
फाेटाे-प्रनव प्रधान, बुढानिलकण्ठ स्कूल
काठमाडौं । बुढानिलकण्ठ स्कूलको गेटबाट प्रवेश गर्ने वित्तिकैको पर्यावरण तथा भौतिक संरचनाले विद्यालयहरुभन्दा फरक अनूभूति दिन्छ । स्वच्छ वातावरण, वातावरणमैत्री पूर्वाधार, स्कूलभित्रै नलेजपार्क, त्यसभित्र तरकारी खेती, गाईपालन, बेकरी उद्योग, सफा बाटो, प्रयाप्त खेल मैदानहरु ।
५७४ रोपनी क्षेत्रफलको सिमाभित्र रहेको स्कूलमा ५ देखि १२ कक्षा सम्म पढ्ने ११५० जना विद्यार्थी छन् । उनीहरुलाई पढाउने १५० भन्दा धेरै शिक्षक र कर्मचारी पनि छन् । स्कूलमा नै आवासीय रुपमा बस्छन् । विद्यार्थी, शिक्षक, कर्मचारी सबै आवासीय छन् ।
यो भनेको कुनै पालिकाको सानो वडाकै जनसंख्या जति नै हो । तर, काठमाडौंको प्रदुषित सहरको छेउमा रहेको यो विद्यालयको भित्री परिवेशमा प्लाष्टिकको टुक्रा कतै फालिएको अवस्थामा देख्न पाईंदैन । सबैले आ–आफ्नो भूमिका निभाइरहन्छन् । कोही शिक्षक वा कर्मचारी पनि कतै टहलिइरहेको देखिँदैन ।
पढ्ने, बस्ने, खाने, सिक्ने र कार्यालयका थुप्रै आकर्षक भवनहरु स्कूल परिसरभित्र रहेका छन् । विभिन्न विषयका आकर्षक आधा दर्जन खेल मैदान, जंगल, फार्मिङ क्षेत्र, सबै क्षेत्रलाई जोड्ने सडकले स्कूललाई मनमोहक बनाएको छ ।
स्कूलले पढाउने सबै शिक्षकहरु र कतिपय कर्मचारीहरुलाई बस्नको लागि सुन्दर क्वाटरहरु दिएको छ । चाहँदा वा आवश्यकता पर्दा आफ्ना बाबुआमा, श्रीमान÷श्रीमती र छोराछोरी पनि ल्याउन पाइन्छ । बस्ने सुविधा मात्रै होइन, स्कूलले शिक्षकहरुलाई तलब पनि अन्य सरकारी स्कूलको तुलनामा झण्डै दोब्बर दिएको छ । त्यसैले उनीहरु आफ्नै घरजस्तै स्कूललाई माया गरेर बस्छन् ।
स्कूलको उत्तरी भागमा रहेको झण्डै डेढ सय रोपनी क्षेत्रफललाई स्कूलले नलेज पार्क नाम दिएको छ । जहाँ तरकारी, फलफुल र अन्य कृषिजन्य खेति गरिएको छ । त्यस्तै, जलविद्युत उत्पादनको नमूना र फर्निचर उद्योग पनि नलेज पार्कमा रहेका छन् । विद्यार्थीले पढाईसँगै व्यवहारिक शिक्षाको अभ्यास गर्नको लागि स्कूलले नलेज पार्कको विकास गरेको प्रधानाध्यापक होमनाथ आयार्य बताउँछन् । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) काँशीराम शर्माले नलेज पार्क स्कूलको मुख्य विशेषता मध्ये एक भएको बताउँछन् ।
नलेज पार्कमा आधा दर्जन प्लाष्टिकका टनेलमा लटरम्म गोलभेँडा फलेका छन् । केही नयाँ टनेल निर्माण गरेर सिताके च्याउको खेती शुरु गरिएको छ । जहाँ स्कूलका केही कर्मचारीहरुले काम गरिरहेका छन् । एउटै गोलभेँडाको बोटले २० किलोसम्म उत्पादन दिएको स्कूलका सीईओ शर्मा बताउँछन् । विद्यार्थीले अभ्यास गर्छन्, त्यसलाई राम्रो बनाउन अरुले काम गर्नुपर्ने उनी बताउँछन् ।

स्कुलकै फार्ममा फलेको टमाटरको केचब पकाउँदै स्कुलका कर्मचारी
फलेको सबै गोलभेँडा स्कूलको मेसमा मात्रै खपत हुँदैन । त्यसैले बाँकी रहेकोलाई केचब बनाएर खाजामा प्रयोग गर्ने गरिन्छ भने केही बेच्ने गरिएको सीईओ शर्मा बताउँछन् । स्कूलले आफूलाई चाहिने फर्निचर बनाउने तथा मर्मत गर्ने उद्योग आँफै सञ्चालन गरेको छ । जहाँ केही कर्मचारीहरुले काम गरिरहेका छन् ।
नलेज पार्कमा भुटानबाट ल्याएको अलैँची कलकल मौलाएका छन् । कागती, कफी र एभोकार्डोका बिरुवा पनि हुर्किदै छन् । रोपिएका एक–एक बिरुवाहरुको हुर्काउने जिम्मेबारी विद्यार्थीले लिएका छन् ।
माटो र रुख नछुने विद्यार्थीलाई आफ्नो देशको माया विकास नहुने स्कूलका प्रधानाध्यापक आचार्यको बुझाई छ । ‘हामीले विद्यार्थीलाई माटोमा काम गराउँछौं, यहाँ पढेका विद्यार्थी जुन देशमा छन्, उनीहरुले स्कूल जहिले सम्झिन्छन्’, प्राधानाध्यापक भन्छन्, ‘यति धेरै माया गर्छन की यति धेरै माया वास्तवमा कुनै स्कूलको ग्रयाजुयटले आफ्नो पूर्व विद्यालयलाई गर्दैन ।’ ७/८ वर्ष विद्यार्थीले स्कूलसँग जोडिएको माटोमा समय व्यतित गर्दा उनीहरुलाई स्कूलको औधी माया लाग्ने गरेको आचार्य बताउँछन् ।

स्कुलमा सरसफाइको काम गर्दै विद्यार्थी
माटोमा काम गर्दै हुर्केका विद्यार्थीमा देशप्रतिको भावना र माया पनि बढी हुने प्रधानाध्यापक आचार्यको भनाइ छ । ‘अहिले सहरबजारमा विद्यार्थीहरु एउटा कोठामा बस्छन्, स्कूल जान्छन र फर्केपछि पनि एउटै कोठामा बस्छन्’, उनी भन्छन्, ‘उनीहरुले माटो देख्दैनन्, रुख देख्दैनन्, वातावरण देख्दैनन्, वातावरणसँग घुलमिल गर्दैनन् ।’ त्यसरी हुर्केका विद्यार्थीहरुमा देशप्रति कम माया–प्रेम हुने उनको भनाइ छ ।
नलेज पार्क सँगै व्यवहारिक अभ्यासको लागि स्कूलले लर्निङ रिसोर्सेस सेन्टर, अंग्रेजी ल्याब, संगीत तथा कला केन्द्र लगायतका विषयहरु पनि सञ्चालन गरेको छ । जहाँ विद्यार्थीहरुले विभिन्न विषयमा अनुसन्धान, अभ्यास र सिर्जना गर्ने गर्छन ।

स्कूलको लर्निङ रिसोर्सेस सेन्टरमा विद्यार्थी
छात्र तथा छात्राहरुलाई खेल अभ्यासको लागि भलिबल, बास्केटबल र फुटबलका छुट्छुट्टै खेल मैदानहरु बनाइएका छन् । सबै विद्यार्थीहरु आ–आफ्नो रुची अनुसार कुनै न कुनै खेलको अभ्यासमा सहभागी हुने गर्छन् । यसै वर्षमा स्कूलले सहरी विकास मन्त्रालयको सहयोगमा फुटसल मैदान निर्माण गर्ने तयारी गरेको छ ।
यसै वर्षबाट स्कूलले नलेज पार्क क्षेत्रभित्रै गाई फार्म सञ्चालन गर्ने तयारी गरेको छ । त्यसको लागि आवश्यक पूर्वाधार निर्माण गर्न टेण्डर पनि आह्वान भइसकेको छ । अहिले स्कूलमा दैनिक रुपमा चिया र दुध पिउन ३ सय लिटर दुध खरिद गर्ने गरिन्छ । अब गाई पालेर सो दुधको आपूर्ति गर्ने स्कूलको योजना रहेको सीईओ शर्मा बताउँछन् ।
‘गाई पाल्दा विद्यार्थीले गाई पालन र दुध उत्पादनको सबै प्रक्रियामा प्रत्यक्ष जोडिन पाउँछन्, जसले विद्यार्थीहरुको सिकाई र व्यवहारमा पनि निखारता ल्याउँछ’, शर्मा भन्छन् ।
सत्कर्मको अभ्यास
बालबालिकाहरु झण्डै १० वर्षको उमेरदेखि नै यस स्कूलको होस्टेल जीवनमा प्रवेश गरेका हुन्छन् । अन्य विद्यालयहरुले जस्तै यो स्कूलले सँधै सार्वजनिक विदा दिँदैन । ५ कक्षामा पढ्न आएका साना–साना बालबालिकाहरुले विद्यालयको नियमअनुसार नयाँ जीवनको शुरुवात गर्दा केही वर्ष निकै गाह्रो हुने गरेको सीईओ शर्मा बताउँछन् ।
विद्यार्थीहरु बस्ने आवास गृहलाई स्कूलले हाउसको नाम दिएको छ । सबै हाउसमा विद्यार्थीहरुको चौविसै घण्टा रेखदेख गर्न आयाहरुको व्यवस्था गरिएको छ । जसले आमाहरुले जस्तै विद्यार्थीहरुलाई ख्याल गर्छन् । त्यस्तै शिक्षकहरुको तर्फबाट हाउस अफ हेड र सहायक हेड पनि प्रत्येक होस्टलमा रहेका हुन्छन् ।

स्कूलको होस्टेल भवन
विद्यार्थीहरुले स्कूल समयमा लगाउने ड्रेस र अरु समयमा लगाउने कपडा स्कूलले नै तोकिदिएको हुन्छ । वर्गका हिसाबले धनी, मध्यम वा गरिब परिवारका व्यक्तिहरु स्कूलमा आउने भएपनि फेसनमा एकरुपता हुन्छ । कुनै धनी परिवारको विद्यार्थीले महंगो कपडा लगाउन खोजेर पाउँदैन, फेसनमा कायम गरिएको एकरुपताले ।
आफुले लगाउने भित्री कपडा बाहेक अन्य कपडा लन्ड्रीमा धुने व्यवस्था मिलाइएको छ । साना–साना बालबालिकाले पनि आफुले लगाउने कपडा धुने, मेकअप गर्ने, नुहाउने जस्ता आफ्ना निजी कामहरु आँफैले गर्नुपर्ने हुन्छ । आफ्ना अभिभावकहरुबाट टाढा रहेर शुरुवात हुने गुरुकुल जीवनमा विद्यार्थीलाई संस्कृति, समाज र परिवारका मूल्यमान्यतासँग जोडिरहन स्कूलले निकै ख्याल राख्ने गरेको प्रधानाध्यापक आचार्यले बताए ।
बिहान खाजादेखि साँझको खाना सबैले सँगै एउटै मेसमा खान्छन् । शिक्षक, कर्मचारी र विद्यार्थी कसैले पनि बाहिरको जंकफुड स्कूल भित्र लगेर खान पाईंदैन । क्यान्टिनमा हप्ताभरीको खाना खाजाको सेड्युल बनाइएको छ । खाना खाजा खाने ठूलो हल छ, जहाँ ६५० जनाले एकैपटक बसेर खान मिल्छ । स्कूलका सीईओ काँशीराम शर्मा भन्छन्, ‘पहिले विद्यार्थीले २ लट गरेर खान्छन्, अनि हामी खान्छौं ।’

स्कुलको किचन, जहाँ एकैपटकमा ६ सय भन्दा धेरै विद्यार्थीले खाना खान मिल्छ ।
पछिल्लो समयका युवाहरुले आफ्नो संस्कृतिलाई भुल्दै गएको आफूलाई पनि महशुस भएको प्रधानाध्यापक आचार्यले अनुभव सुनाए । त्यसैले स्कूलले पछिल्ला समयमा विद्यार्थीको घर/परिवारमा हुने सांस्कृतिक कार्यक्रममा नछुटुन भनेर स्कूलले आवश्यकताअनुसार महिनैपिच्छे पनि विद्यार्थीलाई घर जाने विदा दिने गरेको छ ।
‘पहिला हामी हजुरबुवा हजुरआमासँग बस्थ्यौं, संयुक्त परिवारमा बस्थ्यौं, त्यसरी संयुक्त परिवारमा बस्दा बुवाआमाले नसिकाएको कुरा हजुरबुवा हजुरआमाले सिकाउनुहुन्थ्यो, काकाकाकीले सिकाउनुहुन्थ्यो’, उनले भने–‘मलाई भजन गाउने कुरा मेरो काकाले सिकाउनुभएको हो ।’ संयुक्त परिवारमा बसेर सिक्ने कुराको ग्याब हुँदै गएको अझ सहरीया बसाइले थप ग्याब हुँदै गएको, मान्छेहरु थप स्वार्थी बन्दै गएकोले आफूहरुले अध्यापन र बसाइको क्रममा सो विषयमा विशेष ख्याल गर्ने गरेको आचार्यले बताए ।
राम्रो पारिवारिक वातावरण बनाउन स्कूलले विद्यार्थीको थरमा पनि विशेष ख्याल गरेको छ । विद्यालयमा कुनै पनि विद्यार्थीको थर सार्वजनिक गरिँदैन । त्यसैले कुन विद्यार्थी कुन जात वा थरको हो भन्ने कुरा अर्को विद्यार्थीले थाहा पाउँदैन । ‘विद्यार्थी भर्ना हुँदा र पास आउट भएर जाँदा मात्रै उसको थरको प्रयोग हुन्छ अन्य समयको लागि उसलाई नामको पछाडि कोडबाट पहिचान गर्ने व्यवस्था गरिएको हुन्छ’, सीईओ आचार्यले भने ।
आधुनिक गुरुकुल मोडेल
विद्यार्थीहरुमा प्राकृतिक प्रकृयाद्वारा नै सिकाईको विकास गर्न स्कूलले खाना र प्रविधिमा विशेष ख्याल गर्ने गरेको छ । स्कूलभित्र चाउचाउ, विस्कुट, मिठाई लगायतका कुनै पनि जंक फुड लैजान निषेध गरिएको छ । बिहानको खाजा, साँझको खाना सहित सबै प्रकारका परिकार स्कूल भित्र नै तयार गरिन्छ । खाजाकै लागि स्कूलभित्रै उद्योगको स्तरमा बेकरी सञ्चालन गरिएको छ ।
स्कूलमा पढ्ने कुनैपनि विद्यार्थीले मोबाइल बोक्न पाउँदैनन् । सूचना प्रविधि सम्बन्धी विद्यालयले कक्षा ५ देखि नै विशेष कम्प्युटर कक्षाको व्यवस्था गरेको छ । ‘अहिले आइटी अन्तर्गत हामीले कक्षा ५ देखि नै कोडिङ, प्रोग्रामिङ सिकाउँछौ, त्यसको लागि हामीले बाहिरबाट विज्ञहरुको सहायता लिने गरेका छौं’, प्रधानाध्यापक आचार्यले भने । त्यस्तै विद्यार्थीहरुले स्कूलले विकास गरेको पाठ्यक्रमअनुसार लर्निङ रिसोर्सेस सेन्टरमा आफ्ना इच्छामुलक सिर्जना तथा अनुसन्धान गर्ने अवसर प्राप्त गर्छन् । जहाँ विद्यार्थीहरुले विभिन्न डिजाईन र आविस्कारका कामहरु गरिरहेका हुन्छन् । कक्षाकोठामा लिएको विषयगत ज्ञानलाई व्यवहारिक रुपमा ढाल्न सो सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गरेको सिइओ शर्माको भनाइ छ ।

विद्यालयका प्रमुख कार्यकारी अधिकृत काँशीराम शर्मा ।
स्कूलले कक्षा ५ देखि १० सम्म नेपाल सरकारले तोकेको पाठ्यक्रम नै पढाउँछ । कक्षा ११ र १२ मा भने विद्यार्थीलाई दुईवटा विकल्प रोज्ने अवसर छ । नेपाली पाठ्यक्रम अनुसारको विज्ञान संकाय वा क्याम्ब्रिज विश्वविद्यालयको ए लेभल विद्यार्थीले रोजेर पढ्न सक्छन् ।
राज्यले तोकेको पाठ्यक्रममा मात्रै सीमित भएर पुग्दैन भनेर विद्यालयले आफ्नै थप पाठ्यक्रम पनि विकास गरेको छ । विद्यालयका प्रधानाध्यापक आचार्यले सक्षम जनशक्ति उत्पादनको लागि सरकारले तय गरेको पाठ्यक्रम पूर्ण नभएको बताउँछन् । त्यसैकारण विद्यार्थीलाई समयअनुसारको शिक्षा प्रदान गर्ने अवसर सिर्जना गर्नको लागि स्कूलले आफ्नो पनि पाठ्यक्रम विकास गरेको उनले बताए । साथै उनले स्कूलले नयाँ विशेषता सहितको शैक्षिक अभ्यास गरेको समेत दाबी गर्छन् ।
‘बुढानिलकण्ठ भनेको आधुनिक गुरुकुल हो, यो अरु स्कूलहरु भन्दा भिन्न छ, अन्य विद्यालयहरुमा एउटा निश्चित समयमा विद्यार्थीहरुले सिक्छन्, बुढानिलकण्ठमा चौविसै घण्टा सिक्छन्’, उनले भने, ‘किनकी विद्यार्थीहरु यहीँ बस्छन् ।’ उनले आफूहरुले विद्यार्थीहरुलाई सरकारले तोकेको पाठ्यक्रम र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको विषयवस्तु पढाउने काम गरिरहेको तर त्यो भन्दा धेरै विद्यार्थीलाई कक्षाकोठा भन्दा बाहिर सिक्ने अवसर सिर्जना गरेको बताउँछन् ।
‘कक्षाकोठा भन्दा बाहिरको सिकाई एकदमै राम्रो छ, जस्तो विद्यार्थीले बिहान उठेर योगा गर्छन्, ध्यान गर्छन्, खेलकुदका तालिममा जान्छन्, मेकर स्पेसमा जान्छन, साइन्सका प्रोजेक्टहरु गर्छन्, अनि कक्षा सकिएपछि फेरि खेलकुदका क्रियाकलापमा उनीहरु संलग्न हुन्छन्’, प्रधानाध्यापक आचार्यले भने । कक्षाकोठाको अध्ययन, अभ्यास र बाहिरी ज्ञानको माध्यमबाट विद्यार्थीको समग्र विकासमा स्कूलले योजनावद्ध भूमिका निर्वाह गरिरहेको उनी बताउँछन् ।

कक्षाकोठामा पढाउँदै शिक्षक
‘बुढानिलकण्ठ स्कूलले प्रविधिमैत्री र व्यवहारिक शिक्षालाई विशेष–विशेष जोड दिएको छ, हामीले पाठ्यक्रमले तोकेको कुराहरु त पढाउँछौं नै, त्यो भन्दा बढी पढाउन आफ्नै बिएनकेएस पाठ्यक्रम पनि बनाएका छौं, यसलाई अहिले परीक्षणको चरणमा लागु गरिरहेका छौं’, उनले भने, ‘यसमा हामी कृषि सिकाउँछौं, कर्पोरेट सिकाउँछौं, इलेक्ट्रिकल वर्कहरु सिकाउँछौं, पल्म्बिङ सिकाउँछौं ।’ विद्यार्थीहरुले सेल्फ म्यानेजमेन्ट कसरी गर्ने भन्ने विषयमा सिक्न अत्यन्तै महत्वपूर्ण हुने बताउँदै उनले स्कूलले सो विषयलाई विशेष जोड दिएर सिकाउने गरेको बताउँछन् ।
‘होस्टेलमा बस्दाखेरी आफ्नो सामानको व्यवस्थापन, सुरक्षा, सफा सुग्घर लगायत दैनिकी जीवन यापनका विषय हामीले सिकाउँछौं’, उनले भने, ‘हामीले कम्युनिकेसन स्कील सिकाउने र व्यवहारिक ज्ञानलाई बढावा दिने काम गरेका छौं ।’ आगामी दिनमा स्कूललाई शैक्षिक अनुसन्धान तालिमको हब बनाउने उद्देश्य राखिएको प्रधानाध्यापक आचार्यको भनाइ छ ।

विद्यालयका प्रध्यानाध्यापक होमनाथ आचार्य ।
‘वि.सं. २०२५ सालमा तत्कालीन राजा महेन्द्र शाहले बुढानिलकण्ठ स्कूलको अवधारणा अगाडि सारेका हुन् । खासगरी उनले राजपरिवार र सीमित भाइभारदारहरुको लागि यस प्रकारको स्कूलको अवधारणा अगाडि सारेर बेलायत सरकारसमक्ष सहयोग मागेका थिए ।
तर, बेलायत सरकारले राजपरिवार र भाइभारदारको लागि मात्रै नभएर सबै नेपालीको लागि सञ्चालन गर्न सकिने अवधारणा सहित स्कूलको निर्माणमा सहयोग गरेको थियो । २०२९ सालबाट सञ्चालनमा आएको स्कूलको २३ वर्षसम्म बेलायतीहरुले नै शैक्षिक कार्यक्रमको नेतृत्व गर्ने कार्य गरेका थिए ।
स्कूलमा प्रवेश परीक्षा खुलाएर विद्यार्थीले प्राप्त गर्ने मेरिटका आधारमा भर्ना लिने र पढाउने गरिन्छ । शुरुवातमा ६० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति र ४० प्रतिशत विद्यार्थीलाई सःशुल्क आवासीय अध्ययनको शुरुवात गरिएको थियो । ०४७ सालको राजनीतिक परिवर्तनपछि बेलायत सरकारले स्कूलको शैक्षिक कार्यक्रमको नेतृत्व छाड्यो । त्यसपछि तीनजना नेपाली प्राध्यापक भइसकेका छन् ।
अहिले नेपाल सरकारले वार्षिक रुपमा ४० जना नयाँ विद्यार्थीलाई छात्रवृत्तिमा पढ्नको लागि स्कूललाई ५ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ भने कतिपय पूर्वाधारका कार्यक्रममा पनि सरकारको सहयोग रहने गरेको छ । तर, बाँकी समग्रमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि स्कूलले विद्यार्थीहरुबाट नै शुल्क उठाएर खर्च व्यवस्थापन गर्ने गर्छ ।
विद्यार्थीलाई भर्ना गर्नु, किताबहरु पढाउनु, परीक्षा लिनु र पास/फेलको नतिजा प्रकाशन गर्नुलाई शैक्षिक क्रियाकलाप मान्ने हो भने राज्यको तथ्याङ्कले नेपालमा ३४ हजार भन्दा धेरै विद्यालयहरु अस्तित्वमा रहेको देखाउँछ । तर, हजारौं विद्यालयहरुको संख्यामा केहीले भने नतिजामुखी जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ अभ्यास गरेका छन् । त्यसैमध्ये एउटा विद्यालय हो स्वर्गीय राजा ‘महेन्द्र’को सपनाबाट कोरिएको काठमाडौंको ‘बुढानिलकण्ठ स्कूल’ ।
कुनै कलाकारले कोरेको उत्कृष्ट आकृति सम्पन्न गरिसकेपछि उक्त आकृतिमा फेरि हेर्दा केही अपुरो वा कतै केही नपुगेको उसैलाई लाग्न सक्छ । त्यस्तै कोलाहल काठमाडौं उपत्यकाको उत्तरी किनारामा रहेको बुढानिलकण्ठ स्कूलमा अझै केही अपूर्णता अवश्य होलान्, तर हजारौंको माझमा एउटा साँच्चीकै उत्कृष्ट र नमूना शैक्षिक अभ्यास देख्न सकिन्छ यस स्कूलमा ।