
काठमाडौं । काठमाडौं डनबस्को कलेज र जेभियर एकेडेमी निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठित शैक्षिक संस्था मध्येमा पर्छन् । लामो समयदेखि यी दुई संस्थाको प्रिन्सिपल तथा डाइरेक्टरको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् रश्मी शर्मा मैनाली ।
रश्मी माइती तर्फका बुवा आमाको पुर्खौली थलो पर्वतको लिमिठाना हो । तर, उनी नजन्मदै उनका बुवाआमा काठमाडौ आइसकेका थिए । काठमाडौंमा नै जन्मेपनि उनले स्नातक तह सम्मको पढाई भने भारतको सिलाङबाट गरेकी हुन् । त्यसैले रश्मीलाई नेपालको ग्रामिण परिवेशको विषयमा भने धेरै थाहा छैन् ।
साथै शिक्षित परिवारमा जन्मिएर शिक्षित परिवारमा नै घरजम भएकाले उनलाई लैंगिक असमानताको विषयमा पनि पारिवारिक रुपमा पिडावोध हुनेगरी अनुभव गर्नुपरेन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उनीसँग लैंगिकता प्रकट हुनेगरी ठोक्किन आएका केही अनुभवलाई उनले विकासन्युजमार्फत् बाँडेकी छन् ।
स्नातक तह उत्तिर्ण नगर्दै रश्मीको रश्मीको बिहे भयो । तर, पढ्नुपर्छ भन्ने मनोविज्ञान परिवारमा भएकाले विवाहपछि पनि उनको अध्ययनले निरन्तरता पायो । ‘बच्चा भैसकेको थियो तर, ससुराले पढ्नपर्छ भनेर मोटरसाइकलमा हालेर आँफैले कलेज लैजानुहुन्थ्यो, नत्र मैले पढ्दैनथेँ होला’, उनी विवाहपछिको आफ्नो पढाईको निरन्तरतालाई सम्झिन्छिन् ।
उनको विचारमा पछिल्लो समयमा शहरी क्षेत्रका स्कुल तथा कलेजमा गहिरो हिसाबले लैंगिक विभेद त्यती धेरै छैनन् । तर, सामाजिक तथा पारिवारिक मनोविज्ञानमा भने समस्या रहेको उनको भनाइ छ ।
‘मलाई प्रकृतिले नै राम्रोसँग भूमिकाको निर्धारण गरिदिएको छ जस्तो लाग्छ, दिन/रात, जन्मनु/मर्नु’, उनी भन्छिन्, ‘विगतमा पारिवारिक परिवेशमा एकजनाले घरमा काम गर्ने अर्को बाहिर जाने प्रचलन थियो, जुन अहिलेको तुलनामा ठिक थियो जस्तो लाग्छ ।’ तर, पहिलेको समयमा महिला मात्रै घरमा बस्नुपर्ने र पुरुष बाहिर जाने प्रचलनलाई उनले नकरात्मक रुपमा टिप्पणी गर्छिन् । त्यसले समग्र महिला जगतलाई समाजमा पछाडि पारेको भन्दै उनले क्षमताको आधारमा कार्यविभाजन भएको भए लैंगिक खाडल नबढ्ने तर्क गर्छिन् ।
पछिल्लो समयमा परिवारहरुमा आमा र बाबु दुबै नहुने हुँदा बालबालिकाहरुमा डिप्रेसन, एन्जाइटी लगायतको समस्या आउने गरेको उनको भनाइ छ । परिवारमा यो स्तरको समस्या आउनुमा पुरुषको मात्रै नभएर समाजको समस्या रहेको उनी बताउँछिन् ।
स्कुल वा कलेजमा विद्यार्थीको रुपमा अध्ययन गर्दा उनको अनुभवमा छात्रा वा छात्रको रुपमा लैंगिक विभेद त्यति नदेखिएको उनको भनाइ छ । उनले आफूलाई एउटा प्रभावकारी शिक्षक भएको दाबी गर्दै कक्षाकोठामा हुने लैंगिक विभेद व्यक्तिमा निर्भर हुने धारणा राख्छिन् । ‘पढ्ने बेलामा कुनै विभेद देखिँदैन तर काम गर्ने बेलामा भने विभेद देखिन्छ’, उनी भन्छिन, ‘पुरुषहरुले महिला नेतृत्वलाई हेर्ने दृष्टिकोणमा चाहिँ अलिक फरक भएको देखिन्छ ।’
अहिलेको जिम्मेवारी शिक्षण पेशामा आवद्ध हुँदा विभागीय इन्चार्ज, एनजिओको प्रशिक्षक लगायत विभिन्न नेतृत्वदायी भूमिकामा रहेर उनले काम गर्दै आएकी हुन् । शिक्षित तथा समाजको नेतृत्वदायी क्षेत्रमा पनि लैंगिक विभेदहरु देखिने उनी बताउँछिन् । आफ्नै हैसियत सरहका पुरुषहरुले पनि काम गर्ने शिलशिलामा महिलाहरुलाई सक्षम नेतृत्वको रुपमा स्वीकार गर्न आनाकानी गर्ने गरेको उनको अनुभव छ ।
‘कतिपय अवस्थामा पुरुषहरुले बडी ल्याङ्गवेजले पनि इग्नोर गरेजस्तो, नटेरे–नटेरेजस्तो गरेजस्तो लाग्छ’, उनले अनुभव सुनाइन्, ‘कतीपय अवस्थामा यस्तो देखिन्छ, बडी ल्याङ्ग्वेजले ओ तिमी पो ! वाउ यु ! सायद यो मलाई मात्रै होइन, सबैतिर हुन्छ होला ।’ यस्तो प्रकारको व्यवहार पुरुषबाट मात्रै नभएर महिलाबाट पनि आउने उनको अनुभव छ । महिलाहरुले समेत पुरुष नेतृत्वलाई जत्तिकै महिला नेतृत्वलाई सहज रुपमा नलिने गरेको उनी बताउँछिन् ।
पोखरामा पछिल्लो समय भएको यति एयर दुघर्टनाको विषयमा पनि लैंगिक विभेद झल्किने गरी टिप्पणी भएको रश्मीको बुझाइ छ । ‘यतिको जुन प्लेन दुघर्टना भयो नि, त्यसमा दिग्गज मान्छेले पनि महिलालाई चलाउन दिन हुँदैन भन्ने सुनेको छु, दुघर्टना यो पहिला भएको त होइन नी ?’, उनले भनिन् । त्यसैले मानिसहरुको दृष्टिकोणमा चाहिँ समस्या छ ।
रश्मीको हजुरबुवाले पुरोहितको रुपमा काम गर्ने गर्दथे, जसले गर्दा उनको परिवारमा परम्परागत संस्कृतिको राम्रो प्रभाव परेको उनी बताउँछिन् । ‘हाम्रो पारिवारिक पृष्ठभूमि एकदमै धार्मिक प्रकृतिको रहेको छ, मेरो घर परिवारमा के सिकाइन्थ्यो भन्दाखेरी सबैलाई आदर गर्नुपर्छ ।’ उनले सम्बन्धित पारिवारिक पृष्ठभूमिले पनि मानिसको प्रकृति निर्धारण गर्ने र त्यसले पनि विभेद निर्धारणमा भूमिका निर्वाह गर्ने उनले बताइन् ।
रश्मी नेपालमा इएमबिए र एमबिए कार्यक्रम सञ्चालन गर्ने कलेजको पहिलो महिला प्रमुख हुन् । सो पोजिसनमा उनी महिला भएर भन्दापनि क्षमताका आधारमा पुगेको बताउँदै तर, सञ्चार जगतले नै आफूलाई एउटा महिला नेतृत्वको हिसाबले मात्रै सम्बोधन गर्दा विभेदको महसुस हुने गरेको सुनाउँछिन् ।
‘मलाई सञ्चारकर्मीहरुले केही कार्यक्रममा बोलाउँदा उहाँहरुले तपाईं एकजना मात्रै महिला हुनुहुन्छ भन्ने’, ‘यो त मेरो बायोलोजिकल जेन्डर हो नि त, तर यदी मैले शिक्षा क्षेत्रमा यो तहको भूमिका निर्वाह गर्न सक्दैनथे भने मलाई महिला भएकौ आधारमा त अवस्य पनि निमन्त्रणा हुँदैन नी’, उनले अनुभव सुनाइन् । ‘मलाई त मेरो क्षमताको आधारमा नै रेस्पोन्स गरिएको हो नी, जबकी लिंगका आधारमा होइन ।’
विभेदहरु छैनन् भन्दा भन्दै पनि समाजको धारणामा रुपान्तरण आइनसकेको उनको भनाइ छ । उनले कुनै समयमा एउटा संस्थामा फ्याकेल्टी नेतृत्वको रुपमा काम गर्दा आफ्नै सासुआमाको दुघर्टना भएर एक महिना जति अस्पतालमा राख्नुपर्ने अवस्था भएको र सो अवस्थामा विदा माग्दा विभेद भोग्नुपरेको उनले उदाहरण सुनाइन् । ‘मैले संस्था र व्यक्तिको नाम त नलिउँ, तर मैले बिदा माग्न भनेर प्रिन्सिपलको अफिसमा पुग्दा उहाँले ‘हैन महिलाहरुले कति बिदा लिन्छन्, सुत्केरी बिदा, को बिमारी भयो त्यो बिदा, तपाईंहरुले कतिवट बिदा लिनुहुन्छ’ भन्नुभयो ? आफूले बिदा लिनैपर्ने सुनाउँदा प्रिन्सिपलले मुख खुम्च्याएपछि राजीनामा पत्र लेखेर सम्म दिनुपरेको उनले सुनाइन् ।
समाजमा अदृश्य रुपमा महिलामाथिको दृष्टिकोण विशेष प्रकारको रहेको अनुभव उनको छ । ‘समाजमा महिलाले काम पनि गरोस, तर घरको काम पनि नबिगारोस भन्ने धारणा छ’, उनले भनिन्, ‘मेरो ससुरा बुवाले मलाई इङ्लिस् कम्युनिकेशन पढ भन्नुभयो, किन भन्नुभो भने पढाउँछ्यौ नि त घर पनि हेर्न पाउँछ्यौ भनेर’, उनले भनिन्, ‘मेरो सासुआमालाई पनि शिक्षण पेशामा नै किन राखियो भने घरपनि उहाँले चलाउन मिल्छ नि त भनेर ।’
परिवर्तित परिस्थितिमा मानिसहरुको भूमिका गतिशिल भइरहेको तर, महिलाहरुलाई घरबार हेर्नुपर्छ भनेर ब्याक गर्न खोज्ने धारणा अझै पनि नहटेकोमा उनको गुनासो छ । ‘घरबार हेर्नुपर्छ, तर महिलाले नै हेर्नुपर्छ भन्ने होइन नी’, उनी भन्छिन्, ‘घरबार हेर्न महिलालाई बाध्य पारिन्छ भने महिला सरहको पुरुषलाई किन बाध्य पारिँदैन ?’
दुईवटा कलेजको प्रमुख जिम्मेवारीमा रहेर अहिले उनलाई पनि आफ्नो पेशा भन्दा घर नै बढी महत्वपूर्ण लाग्ने बताउँछिन् । ‘म अहिले यो जिम्मेवारीमा छु, तर पनि मलाई घर नै बढी महत्ववपूर्ण छ, जति मलाई यो संस्थाले व्यक्तित्व र पहिचान दिएको छ, त्यहाँ पनि मेरो पहिचान छ ।’ बच्चाबच्ची बिमारी हुँदा आमाले मात्रै बिदा लिने र स्याहार सुसार गर्ने संस्कार रहेको उनले बताइन् । घर र बच्चाबच्ची हेर्दा पुरुष र महिलाको बराबरी भूमिका हुनुपर्ने उनको भनाइ छ ।
जे–जे भूमिकाले महिलालाई महिला बनाएको छ, त्यो भूमिका पुरुषलाई पनि दिँदा महिलालाई पनि समाजमा पुरुष सरह विकास गर्न सकिने उनी बताउँछिन् । ‘छोरीले एउटा सन्तानलाई संसारमा लिएर आउँछे, घरपरिवार बाँधेर राख्छे, कति राम्रो काम गरेकी छ’, उनी भन्छिन्, ‘छोरा मान्छेलाई पनि सहकार्यमा बाँध्न पर्यो ।’ सरकारी तथा निजी क्षेत्रका संस्थाहरुले पनि महिलाको वायोलोजिकल फरकपना मैत्री सहजिकरण गरिदिनुपर्ने उनको धारणा छ ।
आफ्नै माइती परिवार शिक्षित भएपनि परिवारमा महिला भनेको अलिकति निहुरिउनु पर्ने, अनुशासित हुनुपर्ने र पुरुष भनेको जे पनि गर्नसक्ने हुन्छ भन्ने धारणा भएको उनले सुनाइन् । ‘छोरीले पनि जे पनि गर्दा हुन्छ, तर यो पुरानो पिँढीमा त मैले परिवर्तनको अनुमान गर्न सक्दिन, नयाँ आउँने पिँढीलाई बाबुआमाले दुईतर्फी हिसाबले हुर्काउने हो भने परिवर्तन हुनसक्छ ।’
औसतमा सन्तानको रुपमा छोरा नै चाहिने भन्ने हराउँदै गएको, छोरीले वा छोराले आफ्नो साथी रोज्न सक्ने जस्ता धैरै परिवर्तन विकास हुँदै गएको पनि उनले अनुभव गरेको सुनाइन् । नेपालको शिक्षा विदेशीको नक्कल गरेर जोरजाम पारेर बनाइएको हुँदा नेपालको समाजमा अनुकुलन प्रयोग हुन नसकेको उनको भनाइ छ ।
शिक्षकहरुमा प्रभावकारी क्षमताको अभाव रहेको आफुले महसुस गरेको उनले बताइन्, जहाँ पाठ्यक्रमको डेलिभरी सिर्जनशील हिसाबले हुन नसकेको उनले बताइन् । जसले गर्दा पनि महिलाहरुलाई बुझ्ने विषयमा सरल हुन नसकेको र त्यसैका कारण महिलाहरु सिमान्तकृत हुने अवस्था सिर्जना भएको हो । साथै संस्कृतिमा रहेको सकारात्मक पक्षलाई व्यवहारिक रुपमा प्रयोग गर्ने विषयमा पनि महिला र पुरुषको समान सहकार्य हुन नसकेको उनको भनाइ छ । संस्कृतिमाथि भएको बुझाइलाई हटाउन शिक्षाले भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताइन् ।
आरक्षणको नाममा क्षमता नभएका महिलालाई अगाडि ल्याउने नभएर क्षमता भएका महिलाहरुलाई प्रतिस्पर्धाका अवसर दिने विषयमा आफ्नो सहमति भएको उनले बताइन् । पछिल्लो समयमा विशेष गरी राजनीतिक क्षेत्रमा बोल्न लेख्न समेत क्षमता नभएका महिलाहरुलाई आरक्षणको नाममा भित्र्याइएको उनले बताइन् । ‘आफ्नो अधिकार बुझेर काम गर्न सक्नेलाई अवसर दिनुपर्छ, सिनमा मात्रै महिला देखिएर भएन्, महिलाको सहभागिताले पनि राष्ट्रको लागि योगदान दिनुपर्छ ।’