काठमाडौं, ७ कात्तिक । बैंकका बचतकर्ताले करिव ६ वर्षपछि निक्षेपको व्याज दर मुद्रास्फिति दरको हाराहारी पाउन थालेका छन् । व्यक्तिगत बचतकर्तालाई मुद्दती खातामा बैंकले ७.५ प्रतिशत व्याज दिन थालेका छन् ।
सिद्धार्थ बैंकले ६ महिने अवधिको मुद्दतीमा ७.५ प्रतिशत व्याज दिने योजनासहित निक्षेककर्तालाई बचत गर्न आह्वान गरेको छ । अन्य धेरै बैंकहरुले कात्तिकको पहिलो साता व्याजदर वृद्धि गरेको सूचना पत्रपत्रिकामा प्रकाशित गरेको छन् । अधिकांशले मुद्दति बचतमा ७ प्रतिशत व्याजदर तोकेका छन् । बैंकहरुले प्राथमिकताका ग्राहकलाई सार्वजनिक गरेको सूचनामा भन्दा १ प्रतिशतसम्म थप व्याज दिन सक्ने राष्ट्र बैंकको नियम छ ।
सामान्यतय वाणिज्य बैंकले भन्दा विकास बैंकहरुले निक्षेपकर्तालाई बढी व्याज दिन्छन् । त्यस्तै विकास बैंकले भन्दा वित्त कम्पनीले बढी र वित्त कम्पनीले भन्दा बचत तथा ऋण सहकारी संस्थाले बढी व्याज दिन्छ ।
विकास बैंक संघका अध्यक्ष कृष्णराज लामिछानेको अनुसार अन्तर बैंक व्याजदर ४ प्रतिशत नाघेको छ । जबकी एक वर्ष पहिले अन्तरबैंक व्याजदर १ प्रतिशतभन्दा कम थियो । बैंक तथा वित्तीय संस्थाको सेयर पुँजी वृद्धिसँगै लगानी वृद्धिमा परेको चापले बजारमा विगतमा रहेको अधिक तरलता हट्दै गएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार अधिक तरलताको समस्या समाधान भएको छ । निक्षेपकर्ताले उचित व्याज दर पाउने थालेका छन् ।
वित्तीय क्षेत्रमा लगानी योग्य पुँजी अधिक हुँदा निक्षेपकर्ता मर्कामा परेका थिए । बैंकले कम व्याज दिँदा वित्तीय क्षेत्रमा जम्मा हुनुपर्छ बचत अनौपचारिक क्षेत्रमा गएको थियो । ‘बैंकले बढी व्याज अपर गरेपछि निक्षेप संकलन बढ्छ, बैंकमा लगानी योग्य पुँजी जम्मा हुन्छ । औपचारिक क्षेत्रमा लगानी बढ्छ । त्यसले समग्र आर्थिक वृद्धिमा सहयोग पुग्छ’ थापाले विकासन्युजसँग भने ।
बैंक तथा वित्तीय क्षेत्रमा २०६६/६७ सालमा जस्तै लिक्विडिटि क्रन्च (लगानी योग्य पुँजीको हाहाकार) हुने हो कि भन्ने आशंका देखिएको छ । तर त्यस्तो अवस्था नआउने थापा बताउँदछन् । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले राख्र्ने पर्ने अनिवार्य रकम बाहेक अझै थप ३५ अर्ब रुपैयाँ लगानी योग्य अवस्थामा छ । बैंकहरुले निक्षेपको व्याज बढाएपछि निक्षेप वृद्धि हुन्छ ।
यतिबेला व्यक्तिगत निक्षेपकर्ताले भन्दा संस्थागत निक्षेपकर्ताले बढी व्याज पाउन थालेका छन् । नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलका अनुसार कोषले वाणिज्य बैंकमा निक्षेप राख्दा कम्तिमा ८ प्रशित व्याज पाउन थालेको छ । ‘८ देखि ८ दशमलव २५ प्रतिशतसम्म व्याज चलेको छ’ विकासन्युजसँग कुरा गर्दै पोखरेलले भने ।
राष्ट बैंकका अनुसार चालु आर्थिकको प्रथम दुई महिनामा कर्जा लगानी ३ प्रतिशतले विस्तार भएको छ भने निक्षेप करिव १ प्रतिशतले विस्तार भएको छ । यो क्रम अझै केही महिना रहने हो भने बचतकर्ताले मुद्रस्फिति दर भन्दा बढी व्याज दर पाउनेछन् ।
राष्ट्र बैंकका अनुसार भदौंमा उपभोक्ता मुद्रास्फिति दर ७ दशमलव ९ प्रतिशतमा झरेको छ । ५ वर्षअघि वार्षिक मुद्रास्फिति दर १४ प्रतिशतसम्म पुगेकोमा क्रमशः घट्दै गएको छ । यद्यमी गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १ प्रतिशत भन्दा कम रहदा मुद्रास्फिति करिव ९ प्रतिशत रहेको छ ।
सामान्यतय आर्थिक वृद्धिदर भन्दा मुद्रस्फिति दर कम हुनुपर्छ । भारतमा मै पनि पछिल्लो समय आर्थिक वृद्धि ७ प्रतिशतको हाराहारीमा रहदा उपभोक्त मुद्रास्फिति ४ प्रतिशतको हाराहारीमा छ ।