भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने भएको छ । सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पुर्याउने लगायतका सबै काम पुरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
एसईई परीक्षाका सहभागिता जनाउनका लागि यसवर्षका लागि परीक्षामा सहभागि हुन २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने विद्यार्थी ५ लाख १६ हजार ५९१ जना रहे पनि कक्षा १० सम्म आइपुग्दा भने परीक्षाका लागि आवदेन दिनेमा कूल ४ लाख ८४ हजार २२७ जनाले फारम भरेका थिए । परीक्षा नियन्त्रक श्रेष्ठका अनुसार कक्षा ९ बाट १० मा आउँदा ३२ हजार ३६४ विद्यार्थी घटेको जानकारी दिए ।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा १ लाख ६ हजार ९५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ३२९ परीक्षार्थी सहभागी हुँदैछन् । प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९८२ विद्यार्थी र ५० जना दृष्टिविहीन परीक्षामा सहभागी हुँदैछन् ।
यस वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५६४ संस्थागत गरी ११ हजार ८२९ विद्यालय एसईईमा सहभागी हुँदैछन् । परीक्षाका लागि देशका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल २ हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए ।
त्यस्तै वागमती प्रदेशमा सबैभन्दा बढी ४३४ परीक्षा केन्द्र र कर्णाली प्रदेशमा सबैभन्दा कम १७९ परीक्षा केन्द्र कायम गरिएको छ । कोशी प्रदेशमा ३७८, मधेस प्रदेशमा २७९, गण्डकी प्रदेशमा २२३, लुम्बिनी प्रदेशमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । एसईईमा अघिल्लो वर्ष देशभरबाट ५ लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने ४ लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए ।
७८ हजार जनशक्ति
एसईई परीक्षाका लागि देशभरका परीक्षा केन्द्रमा ७८ हजार जनशक्ति परिचालन हुने भएका छन् । प्रत्येक परीक्षा केन्द्रमा परीक्षा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, सुरक्षाकर्मी, कर्मचारी, सहयोगी गरी करिब ७८ हजार जनशक्ति परिचालन हुने नियन्त्रक श्रेष्ठले जानकारी दिए ।
परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर पुस्तिका जनक शिक्षा सामग्री केन्द्रमा छपाई सकेर जिल्ला जिल्लामा पुर्याइसकिएको छ । यसवर्षको परीक्षामा ५० लाख सेट प्रश्नपत्र छपाइ गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रदेशगत रूपमा फरक–फरक सेट प्रश्नपत्र छपाइ गरी सोहीअनुसार ढुवानी गरिएको हो । विद्यार्थीको अनुपातमा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाइ भएको जनक शिक्षाले जनाएको छ ।
बोर्डले यसवर्ष जापानमा पनि एसईई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपाली १४ जना सन्तानले जापानबाटै परीक्षा दिने भएका हुन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा अध्यापन हुने टोकियोको एक शैक्षिक संस्थाबाट जापानमा रहेका नेपाली एसईई परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको हो ।
त्यसका लागि बोर्डले जापानमा एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानमा रहेका परीक्षार्थीका लागि बोर्डले आवश्यक उत्तरपुस्तिका जापान पठाइसकेको र प्रश्नपत्र भने परीक्षा सुरु हुनु केही समय अगाडि इमेलमार्फत पठाउने भएको छ ।
परीक्षाको तालिका
एसईई परीक्षा चैत १७ गतेबाट २९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजेसम्म हुनेछ । परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
त्यसैगरि चैत १९ गते आइतबार अनिवार्य गणित, चैत २० गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अग्रेजीको परीक्षा हुनेछ । त्यसैगरी चैत २२ गते बुधबार अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ । चैत २३ गते बिहिबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट एण्ड माकेर्टिङ, इञ्जिनियरिङ् ड्रईङ्, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ ।
यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिकधारतर्फ जलीयकृषि तथा मत्स्यपालन, ईलेक्ट्रिकल म्यानेजमेण्ट एण्ड इन्स्टल्मेण्ट, कम्प्युटर नेटवर्किङ्, ईञ्जिनियरिङ सर्भेईङ्ग र म्यूजिक अफ नेपालको परीक्षा हुनेछ ।
यस्तै चैत २५ गते शनिबार साधारण तथा संस्कृततर्फ ः ऐच्छिक प्रथमपत्रका सबै विषयहरु, वेदविद्याश्रम तर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषयहरु, वेदविद्याश्रमतर्फ ऐच्छिक द्वितियपत्रका सबै विषयहरु, प्राविधिक धारतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी एण्ड डेरी प्रडक्सन, युटिलाईजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेण्ट सिष्टम, बिल्डिङ्ग कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।
चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस इञ्जिनियरिङ्ग र इन्स्ट्रयुमेण्ट किबोर्डको परीक्षा हुनेछ । चैत २८ गते मंगलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एण्ड मसरुम, एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाईवे इञ्जिनियरिङ्, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ ।
परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फनै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेण्टेड प्रोग्रामिङ्, इष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ ।