काठमाडौं १ कार्तिक। नेपाल टेलिकमले फोरजी सेवा विस्तारका लागि नेपाल दुरसञ्चार प्राधिकरणलाई रोल अाउट प्लान बुझाएको छ। टेलकमको योजनाअनुसार अबको दुई महिना भित्र काठमाडौं उपत्यकाका तीनजिल्ला तथा पोखरा उपमहानगरपालिका क्षेत्रमा फोरजी सेवा विस्तार गर्ने जनाएको छ।
यसअघि नै नेपाल दुरसञ्चार प्राधिकरणले टेक्नोलोजी न्युट्रल गरेर फोरजी सेवा विस्तार गर्नका लागि दुरसञ्चार सेवा प्रदायकलाई सहज बनाइदिएको थियो।
टेलिकमले फोरजी सञ्चानलका लागि पाँच मेगाहर्ज फ्रिक्वेन्सी छु्ट्याएको रोल अाउट प्लानमा उल्लेख रहेको छ। ‘टेलिकमले पुषदेखि फोरजी चलाउने योजना प्राधिकरणमा बुझाएको छ’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले विकासन्युजसँग भने ‘सोमवार टेलिकम प्रमुख नै अाएर रोलअाउट प्लान बुझाउनुभएको हो।’
टेलिकमले १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा टुजी चलिरहेको फ्रिक्वेन्सीमा फोरजी चलाउन लागेको हो। उसले १८ सय मेगाहर्जमा १५ मेगाहर्ज पाएको छ। १५ मध्ये १० मेगाहर्ज टुजी र पाँच मेगाहर्ज फोरजीका लागि छुट्याएको हो।
यसअघि रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण समितिले दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यसम्वन्धि नीति संसोधनसहित पास गरेपछि दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई सेवा अगाडि बढाउन बाटो खुलेको हो।
चिप्स र सफ्टवेयर थप गर्दा फोरजी चल्ने
टेलिकमको रोलअाउट प्लानमा हाल सञ्चालन भइरहेको १८ सय मेगाहर्जको टुजी सेवामा फोरजी सेवा अपग्रेड गर्नका लागि धेरै कुरा थप गर्नु नपर्ने जनाएको छ। उसले प्रत्येक विटिएस टावरमा एक एकवटा फोरजी चिप्स र फोरजीको सफ्टवेयर अपग्रेड गर्दामात्र पुग्ने जनाएको छ। त्यसका लागि दुईपहिनाभित्र खरिद प्रकृया सकेर सेवा सुरु गर्ने टेलिकमले जनाएको छ।
के हो फोरजी
फोरजी अर्थात फोर्थ जेनेरेसन नेटवर्क । फोरजी थ्रीजीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो । फोरजी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ । यो सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोनी, गेमिङ सर्भिस, हाइ डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रीडी टेलिभिजन र क्लाउड कम्प्युटिङ पर्छन्।
के हो टेक्नोलोजी न्युट्रल
टेक्नोलोजी न्युट्रल भनेको कुनैपनि सेवाग्राहीले आफूले चाहेको अनुसार नेटवर्क अपरेटर र फ्रिक्वेन्सी चेन्ज गरेर सेवा प्राप्त गर्न सक्ने प्रविधि हो । जस्तो कि तपाईले टुजी सेवा लिइरहनु भएको छ भने तपाइले त्यहि सेवा र अपरेटरमा चाहेअनुसार थ्रिजी वा फोरजी सेवा चलाउन सक्नुहुन्छ ।