरुका समस्या पनि छन् । नीति नियमका समस्या पनि छन् । सरकारले समयमै पैसा निकासा नगर्ने समस्या पनि छ । अहिले धेरै वस्तुगत संघहरुले मौलिक उत्पादनरु उत्पादन गर्छन् । उहाँहरुको समस्या पनि मैले बुझेको छु । उहाँहरुलाई कसरी समावेश गराउने, कसरी अपनत्व महसुस गराउने भन्ने विषयमा पनि मैले बुझेको छु । उहाँहरुको संलग्नतामा हामी महासंघको समितिमा राख्छौं । र, समस्याहरुलाई सरकारलाई बुझाउँछौं । कार्यान्वयनका लागि लविङ गर्छौं ।

कतिपय वस्तुगत संघहरु महासंघमा आवद्ध हुन नसकेको गुनासो पनि सुनिन्छ, यस विषयमा तपाईंले के सोच्नु भएको छ ?

हामीसँग सम्भावना भएका क्षेत्रहरु उजागर हुँदै गएका छन् । संगठन बन्ने क्रम पनि जारी छ । महासंघको पनि आफ्नै सीमाहरु छन् । त्यहाँ क्राइटेरियाहरु छन् । अहिले २० वटा बढी वस्तुगत संघहरु थपिएका छन् । महासंघको तदारुकता पनि नभएको हुन सक्छ । यी विविध छन् । अब अध्यक्ष हुँदै गरेका चन्द्र ढकालज्यूले पनि महासंघको पछाडि जग्गा छ । त्यो जग्गामा भवन बनाएर वस्तुगत संघहरुका कार्यालय राख्ने भन्ने विषय पनि उठेको छ । मेरो पनि त्यसमा सहयोग हुन्छ । अन्य संगठनहरुलाई पनि संलग्न गराउनेमा सक्रिय हुन्छु ।

अहिले तीन वटा प्यानल भएको कारण पनि महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने धेरैको बुझाइ छ, तपाईंको प्यानलले पहिलो चरणमै विजयी हुने सम्भावना कत्तिको देख्नु भएको छ, दोस्रो चरणमा प्रवेश गरेमा तपाईंको प्यानलको रणनीति कस्तो बन्छ ?

स्वभाविक रुपमा विधानले दिएको व्यवस्था अनुसार ३/४ प्यानल हुन सक्छन् । हामीले उम्मेदवारी घोषणा गर्दा हाम्रो प्यानललाई ६ वटा उद्योग वाणिज्य संघले सर्पोट छ भनेको थियाे । अहिले सबै प्रदेशको साथ छ ।  जिल्लानगरको मतभार ५० प्रतिशत हुन्छ । लगभग जिल्लानगरका साथीहरु हामीसँग नै समाहित भएका छन् । हाम्रो प्यानल मात्रै एउटा प्यानल हो जसले जिल्ला नगर, वस्तुगत र एशोसिएटमा पुरै प्यानल नै घोषणा गरेको छ । अन्यको त्यो अवस्था देखिँदैन । मलाई लाग्छ, पहिलो चरणमै हामी ५१ प्रतिशत ल्याएर विजयी हुन्छौं, यदी त्यसो हुन नसकेमा टप टु ले वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुन्छ । पहिलो त हामी हुन्छौं नै । दोस्रो हुनेसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।

Share News