चितवन । चितवनको भरतपुर–२८ पर्साबजारमा रहेको आधारभूत विद्यालय सिसाबासलाई ‘प्रशान्त पोखरेल स्मृति पुस्तकालय’ हस्तान्तरण गरिएको छ ।
विद्यालयको ६५औं वार्षिकोत्सवको अवसरमा स्व. प्रशान्त पोखरेलका हजुरबुबा लिलाबहादुर पोखरेल, स्व. हजुरआमा सोमकला पोखरेल एवं पोखरेल परिवारले दुई कोठे पुस्तकालय हस्तान्तरण गरेका हुन् ।
बागमती प्रदेशका प्रदेश सांसद ईश्वर सापकोटा (सुमन) प्रमुख आतिथि रहेकाे कार्यक्रममा पुस्तकालय हस्तान्तरण गरिएको थियो । सापकोटाले स्व. पोखरेलको स्मृतिमा स्थापना गरिएको पुस्तकालयले शिक्षामा सहयोग गर्ने बताएका थिए ।
पुस्तकालयमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले पढ्ने पुस्तक राखिएको स्व. पोखरेलका काका बालसिहं पोखरेलले बताए । ‘सबै उमेर समूहले पढ्ने पुस्तक राखेका छौँ, जसमा बालबालिकाको मनोविज्ञानसँग जोडिएका पुस्तक, बाल साहित्य, किशोर अवस्थामा उपयोगी पुस्तक, अभिभावक सचेतना बढाउने पुस्तक, सामान्य ज्ञान, स्वास्थ्य सेवामा आधारित पुस्तक, खेतिपातीमा उपयोगी पुस्तक, धार्मिक पुस्तक, भाषालगायत रहेका छन्,’ उनले भने ।
पोखरेलले वर्षैपिछे पुस्तकालयमा पुस्तक थप्ने समेत जानकारी दिए । पुस्तकालय पोखरेल परिवारकै संरक्षणमा रहेने उनले बताए ।
स्व. प्रशान्त पोखरेलको जन्म २०५९ असोज २२ गते भरतपुर–२८ योगीटोलमा भएको थियो । कक्षा ७ सम्म उनले आधारभूत विद्यालय सिसाबासमा अध्ययन गरेका थिए ।
यस विद्यालयबाट कक्षा ७ उत्तीर्ण गरी उनी यसै वडाको श्री सरस्वती माध्यामिक विद्यालय जितपुरमा भर्ना भएका थिए । त्यहाँ पढ्न गएको तीन दिनका दिन साँझ ट्रयाक्टर घर ल्याउने क्रममा दुर्घटनामा परी २०७३ वैशाख १३ गते उनको मृत्यु भएको थियो ।