काठमाडौं, १० कात्तिक । यो साताको शुरुदेखि नै निरन्तर घटेको बजारमा बुधबार भने सामान्य सुधार भएको छ । सो दिन बजार खुलेको दुई घण्टामा घटेर १७३५ अंकमा पुगेको बजारलाई बन्द हुँदा भने केही टेवा पुगेको छ । सो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलब ४६ अंकले बढेर १७५३ मा पुगेको छ ।

बजारमा माच्छापुच्छ«े बैंक र शिखर इन्स्योरेन्सको ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, जनता बैंक नेपालको ४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्ट बैंक, नेपाल बङ्गलादेश बैंक र स्ट्याण्डार्ड चार्टड बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।
सो दिन सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, सिभिल बैंक र मेघा बैंक नेपालका लगानीकर्ताले क्रमशः ९.२९ र ८.४० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी राप्तीभरी विकास बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् ।
बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १०५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, फाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् । विकास बैंक, हाइड्रोपावर र बैंकिङ् समूहको परिसूचक क्रमशः ६, ०.५१ र ०.२ अंकले ओरालो लागेका छन् ।