काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिमा भर्ना खुला गरेको छ । बूढानीलकण्ठ स्कुल र साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गराउने भएकाले छात्रवृत्तिमा भर्ना खुला गरेको हो ।
विपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरिने भएकाले भर्नाका लागि दरखास्त आह्वान गरेको हो । उक्त छात्रवृत्तिका लागि वि.सं. २०६९ बैशाख १ तेदेखि २०७० चैत ३० गतेसम्म जन्मेर कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरेको हुनुपर्नेछ ।
शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र/छात्रामध्ये भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुनेगरी छनोट गरिने जनाएको छ । चैत ३० र चैत २८ गतेसम्म फाराम बुझाउनु पर्नेछ । लिखित परीक्षा चैत २८ गते मंगलबार बिहान ११ बजे हुनेछ ।
बूढानीलकण्ठ स्कुलका निमित्त खुला तथा आरक्षण सिटको सङ्ख्या ४२ जना रहेका छन् । खुला र आरक्षणतर्फ एक जिल्लाबाट एक जनाभन्दा बढी नहुने गरी ४० जना विद्यार्थी छनोट गरिनेछ । आरक्षण सिट २० जनाको रहेको छ । जसमा लोपोन्मुख २ जना, दलित ४ जना, मुस्लिम १ जना, मधेशी ४ जना, आदिवासी/जनजाति ५ जना, पिछडिएको क्षेत्र/द्वन्द्वपीडित २ जना छनोट गरिनेछ ।
विद्यालय रहेको स्थानीय तह बूढानीलकण्ठ नगरपालिका भित्रका एक छात्र र एक छात्रा गरी २ जना छनोट गरिनेछ । यस्तै, साझेदारी कार्यक्रम अन्तगर्तका साझेदारी स्कुलका निमित्त उपलब्ध भएसम्म जिल्ला नदोहोरिने गरी जम्मा ७७ जना विद्यार्थी छनोट गरिनेछ । जसमा आरक्षणतर्फ दलित ५ जना, मुस्लिम २ जना, मधेशी ६ जना, जनजाति ९ जना र छात्रा कम्तीमा २६ जना छनोट गरिनेछ ।