काठमाडौं । डिएभी कलेजको अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ । डिएभी कलेजले आयोजना गरेको फुटसल प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।
डिएभी कलेजले आयोजना गरेको चौँथो डिएभी कलेज अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिता २० गते संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा गरिएको थियो । कलेजको आफ्नै फुटसल मैदानमा ३२ कलेजहरूका सहभागिता रहेको उक्त प्रतियोगितालाई कार्यक्रमका प्रमुख अतिथि ‘नेपाल तरुण दलका भूपू सभापति तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले समुद्घाटन गरेका थिए ।
उक्त समुद्घाटन कार्यक्रममा विशेष अतिथिका रूपमा एन्फाका महासचिव किरण राई, नेपाल बास्केटबल एसोसिएसनका अध्यक्ष भिमसेन गुरूङ्, एन्फा अनुशासन कमिटिका सदस्य हेमराज राई, राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक तथा थ्रिस्टार क्लबका प्रशिक्षक मेघराज के.सी र जावलाखेल युवा क्लब तथा ललितपुर जिल्लाका फुटबल प्रशिक्षक नरेश थापाको उपस्थिति थियो ।
तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता प्लस टु तहको सबैभन्दा ठुलो प्रतियोगिता भएको दाबी कलेजका डाइरेक्टर सुमन बस्नेतले गरे । साथै उक्त प्रतियोगिताका विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया तथा कलेजका डाइरेक्टर सुमन बस्नेतले संयुक्त रूपमा ट्रफी र प्रमाणपत्र वितरण गरे ।
विजेता टिम विनायक सि फो यसएनजेएच द्ध कलेज लाई ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम ओरियन्ट कलेज लाई २ लाख नगद रुपैयाँ, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी टाइम्स इन्टरनेशनल कलेजका अनिस तामाङ, उत्कृष्ट गोलरक्षक विनायक सिद्ध कलेजका अभिषेक तामाङ र उच्च गोलकर्ता विनायक सिद्ध कलेजका लाक्पा तामाङलाई नगद १५ हजार रुपैयाँ व्यक्तिगत ट्रफी र प्रमाणपत्र वितरण गरियो ।