काठमाडौं, २१ असोज । अरुण काबेली पावरले सर्वसाधारणको लागि ३० लाख कित्ता सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक सुचना प्रकाशित गरेर ९ कात्तिकदेखि साधारण सेयर निस्कासन खुल्ला गर्ने जानकारी दिएको छ ।
सो पावरको इस्यू म्यानेजर सिद्धार्थ क्यापिटल हो । कम्पनीले सर्बसाधारणको लागि छुट्टयाएको सेयर निस्कासन बन्द छिटोमा १२ कात्तिक र ढिलोमा २३ कात्तिकमा हुनेछ ।
सो कम्पनीको सेयर कम्तिमा ५० कित्ता र बढीमा १५ हजार कित्ताको लागि निवेदन दिन पाइनेछ । कम्पनीमा ७० प्रतिशत प्रमोटर सेयर लगानी छ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि १० प्रतिशत सेयर यसअघि नै निस्कासन गरिसकिएको छ । बाँकी रहेको २० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागिएको हो ।
सो पावर कम्पनीको अधिकृत पूजी १ अर्ब ५० करोड रुपैयाँ छ । आयोजना स्थल पाँचथर र ताप्लेजुङ जिल्लाको थर्पु, नागी, थुम्बेदिन र साब्लाङ गाविसमा पर्छ ।
सो आयोजनावाट बार्षिक १४ करोड १७ लाख ४६ हजार ४ सय ७० किलोवाट घण्ट विद्युत उत्पादन हुनेछ । यसरी उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणलाई बर्षायाममा प्रतिकिलोवाट घण्टा ४ रुपैयाँ ८० पैसा र हिउदाका दिनहरुमा प्रतिकिलोवाट घण्टा ८ रुपैयाँ ८० पैसाको दरले विक्री गर्ने सम्झौता प्राधिकरणसँग भइसकेको छ । यस्तो मूल्य आर्थिक बर्ष २०७३/७४ लाई आधार बर्ष मानी त्यसपछिका प्रत्येक आर्थिक बर्षमा बार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्य बढाउने सम्झौता प्राधिकरण र आयोजनाको विचमा भएको छ ।
सो आयाजना बनाउनको लागि ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २५ मेगावाट क्षमताको सो आयोजना प्रतिमेगावाट १६ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीमा हाल १ हजार ९ सय १३ जना प्रमोटर र १४ हजार ६ सय ७३ जना आयोजना प्रभावित क्षेत्रका सेयरधनी छन् ।
कम्पनीलाई इक्रा नेपालले ४ प्लस रेटिङ दिएको छ ।
सो कम्पनीको साधारण सेयरको लागि आवेदन दिन सिद्धार्थ क्यापिटलको कार्यालय, सिद्धार्थ बैंकका शाखा कार्यालयहरु र अरुण काबेली पावर लिमिटेडको कार्यालयमा सम्पर्क गर्नुपर्ने कम्पनीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।