काठमाडौं, ३ कात्तिक । नेपाल धितोपत्र बोर्डले गैर आवासीय नेपाली (एनआरएन)लाई नेपालको सेयर बजारमा लगानी ढोका खोलिदिन लागेको छ । यस सम्बन्धमा कार्यविधि बनाउन बोर्डले सर्ब पक्षिय समिति गठन गरेको छ ।
बोर्डका नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशक निरज गिरीकाे संयोजकत्वमा गठित उक्त्त समितिमा अर्थमन्त्रालयका उपसचिव बैकुन्ठ निधी शर्मा, धिताेपत्र बाेर्डका निर्देशक कृष्णा पाेखरेल, उपनिर्देशक निराजन घिमिरे, नेपाल राष्ट्र बैंक र नेप्सेका पदाधिकारीहरु सदस्य रहने गरी एक समिति गठन गरिएको छ । उक्त समितिमा एनआरएनको प्रतिनिधि समेत सहभागिता रहने व्यवस्था रहेको बाेर्डले जनाएकाे छ ।
धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई सहभागी गराउन अध्ययन गरी कार्यविधि बनाउन आवश्यक देखिएकोले समिति बनाइएको धितोपत्र बोर्डले जनाएको छ । समितिलाई यस विषयमा अध्ययन गरी आवश्यक कार्यविधिको मस्यौदा तयार गरी सिफारिस गर्न जिम्मेवारी दिइएको छ ।
उक्त समितिले एनआरएनको सहभागिताबाट धितोपत्रको दोस्रो बजार हुँदै अर्थतन्त्रमा पर्ने प्रभाव समेतको अध्ययन गरी दुई महिनाभित्र कार्यविधि तयार गर्नेछ । यसको कार्यान्वयन पश्चात धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो हुने र नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने बोर्डको अपेक्षा रहेको छ ।
एनआरएनले धितोपत्रको दोस्रो बजारमा सहज रुपमा प्रवेशको लागि पटक पटक माग गर्दै आईरहेका छन् । नेपाल सरकारले पनि विगतकोे बजेटमा धितोपत्र बजारमा एनआरएनको लगानी आकर्षित गराउने नीति लिएको घोषणा गरेको थियो । तर अहिलेसम्म एनआरएनले सेयर बजारमा लगानी गर्न पाएका छैनन् ।
धितोपत्रको दोस्रो बजार कारोवार अभौतिकिकरण भई बजार आधुनिकिकरणको युगमा प्रवेश गरेको, नेपालको धितोपत्रवजारको क्षेत्र समेत विस्तार हँुदै गईरहेकोले एनआरएनलाई लगानीको ढोका खुला गर्नु उपयुक्त हुने धितोपत्र बोर्डको निष्कर्ष छ ।