सय प्रतिशतले बढ्यो महासंघका उम्मेदवारको शुल्क, सवा करोड रकम नगदमै भुक्तानी

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उम्मेदवारहरुको उम्मेदवारी शुल्क शत प्रतिशतसम्म बढेको छ । यसअघि हुने निर्वाचन शुल्कको तुलनामा यसपटक १ सय प्रतिशतले उम्मेदवारी शुल्क बढेको हो । यसअघि अर्थात् २०७७ सालमा भएको महासंघको निर्वाचनको तुलनामा यसपटक उम्मेदवारहरुको उम्मेदवारी शुल्क बढेको महासंघ सचिवालयले जनाएको छ । अघिल्लोपटक ३ लाख रुपैयाँ रहेको वरिष्ठ उपाध्यक्षको उम्मेदवारी शुल्क [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उम्मेदवारहरुको उम्मेदवारी शुल्क शत प्रतिशतसम्म बढेको छ । यसअघि हुने निर्वाचन शुल्कको तुलनामा यसपटक १ सय प्रतिशतले उम्मेदवारी शुल्क बढेको हो ।

यसअघि अर्थात् २०७७ सालमा भएको महासंघको निर्वाचनको तुलनामा यसपटक उम्मेदवारहरुको उम्मेदवारी शुल्क बढेको महासंघ सचिवालयले जनाएको छ । अघिल्लोपटक ३ लाख रुपैयाँ रहेको वरिष्ठ उपाध्यक्षको उम्मेदवारी शुल्क यसपटक ६६.६६ प्रतिशत बढेर ५ लाख रुपैयाँ पुर्याइएको हो ।

यस्तै, उपाध्यक्षको शुल्क भने सय प्रतिशतले बढेको छ । यसअघि डेढ लाख रुपैयाँ रहेको उम्मेदवारी शुल्क बढेर ३ लाख रुपैयाँ पुगेको छ भने कार्यकारिणी सदस्यको उम्मेदवारी शुल्क ५० प्रतिशत प्रतिशत बढेर ७५ हजार रुपैयाँ पुगेको हो । यसअघि कार्यकारिणी सदस्यको उम्मेदवारी शुल्क ५० हजार रुपैयाँ थियो ।

सवा करोड संकलन

महासंघले चैत २८ र २९ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुबाट १ करोड १७ लाख रुपैयाँ बढी शुल्क संकलन गरेको छ । मुख्य निर्वाचन अधिकृत लिलामणी पौडेलका अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार, उपाध्यक्ष र कार्यकारिणी सदस्यहरुको उम्मेदवारीबाट १ करोड १७ लाख बढी रकम संकलन गरिएको हो ।

महासंघको निर्वाचनका लागि ३ जनाले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका हुन् । तीनै जनाबाट १५ लाख रुपैयाँ शुल्क उठेको छ ।

यस्तै, महासंघको जिल्ला नगरको उपाध्यक्षमा तीन जना, वस्तुगत उपाध्यक्षमा तीन जना र एशोसिएट उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर उपाध्यक्षका लागि सुरकृष्ण उपाध्याय, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल र एशोसिएट उपाध्यक्षका लागि जोत्यसना श्रेष्ठ र भरत राज आचार्यले उम्मेदवारी दिएका हुन् ।

महासंघले ८ जना उम्मेदवारहरुबाट ३ लाख रुपैयाँका दरले २४ लाख रुपैयाँ शुल्क संकलन गरेको छ ।

यस्तै, महासंघको जिल्ला नगर संघको १८ सदस्यका लागि ३२ जना, वस्तुगत संघको १४ सदस्यका लागि २८ जना र एशोसिएटतर्फ १९ सदस्यका लागि ३० जना गरी कूल ९० जनाको उम्मेदवारी परेको छ । महासंघले कार्यकारिणी सदस्यहरुको उम्मेदवारबाट कूल ६७ लाख ७५ हजार रुपैयाँ संकलन गरेको छ ।

महासंघको विधान अनुसार प्रत्येक प्रदेशबाट एक÷एक जना सदस्य हुन पाउने व्यवस्था छ । जसमा लुम्बिनी प्रदेशबाट निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य प्रदेशमा निर्वाचन हुने भएको छ । सुदूरपश्चिम प्रदेशबाट २ जना, कर्णाली प्रदेशबाट ३ जना, गण्डकी प्रदेशबाट २ जना, बाग्मती प्रेदशबाट २ जना, कोशी प्रदेशबाट ३ जना र मधेश प्रदेशबाट २ जनाले उम्मेदवारी दिएको पौडेलले बताए । प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरुबाट १५ जना उम्मेदवारबाट ११ लाख २५ हजार रुपैयाँ संकलन गरेको हो ।

नगदमै कारोबार

पछिल्लो समय सरकार र राष्ट्र बैंकले समेत डिजिटल भुक्तानीलाई प्राथमिकता दिइरहेको छ । तर, अधिकांश व्यवसायीहरुले उम्मेदवारी दर्ता गर्दा नगद रकम भुक्तानी गरेका थिए । वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुले पनि ५ लाख रुपैयाँको गड्डी नगद नै भुक्तानी गरेका छन् ।

महासंघको निर्वाचनका लागि मंगलबार भएको मनोनयन दर्ताका लागि डिजिटल भुक्तानीको व्यवस्था गरेका भएपनि नगदमै कारोबार भएको हो । करोडौं रुपैयाँ बराबरको शुल्क भुक्तानी गर्दा अधिकांशले नगदमै शुल्क बुझाए ।

Share News