काठमाडौं, २ कात्तिक । नेपाल धितोपत्र बोर्डको निरन्तरको ताकेताका बावजुद तत्काल थप क्लियरिङ बैंक नथपिने भएको छ । बोर्डले गत बैशाख १ गतेदेखि नै न्युनतम ३ वटा क्लियरिङ बैंक सञ्चालन गर्न निर्देशन दिएको भएपनि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सफ्ट वेयर र अन्य प्राबिधिक पक्षलाई देखाएर हालसम्म क्लियरिङ बैंक थपेको छैन् । सिडिएसले अझै केहि महिना नयाँ क्लियरिङ बैंक थप्न नसकिने बताएको छ ।
‘सफ्ट वेयरको काम सकिनै लागेको छ, त्यसपछि क्लियरिङ बैंकका लागि टेण्डर प्रक्रिया सुरु हुन्छ, त्यो प्रक्रिया पुरा भएर क्लियरिङ बैंकले काम थाल्न अझै केहि समय लाग्छ’, सिडिएसका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले विकासन्युजसँग भने ।
उनका अनुसार हालसम्म थप क्लियरिङ बैंक सञ्चालनका लागि सफ्ट वेयर विकासकै काम भैरहेको छ । त्यसपछि टेण्डर आव्हान गरिनेछ र मुल्यांकनका लागि पनि केहि समय लाग्नेछ । सार्वजनिक खरिद ऐनलाई टेकेर क्लियरिङ बैंकका लागि टेण्डर र मुल्यांकनको काम गर्नुपर्ने भएकाले ढिला हुने गुप्ताले बताए । ‘सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार क्लियरिङ बैंक थप्ने काम अघि बढ्छ, टेण्डरका लागि समय छुट्याउनु पर्छ, मुल्यांकनका पनि छुट्टै आधार र समय सिमा छ, त्यसकारण अझै केहि समय लाग्छ’, गुुप्ताले भने ।
नेपाल धितोपत्र बोर्डले बैशाख १ गतेदेखि क्लियरिङ बैंकको संख्या कम्तिमा ३ वटा बनाउन नेप्से र सिडिएसलाई निर्देशन दिएको थियो । माघ १३ गते बोर्डले निर्देशन दिएको भएपनि सिडिएसले चैतको अन्तिम साता थप क्लियरिङ बैंक आवश्यक नरहेको जवाफ बोर्डमा पठाएको थियो । तर धितोपत्र बोर्डले सिडिएसको जवाफ प्रति तिब्र असन्तुष्ठि जनाउँदै तत्काल कार्यान्वयन गर्न पुनः निर्देशन दिएको थियो ।
बोर्डले निर्देशन दिएको नौं महिना र कार्यान्वयन गर्न तोकेको समय सिमा नाघेको पाँच महिनापछि पनि नयाँ क्लियरिङ बैंक थपिएका छैनन् । हाल ग्लोबल आइएमई बैंकले मात्रै क्लियरिङ बैंकको काम गर्दै आएको छ । एउटा मात्रै क्लियरिङ बैंक हुँदा चेक राफसाफमा ढिलाई भएर लगानी कर्ताले सास्ती भोग्दै आएका थिए ।